उपाधिका लागि नेपालसँग यूएईको प्रतिस्पर्धा
काठमाडौंमा जारी त्रिदेशीय टी-२० शृङ्खलाको उपाधिका लागि नेपालसँग यूएई प्रतिस्पर्धा गर्ने भएको छ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि रनरेटका आधारमा यूएई फाइनलमा पुगेको हो। नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ।
हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पाँच विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो।
यूएईका लागि खालिद शाहले ३५, निलांश केशवानीले ३१, अलिशान सरफू र बसिल अहम्दले ३०-३० रन बनाए।
हङकङका लागि इशान खान, आयुष शुक्ला, नस्रुल्ला राना र यासमि मुर्ताजाले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको हङकङले तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो। हङकङका लागि मार्टिन कोटजीले ८६, बाबर हयातले ६० र अंशी राथले ४१ रन बनाएका थिए। यूएईका लागि निलांश केशवानी, सन्चित शर्मा र अकिफ राजाले एक-एक विकेट लिए।
यो जीतसँगै हङकङले पनि दुई अंक जोडेको छ। तर, समान दुई अंक रहेको यूएई रनरेटका आधारमा हङकङभन्दा माथि छ। लिग चरणका चार खेलमध्ये हङकङ र यूएईले एक-एक खेल मात्रै जितेका छन्।
नेपाल भने लिग चरणका चारै खेल जितेर आठ अंकसहित शीर्षस्थानमा छ। अब शीर्षस्थानमा रहेका दुई टोली नेपाल र यूएईबीच शुक्रबार त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ।