सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
सर्लाही सदरमुकाम मलङ्गवामा बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गाको मूर्ति विर्सजन गरिएको छ।
विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन्न हुने गरेको थियो। यस पटक भने विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए।
यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गाको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए। मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता केही घटेको थियो।
विगत वर्षको मार्गमा दुर्गाको मूर्ति घुमाउन सुरक्षाकर्मीले दिएनन्। यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भई कर्फ्यू लगाइएको थियो।
त्यस्तै, दुर्गाको मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ। मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगञ्जको सुरक्षाव्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको उनले बताए। ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ। सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल–भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ।
भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको छ। जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक–एक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ।
नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा चौबिसै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ। दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
सुरक्षाअवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ। (रासस)