बिक्री नभएपछि व्यापारीले घटाए च्याङ्ग्रा र खसीको मोल
भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन्।
दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ। तर, अपेक्षित रुपमा बिक्री नभएपछि व्यापारीले बुधबार मूल्य घटाएका हुन्।
दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा २५० रुपैयाँ घटाएको व्यापारी कृष्ण खड्काले बताए। सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रुपैयाँ तय गरिएको उनको भनाइ छ।
त्यस्तै, बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९०० रुपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए।
अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट घटाउनु परेको बताए। “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरीद गर्दा किलोमा नभइ प्रति गोटा ३५ हजारदेखि ४० हजारसम्म तिर्नु परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो,” खड्गीले भने।
अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरिरहेको बताए। दशैंको मुख्य दिन बितिसक्दा पनि सोचेअनुसार, च्याङ्ग्रा बिक्री नभएकाले मोल घटनाउनु परेको उनको भनाइ छ।
यससँगै च्याङ्ग्राको तयारी मासुको मूल्य पनि घटेको छ। सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ५०० मा बिक्री भइरहेको छ। यसअघि दुई हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएका थिए।
सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीले खसी आजबाट प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्न थालेका छन्। यस वर्ष करीब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन्। (रासस)