विश्वकपको सेमिफाइनलमा पुग्ने कसको सम्भावना कति?
भारतमा जारी आईसीसी क्रिकेट विश्वकपका आधाभन्दा बढी खेल सकिँदा घरेलु टोली भारतबाहेक सेमिफाइनलमा पुग्ने अन्य टोलीबारे आकलन गर्न कठिन देखिएको छ।
विश्वकपको लिग चरणका ४५ मध्ये २४ खेल सकिएका छन्। बुधबार २५औं खेलमा अस्ट्रेलिया र नेदरल्यान्डस् प्रतिस्पर्धा गर्दै छन्।
प्रतियोगितामा सहभागी १० मध्ये ६ टोलीले पाँच र चार टोलीले चार-चार खेल खेलिसकेका छन्। सबै टोलीले लिग चरणमा नौ खेल खेल्नेछन्।
अहिलेसम्म आयोजक भारत पाँचै खेल जितेर १० अंकसहित शीर्षस्थानमा छ। शीर्षस्थानमा रहेको भारत सेमिफाइनल यात्रा लगभग निश्चित गरेको छ। अबको एक खेल जितेमा सेमिफाइनलको स्थान पक्का हुनेछ। बाँकी चार खेलमा भारतले इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले पाँचमध्ये चार खेल जितेर आठ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण अफ्रिकाले सेमिफाइनल यात्राका लागि अब दुई खेल जित्नुपर्नेछ। अब बाँकी रहेका चार खेलमा आयोजक भारतसँगै पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
तेस्रो स्थानमा रहेको न्यूजिल्यान्डले पाँचमध्ये चार खेल जितेको भए पनि आठ अंकसहित रनरेटका आधारमा दक्षिण अफ्रिकाभन्दा एक स्थान तल छ। अबका चार खेलमा न्यूजिल्यान्डले अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान र श्रीलंकाको सामना गर्नुपर्नेछ।
भारत, दक्षिण अफ्रिका र न्यूजिल्यान्डबाहेका टोलीले भने सेमिफाइनल यात्राका लागि धेरै मेहेनत गर्नुपर्नेछ। उनीहरु आधा खेल सकिँदा शीर्ष तीन टोलीभन्दा अंकतालिकामा निकै पछाडि छन्।
चौथो स्थानमा रहेको अस्ट्रेलियाले चार खेलमा दुई खेल जितेर चार अंक मात्रै जोडेको छ। अब नेदरल्यान्डस्, न्युजिल्याड, इङ्ल्यान्ड, अफगानिस्तान र बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलका लागि कम्तिमा तीन खेल जित्नुपर्नेछ।
त्यस्तै, चार अंकसहित रनरेटका आधारमा पाँचौ स्थानमा रहेको पाकिस्तानले त झन पाँच खेल खेलिसकेको छ। अब बाँकी चार खेलमा दक्षिण अफ्रिका, बाङ्लादेश, न्युजिल्यान्ड र इङ्ल्यान्डको सामना गर्नेछ। सेमिफाइनलको सम्भावना जिवित राख्न चारमध्ये तीन खेल जित्नैपर्नेछ।
छैटौं स्थानमा रहेको अफगानिस्तानले भने राम्रो प्रदर्शन गरिरहेको छ। पाँच खेलमा दुई खेल जितेको अफगानले चार अंक जोडेको छ। अब चार खेलमा श्रीलंका, नेदरल्याडस्, अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। अफगानले पनि सेमिफाइनलको यात्रा कायमै राख्न बाँकी चारमध्ये तीन खेल जित्नुपर्नेछ।
अहिलेसम्म पुछारमा रहेका नेदरल्यान्डस्, श्रीलंका, इङ्ल्यान्ड र बाङ्लादेशको सेमिफाइनलको यात्रा भने कठिन छ। सातौ स्थानमा रहेको नेदरल्यान्डस्ले चार खेलमा एक खेल मात्रै जितेर दुई अंक जोडेको छ। अब बाँकी पाँच खेलमा अस्ट्रेलिाय, बाङ्लादेश, अफगानिस्तान, इङ्ल्यान्ड र भारतको सामना गर्नुपर्नेछ। सेमिफाइनल पुग्न कम्तिमा चारै खेल जित्नुपर्नेछ।
आठौं स्थानमा रहेको श्रीलंकाले पनि चार खेलमा एक खेल जितेर दुई अंक मात्रै जोडेको छ। अब इङ्ल्यान्ड, अफगानिस्तान, भारत, बाङ्लादेश र नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल पुग्न कम्तिमा चारै खेल जित्नुपर्नेछ।
नवौं नम्बरमा रहेको इङ्ल्यान्डले भने राम्रो प्रदर्शन गर्न सकेको छैन। चारमध्ये एक खेल मात्रै जितेर दुई अंक जोडेको छ। यअसघिको विश्वकप जितेको इङ्ल्यान्डलाई प्रतियोगितामा फर्किन बाँकी पाँचमध्ये कम्तिमा चार खेल जित्नुपर्नेछ। अब श्रीलंका, भारत, अस्ट्रेलिया, नेदरल्यान्डस् र पाकिस्तानसँग प्रतिस्पर्धा हुनेछ।
पुछारमा रहेको बाङ्लादेशको प्रदर्शन पनि अहिलेसम्म राम्रो रहेको छैन। पाँच खेलमा एक खेल मात्रै जितेर दुई अंक बटुलेको छ। अब नेदरल्यान्डस्, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न बाँकी छ। चारै खेल जितेमा मात्रै गणितीय हिसाबले सेमिफाइनलको सम्भावना रहनेछ।