दुर्गा मूर्ति विसर्जनमा गएका दुई युवकको डुबेर मृत्यु
दुर्गाको मूर्ति विसर्जन गर्न घाटमा गएका रुपन्देहीका दुई जनाको डुबेर मृत्यु भएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विश्वकर्माले बताए।
त्यस्तै, सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर हराइरहेका छन्। उनको खोजी भइरहेको एसपी विश्वकर्माले बताए।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ। आज पनि स्थानीय बासिन्दा पूजापाठ गरेपछि मूर्ति विजर्सन गर्न गएका थिए।
त्यही क्रममा केही युवक नदीको संगममा पुगेका थिए। मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू डुबेका थिए। (रासस)