छापामारको सन्देश (कविता)
हाम्रो मिलनको अन्तिम रात
तिमीसँगै छुटेछ
हँसिया र हथौडा अङ्कित रातो रुमाल,
जो म तिमीलाई
वर्षांै पहिले उपहारमा दिन चाहन्थें।
अबको ठीक नौ महीनामा
जन्मिनेछ छोरा
न्वारानको दिन उसको निधारमा
त्यै रुमाल बाँधिदिनू,
सुँघाइदिनू बारूदको गन्ध
र विस्फोट नाम राखिदिनू उसको।
कुनै विश्वविद्यालयको जरुरत छैन
उसलाई किसानहरू चिनाइदिनू
र चिनाइदिनू-
हलोले जमीनमा लेख्ने अक्षरहरू।
उसलाई मजदूरहरू चिनाइदिनू
र पढ्न लगाउनू
पसिनाले भिजेका श्रमका एकेक पानाहरू
उसलाई शासकहरू चिनाइदिनू
सुनाइदिनू महल र झुपडीको विभेदकथा
उसलाई दलालहरू चिनाइदिनू
चिनाइदिनू श्रमशोषक ठेकेदारहरू पनि
ताकि उसले प्रश्न गरोस्
कसको पसिनाले बाँचिरहेछन् यिनीहरू
उत्तरआधुनिक जीवनशैली?
सामन्ती जुँगा मुसारेर
गाउँमा के के गरिहिंड्छ मुखिया ?
एकथरी आमाहरू
किन हेपिन्छन् एकाबिहानै पँधेरीमा ?
यति भयग्रस्त किन बाँची रहेछ यो समाज?
उसलाई सवालहरू चिनाइदिनू!
निश्चिन्त रहनु
१६ वर्ष पुग्नुअगावै
उसले बुझिसकेको हुनेछ
कि, न्वारानको दिन
निधारमा बाँधिदिएर रातो रुमाल
किन उसको नाम विस्फोट राखियो?
हिमाल दशैं साहित्यका थप सामग्री: