दुर्गाको मूर्ति विसर्जनका दिन मदिरा बिक्री वितरणमा रोक
बाँकेमा बुधबार मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ।
बडादशैंको भोलिपल्ट बुधबारका निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय, बाँकेले मदिरा बिक्री वितरण र उपभोगमा रोक लगाएका हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ। यस विपरीत कुनै गतिविधि भएमा कानून बमोजिम कारबाही गरिने जनाइएको छ।
स्थानीय प्रशासनले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ। दुर्गा भवानीको मूर्ति विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
बाँकेमा बडादशैंको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ।