पल्लो क्याबिन (कथा)
मुटुको अनुरोध र दिमागले आदेश दिएपछि मैले उनको अनुहार हेर्न पटकपटक खोजें। उनलाई बोलाउन पनि खोजें, खै किन हो बोली फुटेन।
पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्यो। छायाँ स्त्रीदेहको थियो। छायाँ समुद्रसरि लहरिंदै अघि बढिरहेको थियो। पानीको लहर जस्तै हिंडाइ पनि लयमा थिएन। पाइला असन्तुलित देखिन्थे।
साँझ पातलै थियो, रमरम खालको। त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन। उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने।
त्यहाँ आइसोलेशनका लागि २० वटा क्याबिन बनाइएको थियो, सरकारी विद्यालयको चौरमा। क्याबिनमा लगिएकी ती महिला अन्तिम बिरामी थिइन्, त्यहाँको। म उन्नाइसौं नम्बरमा परेको थिएँ। मेरो क्याबिन १९, तिनको २० नम्बर।
आइसोलेशन क्याबिनमा बस्दा अपनाउनुपर्ने विधि, पानीको भाँडो, औषधि लगायतका विषय र अन्य सामानबारे जानकारी दिइरहेकी थिइन् नर्स। त्यस्तै जानकारी मलाई पनि तिनै नर्सले दिएकी थिइन्, सात दिनअघि।
म आफ्नो क्याबिनसँगै जोडिएको अर्को क्याबिनमा प्रवेश गर्दै गरेकी ती बिरामी महिलालाई पातलो पर्दा हटाएर चियाउँदै हेर्न थालें। ओछ्यानमा सुत्दासुत्दा मेरो टाउको भारी भइरहेको थियो। ओछ्यान दिक्कलाग्दो स्थान बनेको थियो। शरीर जता छोए पनि दुख्ने भइसकेको थियो।
‘कत्ति लामो कपाल! ठ्याक्कै अरुपमाको जत्रै! हाइट पनि त्यत्रै, पाँच फिट दुई इन्च।’
मेरा मुटु एक पटक स्याइँय गर्यो। मुटुले सोचेको कुरा दिमागमा पुग्यो।
दिमागले भन्यो, ‘कस्तो वाहियात कुरा सोचेको मुटु तिमीलेरु अरुपमा त आफ्ना पति र एक सन्तानका साथ अमेरिकामै स्थायी बसोबास गर्न थालेको दश वर्ष भइसकेको छ! यो अवधिमा उनी एक पटक पनि नेपाल फर्किएर आएकी छैनन्। उनले त आफ्नो एक जना मिल्ने साथीलाई यो जुनीमा नेपाल फर्कनै नपरोस् भनेकी थिइन् र त्यसको मुख्य कारण तिमी नै थियौ। अर्को कुरा प्रिय मुटु, अरुपमाले यो दुनियाँमा यदि कसैलाई घोर घृणा गर्छिन् भने त्यो तिमी नै हौ। यतिखेर अरुपमा यो आइसोलेशनमा कसरीरु असम्भव कुराको कल्पना किन गर्छौ मुटु!’
मलाई दिमागको कुरामा विश्वास लाग्यो। म चूपचाप क्याबिनभित्रको ओछ्यानमा पल्टिएँ। सिरानीमा राखिएको किताब छुनै मन लागेन। त्यसलाई पर सारिदिएँ। टाउको खूब दुखिरहन्छ, त्यसैले एउटा किताबको दुईचार पृष्ठ मात्रै पढेको छु। आइसोलेशनमा आउँदा मैले तीन वटा किताब बोकेको थिएँ। दुई वटालाई त मैले स्पर्श पनि गरेको छैन।
पानी पर्न नसकेर धुम्मिएको आकाश जस्तै लागिरहेको छ मलाई यो एक साताको आइसोलेशन बसाइ। डाक्टरले शुरूमा त चार-पाँच दिन मात्रै बस्नुपर्ने बताएको थियो। तर, कतिपयलाई संक्रमणको पुष्टि हुन तीन सातासम्म लागेपछि मेरो पनि एकान्तवास लम्बिएको छ। आज सातौं दिन। तर पनि मेरो शरीरमा कोरोनाभाइरस पुष्टि भइसकेको छैन।
अब पालो आएको छ, अर्को विधि पीसीआरको। थाहा छैन, त्यो विधिबाट मलाई कहिले परीक्षण गरिने हो। देशभरि संक्रमितको संख्या बढ्दो छ। परीक्षण गर्ने किटको अभाव देखिंदै गएको छ। आरडीटीबाट गरिएको परीक्षण विश्वसनीय देखिएको छैन। डाक्टरहरू नै उक्त विधि काम नलाग्ने बताइरहेका छन्।
म पालो पर्खिएर बसेको छु, शरीरमा उक्त विषाणु प्रवेश गरेको छ कि छैन भनी जान्न। अझै कति दिन लाग्ने हो त्यो थाहा पाउन! परीक्षण हुने कहिले र त्यसको रिपोर्ट आउन पनि कति दिन लाग्ने हो! अनि रिपोर्ट के आउने हो- पोजेटिभ कि नेगेटिभरु नेगेटिभ आए त ठीकै छ, पोजेटिभ आयो भने? फेरि कति दिन अस्पताल बस्नुपर्ने हो? मरिए त ठीकै हो, बाँचियो भने बाँकी दिन कसरी बिताउने?
उफ् कति धेरै प्रश्न जन्मिएका हुन्, यो एकान्तवासमारु टाउकोमा प्रश्न बाहेक अर्थोक केही पनि नभएको जस्तो! टाउकोलाई प्रश्नहरूको एउटा ठूलो कारखाना नाम दिन मन लाग्यो।
धुम्मिएको आकाश न बोलेको छ न त बर्सिएको नै! अँध्यारो अनुहार लगाएर बसेको छ, औधी रिसाएको मानिसले जस्तै। अरुपमा र म छुट्टिएको दिन जस्तै, त्यो दिन उनको अनुहार यस्तै थियो। मानौं, आकाशको छातीमा ठूलो पीडा अड्किएको छ। मान्छे जसरी रुन पाउँदा आफूलाई हल्का महसूस गर्छ, त्यसैगरी आकाश पनि आँसु फेर्न पाउँदा स्वच्छ देखिन्छ। अरुपमासँग अन्तिम भेट भएको दिन म पनि त्यसैगरी धुम्मिएको थिएँ। आँसु झर्न मानिरहेको थिएन। मुटुमा गह्रौं सिलढुङ्गाले थिचे जस्तो भएको थियो।
दिनको हिसाबले मलाई अरुपमाले जितेकी थिइन्। उनको विवाह मेरो भन्दा तीन दिनअघि भएको थियो।
हामीले खूब झगडा गरेका थियौं। विगतमा एकअर्काले गरेका गल्ती र कमजोरीको खाता खोलिरहेका थियौं हामी। हाम्रो प्रयास थियो- एकले अर्कोको बढी गल्ती र कमजोरी देखाउने। एकअर्कामा थुक्ने र हिलो छ्याप्ने प्रयत्न निकै बेर चलेको थियो। कुनै बेला साह्रै प्रिय लाग्ने एकअर्काको थुक त्यो समय संसारको सबैभन्दा अप्रिय र घिन लाग्ने वस्तु बन्न पुगेको थियो। जतिसक्यो छिटो त्यसलाई पुछ्ने होड चलेको थियो। हामीबीच एकअर्काप्रतिको घृणा चुलिएर अधिकतम बिन्दुमा पुगेको थियो। त्यो प्रतिस्पर्धामा हामी दुवै नराम्ररी पराजित भएका थियौं। दुवैको जित्ने दाउ अन्त्यमा हारेको थियो। तर हामी आफूले जितेको भ्रममा छुट्टिएका थियौं!
आफूलाई बलियो प्रमाणित गर्न हामीले प्रेम टुटेको दुई महीनामै विवाह गरेका थियौं। दिनको हिसाबले मलाई अरुपमाले जितेकी थिइन्। उनको विवाह मेरो भन्दा तीन दिनअघि भएको थियो।
***
मलाई सामान्य ज्वरो र हल्का रुघाखोकी लागेको छ। ज्वरो न त बढेको छ न घटेको नै। एक सय एकमा अड्किएको छ। अघिपछि म सय ज्वरोलाई सहजै सहन सक्थें। टाउको खूबै दुखिरहेको छ। म बस्ने अपार्टमेन्टका छिमेकीले मेरो अवस्था थाहा पाएपछि स्थानीय सरकारले तयार पारेको आइसोलेशनमा गइहाल्न सल्लाह दिए। तिनको सल्लाह मलाई उचित नै लाग्यो।
मलाई राखिएको आइसोलेशन अपार्टमेन्टबाट बढीमा दुई किलोमिटर टाढा होला। अपार्टमेन्ट निकै ठूलो छ, सम्भवतः नेपालको सबैभन्दा ठूलो त्यही नै हुनुपर्छ। पाँच सय परिवार बस्छन् त्यहाँ। अपार्टमेन्ट कोरोनाको इपिसेन्टर बन्ने खतरा मडारिरहेको छ। थाहा छैन, को पस्यो त्यो सुन्दर वासस्थानमा कोरोनाको भाइरस बोकेर! कोरोनावाहक खोज्नु कि यस अदृश्य भाइरसबाट संक्रमितरु द्विविधामा छ सरकार।
मानिसहरूको नयाँ दुश्मन यो भाइरस चीनको वुहानबाट यूरोप र अमेरिकी मुलुकहरूतिर उड्न थालेपछि मेरो अपार्टमेन्टमा एक जना मित्र आएका थिए। ती मित्र झन्डै दुई दशकअघि नेपाली नागरिकता च्यातेर क्यानडेली बनेका थिए। लामो अन्तरालपछि नेपाल आउँदा तिनले मेरो अपार्टमेन्टमा बस्न दिन आग्रह गरे।
गुँड त मैले पनि बनाइदिएको थिएँ। तर, मेरा सन्तानले त्यो गुँडमा बस्नै मानेनन्।
उनको आग्रह स्वीकार गर्न मलाई कुनै गाह्रो थिएन। एकातिर उनी कुनै समय मेरो मिल्ने साथीमध्येका एक थिए, अर्कोतिर म एक्लो बस्दा निकै दिक्क बनिरहेको थिएँ। म चार कोठे अपार्टमेन्टमा एक्लै थिएँ। मेरा सन्तान र पत्नी कुनै अर्कै गुँडको चरा जस्तै उडेर बेलायत पुगिसकेका थिए। म भने यतै उन्मुक्त जीवन बिताइरहेको थिएँ। जब सबै मेरा आफ्ना ठानिएकाहरू मलाई छाडेर हिंडे वा मैले उनीहरूसँगै जाने चाहना राखिनँ तब म वास्तविक जीवन बाँचिरहेको छु।
दोस्रो तल्लामा रहेको चारकोठे अपार्टमेन्ट मेरो अधीनमा छ। मेरो बेडरूमसँगै एउटा ठिक्कैको बरन्डा छ। बरन्डा मलाई अधिक प्रिय लाग्छ, त्यसको कारण पनि छ। बरन्डाको ठीक अघिल्तिर, बढीमा २० फिट जतिमा एउटा रूख छ। रूख झ्याप्प परेको छ, बाक्लो। त्यसमा गौंथलीको गुँड छ। यस पटक गौंथलीले नयाँ गुँड बनायो। त्यो गुँड बनाउँदा त्यस जीवले धेरै मिहिनेत गर्यो। गुँड तयार भएपछि त्यसले आफ्ना सन्तानलाई ल्याएर त्यहाँ राख्यो।
गुँड त मैले पनि बनाइदिएको थिएँ। तर, मेरा सन्तानले त्यो गुँडमा बस्नै मानेनन्। ती उडेर अर्कै नयाँ गुँडको खोजमा निस्के, समुद्रपारिको। तिनलाई मैले निर्माण गरिदिएको गुँड उपयुक्त लागेन! गौंथलीको गुँड हराभरा छ, त्यसका सन्तानले गुँड छाडेर कतै उडेर गएको मैले देखेको छैन।
गौंथलीको कथा मैले ती मित्रलाई पनि सिलसिला मिलाएर सुनाएको थिएँ। एकछिन त उनी निकै भावुक भए। त्यो भावुकता मेट्न उनले आफ्नो लगेज खोलेर ह्विस्की निकाले। हामी दुवै भावुकता मेटाउने असफल प्रयास गर्न थाल्यौं, सोही बरन्डामा बसेर। निकैबेर हामी गफियौं। आआफ्ना जीवनको विगत उधार्न थाल्यौं।
“मलाई लाग्छ, म भन्दा तिमी खुशी छौ मित्र। कम्तीमा तिमी स्वतन्त्र त छौ, एकबारको जिन्दगीमा मनखुशी गर्न पाएका छौ,” गौंथलीको गुँडतिरको एकाग्रता भङ्ग गर्दै मित्र बोले।
“त्यसो होइन होला, म त तिमी बढी खुशी छौ भन्ने सोच्छु। आफ्नो परिवारसँग बस्न पाएका छौ,” मैले भनें।
“म परिवारसँगै भएर पनि एक्लो छु। पत्नीसँग भेट हुन पनि मौका कुर्नुपर्छ। सातामा एक दिन भेट हुनै हम्मे पर्छ। चिसो क्यानडामा आफूलाई तातो पार्न हरदम एअरकन्डिसनको सहारा लिनुपर्छ, म पत्नीको तातो खोज्छु तर त्यो असम्भव बन्दै गएको छ। छोराछोरीसँग त महीनौं भेट हुँदैन। उनीहरू कसरी हुन्छ बढी पैसा कमाउने ध्याउन्नमा रहन्छन् सधैं, म भने पाएदेखि बिहानै झ्याप हुन मन पराउँछु। छोराछोरी र पत्नी पैसासँग गहिरो प्रेम गर्छन्। म आफूसँग प्रेम गर्छु। सकेसम्म कामै गर्नु नपरोस् भन्ने सोच्छु, गरे पनि एकदम थोरै समय। उनीहरू मलाई मूर्ख ठान्छन्, म तिनलाई पटमूर्ख मान्छु। तिनीहरूसँग दोहोरो कुरा हुन पनि संयोग जुर्नुपर्छ। एकप्रकारले म डिप्रेसनमा छु मित्र’ उनी निकै भावुक हुँदैथिए, “दुई-तीन पटक त सुसाइड गर्न खोजें, तर सकिनँ। आफ्नो माया अधिक लागेर आयो।”
केही दिनपछि त मलाई हल्का ज्वरो पनि आउन थाल्यो। बिस्तारै स्वाँस्वाँ पनि हुन थालेको थियो। भर्याङ चढ्न गाह्रो पर्न थाल्यो।
केहीबेरको मौनपछि उनी फेरि गौंथलीको गुँडतर्फ हेर्न थाले। उनको कुरा सुनेर मलाई बरु आफू नै बढी खुशी हो कि भन्ने लाग्यो। सोचें, ‘म त एक्लो भएरै एक्लो छु। परिवारको बीचमा रहेर पनि एक्लो हुनुजत्तिको पीडादायी क्षण अर्को के होलारु कम्तीमा मैले आजका मितिसम्म सुसाइडको प्रयास गर्नु परेको त छैन!’
हाम्रा गफ अन्त्यहीन थिए। ती सकिने अवस्थामा थिएनन्। कुनै न कुनै प्रकारले गफ स्थगित हुनु अत्यावश्यक थियो।
महीना दिनको समय लिएर नेपाल आएका ती मित्र विभिन्न मुलुकका सरकारले लकडाउन घोषणा गर्ने सङ्केत देखाएपछि प्लेन टिकट ‘प्रिपोन्ड’ गरेर क्यानडा फर्केका थिए, मलाई रुघाखोकी उपहार दिएर! केही दिनपछि त मलाई हल्का ज्वरो पनि आउन थाल्यो। बिस्तारै स्वाँस्वाँ पनि हुन थालेको थियो। भर्याङ चढ्न गाह्रो पर्न थाल्यो। त्यसपछि अपार्टमेन्टका छिमेकी सशङ्कित भएर स्थानीय जनप्रतिनिधिलाई सूचना गरिदिएका थिए। म बसेको ठाउँको स्थानीय सरकार निकै सक्रिय भएका कारण पनि म तत्कालै आइसोलेशनमा पुर्याइएको थिएँ।
***
मोबाइलको घडीले रातको बाह्र बजाउनै लागेको थियो। मैले बत्ती निभाएँ। क्याबिन अँध्यारो भएपछि मेरो दिमागको बत्ती बल्न थाल्यो। त्यो बत्ती पुनः सीधै ठोक्कियो केही घण्टाअघि आइसोलेशनमा आएकी अपरिचित नारीको छायाँमा गएर!
तिनको उँचाइ पनि मिल्यो, अरुपमासँग।
कपालको आकारप्रकार मिल्यो।
कताकता हिंडाइ पनि मिल्यो।
शरीरको बनावट पनि मिल्यो।
मुटु बोल्न थाल्यो- ‘यो दुनियाँमा असम्भव कुरा केही छ ररु अरुपमा नेपाल आएको हुन सक्दैनरु आफू जन्मिएको र हुर्किएको ठाउँ पो हो त! हरेकलाई आउन मन लाग्छ, उनलाई मन नलाग्ने हुन्छ र!
तिमी मात्र छौ र नेपालमा अरुपमाको चिनजानको व्यक्ति?’
मलाई जति घृणा गरे पनि जन्मभूमिमाथि नै अनादर गर्न त पक्कै पनि उनले सक्दिनन्। नेपाल आउँदैमा मसँग भेट हुन्छ भन्ने निश्चितता पनि के नै छ र!
क्याबिन बाहिरबाट नारी आवाज आयो- “ढोका खोल्नुस् त तपाईंको ज्वरो नापुम्।”
नर्स हातमा ज्वरो नाप्ने यन्त्र थर्मल गन लिएर उभिएकी थिइन्।
मेरो ज्वरो यथावत् नै थियो।
कत्ति गाह्रो यी नर्सहरूलाई पनि! मध्यरात पनि भन्न नपाइने। न परिवार न आफन्त भन्न पाइने! बिहान दश बजेदेखि यी नर्स यतिखेरसम्म एकोहोरो खटिएकी छन्। आफूलाई संक्रमण हुनसक्ने कुनै परवाह नै छैन यिनलाई।
कस्तो समर्पण! कस्तो असल भाव!
साँच्चै संसारमा सबैको भावना यस्तै हुने हो भने ब्रह्माण्ड कति सुखी हुँदो हो! मभित्र ती नर्सप्रतिको सम्मान ह्वात्तै उर्लिएर आयो।
छिप्पिएको रात क्रमशः कमलो बिहानीमा परिणत हुँदैथियो। क्याबिनमा सिरसिर बतास प्रवेश गरिरहेको थियो। म निद्रा खोजिरहेको थिएँ।
एकैछिनअघि ती नर्सको आवाज आउँदा मेरो दिमागमा अर्कै कुरा खेलिरहेको थियो। २० नम्बरको क्याबिनमा रहेको बिरामीको नाम के हो भनी सोध्न चाहन्थें म। तर तत्कालै त्यो बिर्सिएछु मैले।
मेरो दिमागमा नर्सको अनुमानित दैनिकी सलबलाउन थाल्यो।
छिप्पिएको रात क्रमशः कमलो बिहानीमा परिणत हुँदैथियो। क्याबिनमा सिरसिर बतास प्रवेश गरिरहेको थियो। म निद्रा खोजिरहेको थिएँ।
बिउँझँदा मध्याह्न हुनै लागेको थियो।
टेबुलमा खानेकुरा सेलाइसकेका थिए।
मुटु पुनः २० नम्बरतिर सोझिन थालेको थियो। चिन्तित थियो मेरो मुटु २० नम्बरकी बिरामीलाई लिएर, शायद सशङ्कित पनि थियो। प्रश्न गरिरहेको थियो दिमागलाई ‘ती अरुपमा होइनन् भन्ने आधार के?’ भन्दै।
फेरि नर्स आइन्। अहिलेसम्म पनि तिनै थिइन् ड्युटीमा। तिनले मेरो ‘स्वाब’ झिकेर लगिन्। ‘अब तपाईंको पीसीआर प्रविधिबाट परीक्षण हुन्छ’ भन्दै। २० नम्बरमा पनि ती नर्स नै पसिन्। शायद उता रहेकी महिलाको पनि सोही विधिबाट परीक्षण हुँदैथियो।
अर्को दिन।
२० नम्बर क्याबिनबाट चर्को आवाज आयो।
‘म मर्न चाहन्छु, म मर्न चाहन्छु!’
त्यसबेला म निदाएको रहेछु। उक्त आवाज कतै सपनामा त आएको थिएन? निश्चित गर्न एकछिन चुपचाप कान ठाडो पारेर बसें।
सोही आवाज पुनः आयो।
मोबाइलको घडीमा रातको दश बजेको देखें। बत्तीको स्विच थिचें, त्यो झलमल्ल बल्यो। पर्दा उचालेर दायाँबायाँ हेरें, बाहिर बत्तीको उज्यालो छरिएको थियो।
महिलाको चीत्कार झनै बढेर जाँदै थियो।
म बसिरहेको ठाउँबाट जुरुक्कै उठें। २० नम्बर क्याबिनतिर जाउँजाउँ लाग्यो। तर दिमागले ‘नजा’ भनिरहेको थियो। एउटी महिला बसेको क्याबिनमा जानु उचित हुँदैन।
मुटुको प्रश्नरूपी चेतावनीले म पुनः विचलित हुन थालें। दिमागले ‘नजा’ भनिरहे पनि मुटुले मेरो शरीरलाई हिंडाएर २० नम्बर क्याबिनको ढोकाछेउ पुर्याइसकेको थियो।
मुटु भने तत्कालै २० नम्बरतिर जान र उनलाई के भएको रहेछ बुझ्न आदेश दिइरहेको थियो। ‘कम्तीमा नर्सलाई बोलाइदिएर मानवीयताको पालना त गर’ भनिरहेको थियो।
दिमाग शून्य भएर गयो।
सम्भावित कोरोना संक्रमित किन मर्ने चाहना राख्दैछरु के भएको छ ती महिलालाईरु मैले आफैंसँग प्रश्न गरें।
प्रश्नको उत्तर दिने कोही थिएन, न त आफैं दिन सक्थें। प्रश्नबाट दिमाग उछिट्टिएर मुटुमा ठोक्किन पुग्यो।
‘त्यो आवाज अरुपमाको हो। त्यति लामो समय प्रेमालाप गरेको मानिसको आवाज कसरी बिर्सन सकेको? के तिम्रो कान कमजोर हुँदै गएको हो?’
मुटुको प्रश्नरूपी चेतावनीले म पुनः विचलित हुन थालें। दिमागले ‘नजा’ भनिरहे पनि मुटुले मेरो शरीरलाई हिंडाएर २० नम्बर क्याबिनको ढोकाछेउ पुर्याइसकेको थियो।
मैले २० नम्बर क्याबिनको ढोका उघारें। म त्यो क्याबिनभित्र पस्नै लाग्दा बत्ती झ्याप्पै गयो। सबैतिर अन्धकार भयो। बल्लतल्ल म ती महिलाको नजिक पुगें।
उनी ओछ्यानमा घोप्टो परेकी थिइन्।
मैले सोधें, “के भयो तपाईंलाई, गाह्रो भयो?’
उनले मेरो प्रश्नको जवाफ दिइनन्।
‘म मर्न चाहन्छु’ उनले काँपेको स्वरमा भनिन्।
‘यत्ति नजिकबाट आवाज सुन्दा पनि अझै अरुपमालाई नचिनेको तिमीलेरु तिमी अनौठो मानिस रहेछौ! शायद तिमी अरुपमालाई प्रेम होइन, अर्थोकै केही गथ्र्यौ। तिम्रो मुटुमा प्रेम त्यसबखत पलाएकै थिएन। अरुपमाले तिमीलाई एकोहोरो प्रेम गर्थिन्। सोही कारण तिम्रो प्रेम मध्यान्तरमै टुङ्गियो।’
मुटु मलाई विश्वस्त पारिरहेको थियो कि, ती अरुपमा नै हुन् भनेर। तर दिमाग त्यो स्वीकार्नै चाहँदैनथ्यो।
म उनको नजिक गएँ।
उनलाई सास फेर्न निकै गाह्रो भएको थियो। स्वाँस्वाँ गरिरहेकी थिइन्। मैले उनको हातमा समातेर सिरानीमा टाउको राखिदिएँ। उनले आफ्नो हातले टाउकोमा बेस्सरी हिर्काइन्। उनले पुनः ‘म मर्न चाहन्छु’ भनिन्। दोहोर्याइरहिन्, सासको आवाजमा। उनको बोली सुकेको थियो, शायद धेरै कराएर हुनुपर्छ।
मैले मोबाइलको टर्च बालें, तर उनलाई देख्न सकिनँ। उनी घोप्टिएकी थिइन्, उनको अनुहार छोप्न कपाल पर्दा बनेर उभिएको थियो।
नर्सले महिलालाई डोर्याएर १० फिटजति पर पुर्याइसकेकी थिइन्। बत्ती झल्याक्क बल्यो। त्यतिखेर उनको अनुहार देख्न सक्ने सम्भावना नै भएन!
‘ओहो! यो हात त अरुपमाको पो हो त!’ मुटु वेगले बोल्न थाल्यो, ‘म कसरी भुल्न सक्छु र अरुपमाको हातरु यो हात उनकै हो।’
मैले नर्सलाई फोन गरेर बोलाइदिएँ। नर्स दौडँदै आइपुगिन्।
मेरो देब्रे हातले महिलाको दाहिने हात समातिरहेको थियो।
‘पाँच वर्षभन्दा बढी प्रेमले समातेको हात पनि चिनेनौरु यो हात अरुपमाको त हो नि मूर्ख! शायद तिम्रो प्रेममा कतै खोट थियो। तिमीले शायद मांशल प्रेम मात्रै गरेछौ अरुपमासँग। मुटुभित्रदेखि गर्न जानेनछौ। त्यसैले तिम्रो प्रेम असफल भयो’ मुटु फेरि बोल्न थाल्यो, ‘एकपटक अरुपमा भनेर बोलाऊ त उनी कसरी बोल्छिन्! बोलाऊ भन्या, छिटो बोलाऊ न! समय घर्किन लागिसक्यो!’
मुटुको अनुरोध र दिमागले आदेश दिएपछि मैले उनको अनुहार हेर्न पटकपटक खोजें। उनलाई बोलाउन पनि खोजें, खै किन हो बोली फुटेन। मोबाइलको बत्ती पुनः बालें। तर देख्न सकिनँ अनुहार। कपाल अघिल्तिर आएर असरल्ल परिरहेकै थियो।
मुटुले मलाई दोषी करार गरिदिएको थियो। त्यसले भनिरहेको थियो, ‘एकपटक अरुपमासँग माफी माग, बेस्सरी रोएर आँसु पखाल। के थाहा जीवनमा पुनः हरियाली छाउँछ कि पो! अवसर हो यो, अघि बढ।’
मुटुको सल्लाह बेठीक थिएन, तर दिमागले अघि बढ्न दिइरहेको थिएन। ‘तिम्रो के गल्ती छ र अरुपमासँग माफी माग्न? के दोष थियो तिम्रो? प्रेम दुवैले गरेको त हो, अहिले एकले मात्रै किन माफी माग्नु? दुवैले एकअर्कासँग माफी माग्ने कुनै निश्चितता छ भने कुरो ठीक हो, अन्यथा गलत’ त्यसले मलाई भनिरहेको थियो, ‘अनि ती महिला अरुपमा नै हुन् भन्ने के निश्चित छ? त्यस्तो हात अरू महिलाको पनि त हुन सक्छ! अधिकांश महिलाको आवाज पनि त उस्तै हुन्छ।’
नर्सले महिलालाई डोर्याएर १० फिटजति पर पुर्याइसकेकी थिइन्। बत्ती झल्याक्क बल्यो। त्यतिखेर उनको अनुहार देख्न सक्ने सम्भावना नै भएन! म उनीहरूको ढाड मात्र देखिरहेको थिएँ। केहीबेरमै दुवैजना मेरो आँखाबाट ओझेल परे।
मुटु फेरि स्याइँय गर्यो।
***
म फर्किएर क्याबिनमा आएँ र ओछ्यानमा पल्टिएँ।
केहीबेर दिमाग र मुटुले खुब झगडा गरे। तर्क-वितर्कका शृङ्खला चले। दुवैका आआफ्ना तर्क थिए, अडान पनि थिए। स्वाभिमान हो कि अभिमान वा घमण्ड, जिद्दी- त्यो पनि थियो उत्तिकै।
अन्त्यमा जित मुटुको भयो।
(हिमाल दशैं साहित्य विशेष अनलाइन संस्करण २०७७ बाट।)
हिमाल दशैं साहित्यका थप सामग्री: