नेपालको लगातार चौथो जीत
काठमाडौंमा जारी त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको हो। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको छ।
नेपालका लागि आशिफ शेखले ६२, रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। त्यस्तै, यूएईका लागि मोहम्मद जवादुल्लाहले दुई, आकिफ राजा र जहूर खानले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको यूएईले सात विकेटको क्षतिमा १६४ रन बनाएको थियो। यूएईका लागि बसिल हमिद र भृत्य अरविन्दले ४५-४५, आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाए।
नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले दुई-दुई तथा करण केसी र गुल्सन झाले एक-एक विकेट लिए।
यूएई र हङकङ सहभागी प्रतियोगितामा नेपालले लिग चरणका चारै खेल जितेको छ। यो जीतसँगै नेपालको आठ अंक भएको छ।
त्यस्तै, यूएई एक खेल जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। हङकङले अंक जोड्न सकेको छैन।
शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ। अब यूएई र हङकङबीच कात्तिक ८ मा हुने खेलले फाइनलमा पुग्ने अर्को टोली तय गर्नेछ।