हृदयघात भएका उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’
चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिनको उपचारपश्चात श्रेष्ठ डिस्चार्ज भएका हुन्। बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर)मा सहभागी हुन बेइजिङ पुगेका वेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरे। उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरे।
उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।