यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य
त्रिदेशीय टी-२० शृङ्खलाको पाँचौं खेलमा यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले सात विकेटको क्षतिमा १६४ रन बनाएको हो। यूएईका लागि बसिल हमिदले विस्फोटक ब्याटिङ गरे। उनले १९ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ४५ रन बनाए।
त्यस्तै, भृत्य अरविन्दले ४५, आसिफ खानले १८ र खालिद शाहले १२ रन बनाए।
नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले दुई-दुई तथा करण केसी र गुल्सन झाले एक-एक विकेट लिए।
यूएई र हङकङ सहभागी प्रतियोगितामा नेपाल तीन खेल जितेर शीर्षस्थानमा छ। नेपालको ६ अंक छ।
त्यस्तै, यूएई एक खेल जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। हङकङले अंक जोड्न सकेको छैन।
शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ।