समय बगिरहेको सडक (कविता)
लहरामा फलेको गोलो
तन्दुरुस्त, तन्दुरुस्त
खरबुजा जस्तो
यही सडकमा भेटिनेछ सुनको सूर्य
हृदय हिंडेको सडकमा
कहिलेकाहीं
चन्द्रमा ओर्लिन्छ आकाशबाट
एकातिर
भर्खरै अन्तरिक्षबाट झरेको यात्रीको स्वागतमा
लामबद्ध अनुहारहरू
अर्कातिर
निस्किएको छ प्रसिद्ध कविको शवयात्रा
यही सडकमा
कहिले
अनन्त क्षितिजबाट आएको
उत्साहको पाइला
उसैगरी आउनेछ योद्धा युग जस्तो
हत्केलामा हतियार बोकेर हुरीको
उभिनेछ युवा दिन
सडक छेउको रूखमाथि
विदेशी भूमिमा मृत्युदण्ड सुनाइएको
मानिसको खबर जस्तो
अचानक
भत्काएर जानेछ टोर्नाडोले आशाका अंशहरू
वर्षौंदेखि
उखु किसानहरू
गुलियो बेचेर तीतो पोखिरहेछन् सडकमा
श्रमको मोल माग्दै
मिटरब्याजी पीडितका आँसुले छुँदैन
माननीय मनहरू
श्रमिकको पसिना पिएर
नीतिहरू छन् नुनिला
फुलस्टप, कमा, ड्यास हुँदै ब्राकेट आकारका सडकमा
झुन्डिएका छन्
मस्त सपनाहरू
अलिकति पूँजीको मातले मुख धोएका अनुहारहरू
अलिकति महँगीका अराजक आयु बोकेर
गइरहेको छ विचलित सडक हुँदै
नयाँ वर्षको थोत्रो अति थोत्रो ट्रक
पुरानो पाइन्टको च्यातिएको गोजी छामेर
पछ्याइरहेछ
गरीब देशको अर्थशास्त्री
पचास पटक टालेको सडक
गुगल म्याप नमिलेको ठेगाना
तिमीसँग बोल्दै बोल्दै हिंडेको ठानेर
एक पटक भए पनि ठोक्किन
आइपुग्नेछ सडक
तिमीलाई मञ्जुर भए
सम्झनाको सेल्फी लिएर पुग्नेछ
आकाशको आँखामुनि
हावाको हाँसो बोकेर
यहींनेर
समय बगिरहेको सडकले
दिनेछ तिम्रा यात्राहरूलाई
एक पाइला पहिचान
एक माइल माया
र एक पृथ्वी प्रकाश।
हिमाल दशैं साहित्यका थप सामग्री: