इजरायलबाट ल्याइयो थप एक विद्यार्थीको शव
इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव नेपाल ल्याइएको छ।
फ्लाई दुबईको विमान मार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले बताए। उनका अनुसार हालसम्म दार्चुलाको मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, लेकम-५ का दीपेशराज विष्ट, कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र बौनियाँ-३ का आशिष चौधरीको शव नेपाल ल्याइएको हो।
न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान पुगेको हो। चौधरीको शव आइतबार दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गत असोज २० गते हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत उनीहरू गत भदौमा इजरायल गएका थिए।
हमासको आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषाको सापही-६ का आनन्द साह, सुनसरीको मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटीको पचनाली-३ का राजन फुलारा, डोटीकै लामीखाल-८ का पदम थापा र सल्यानको सारदा-३ का प्रवेश भण्डारी छन्। आक्रमणमा परी कञ्चनपुरको भीमदत्त-३ का विपिन जोशी हराइरहेका छन्।
आक्रमणमा परी मृत्यु भएका बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ। नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टर मार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरेको छ। -रासस