हामीलाई अत्याउने मेघ
हस्याङफस्याङ गर्दै हिंड्दा मेघले चम्काएको बिजुली पृथ्वी थर्कने गरी गर्जन्थ्यो। यो गर्जन मैले काठमाडौं अथवा मधेशबाट सुनेको गर्जनभन्दा कता हो कता डरलाग्दो थियो।
हामी लेकको निर्जन चउरमा भएका वेला अपराह्न ३ बजेतिर आकाश धुम्मियो।
अलि पहिले लाङसिसा जाँदै गर्दा मभन्दा अगाडि हिंडिरहेका रविन्द्र पाण्डेका टोपी र ज्याकेटमा आरुका फूलका पत्र बाक्लै गरी खस्दै भुइँमा झर्दै गरेका थिए। अलि चर्कै हावाले तिनलाई उडाएको थियो।
झन्डै चार हजार मिटर अग्लो ठाउँ। यहाँ आरु हुँदैन। वनस्पतिका नाममा ससाना काँडे बुट्यान र कतै कतै धूपीका बुच्का मात्र थिए। यी फुलेका थिएनन्। त्यसैले हावाले केको फूल उडाएर ल्यायो भनेर मैले हेर्न खोजें। एकछिन अलमलिएपछि थाहा पाएँ- ती त हिउँका पाप्रा पो रहेछन्।
त्यति वेला त म रोमाञ्चित भएको थिएँ। अलि बेर हिउँ परिदिए हुन्थ्यो जस्तो लागेको थियो। तर, अहिले लाङसिसा पुगेर फर्कंदा आकाश धुम्मिएपछि डर लाग्यो।
घाम अघि नै ओझेल परिसकेको थियो। भुइँको तापक्रम ह्वात्तै घटेको थियो। मेघ र जमीन बीचको पानी झर्ने बाटोमा तापक्रम धेरै घट्यो र त्यही वेला मेघले पानी छाड्यो भने पानी होइन, हिउँ पर्छ। त्यसो भयो भने हाम्रो बित्यास हुन्छ, किनभने यो निर्जन ठाउँ हो। पर्दै गरेको हिउँ एकाध पटक मात्र सामना गरेका हामी जस्ता मानिसलाई अनकन्टार ठाउँमा पर्दै गरेको हिउँबाट कसरी जोगिने भन्ने ज्ञान हुने कुरै भएन।
मेघ अझ बाक्लो र कालो भयो। वेलै नभई अँध्यारो हुन लाग्यो।
कालिदासको प्रसिद्ध काव्य मेघदूतमा मेघ र मान्छेको कथा छ। कर्तव्यबाट च्युत भएका कुनै यक्ष स्वर्गबाट एक वर्षका लागि निर्वासित भएका थिए। उनले स्वर्गमा रहेकी आफ्नी प्रेयसीलाई आफ्नो खबर पुर्याउन मेघलाई अनुरोध गरेका थिए। त्यस क्रममा उनले एउटा सल्लाह दिएका थिए- हिमालय पुग्नुअघि एउटा पर्वतमा एक घडी विश्राम गर्नू र पानी बर्साएर हल्का भएपछि अझै चटक चालले अघि बढ्नू।
पर, ३० किलोमिटर पश्चिममा, लाङटाङ उपत्यकाको मुखमा आउँदै गरेको मेघ यक्षको दूत मेघदूत झैं ‘अझ चटक चालले’ मडारिएर हामीतिर आउँदै थियो। फरक के मात्र थियो भने यो मेघ यक्षको मेघ जसरी पानी बर्साएर हल्का भएको थिएन। पानीको भारी सकिनसकी बोकेको, निख्खुर कालो थियो।
यस मेघको हतारो देख्दा लाग्थ्यो- ऊ अहिले हामी बसेको ठाउँतिर केही दिन पहिल्यै आइपुग्नुपर्थ्यो। हिउँदमा बेंसी झरेका याक र चौंरीको बथान बर्खा लागेपछि बिस्तारै उँभो लागेर यहाँ आइपुग्नुभन्दा निकै पहिल्यै मेघले पानी झारेर बाक्लो घाँस उम्रन जमीन भिजाइसकेको हुनुपर्थ्यो। आफ्नो कर्तव्यबाट च्युत भएकाले ऊ यता आउन ढिलो भएको थियो। हिमालतिरको उँभौली यात्रा गर्दै गरेका चौंरी र याकको बथान लाङटाङ उपत्यकाको मुख घोडा तबेला आइपुगिसकेको देख्दा मेघ आफू धेरै ढिला भएँ भनेर आत्तिएको थियो र बिजुली गतिमा दौडिंदै थियो।
यसरी हस्याङफस्याङ गर्दै हिंड्दा उसले चम्काएको बिजुली पृथ्वी थर्कने गरी गर्जन्थ्यो। यो गर्जन मैले काठमाडौं अथवा मधेशबाट सुनेको गर्जनभन्दा कता हो कता डरलाग्दो थियो। शुरूमा मलाई निर्जन ठाउँमा अलपत्र परिएला भनेर डराएकाले मेघको आवाज ठूलो भए जस्तो लागेको थियो।
पछि सम्झिएँ- अहिले हामी मधेशभन्दा तीन हजार ९०० मिटर र काठमाडौंभन्दा दुई हजार ७०० मिटर अग्लो ठाउँमा थियौं। अर्थात्, हामी मधेशका तुलनामा तीन हजार ९०० र काठमाडौंका तुलनामा दुई हजार ७०० मिटर मेघनजिक थियौं। त्यसैले उसको गर्जन ठूलो हुने नै भयो।
यति उचाइमा पनि हिउँ पर्ने समय त बितिसकेको थियो। तर प्रकृति हो, मान्छे जति पनि भर पर्न नसकिने प्राणी! डेढ वर्ष पहिले, २०७१ सालको असोजमा हिउँ पर्ने वेला नभई आएको हुदहुद मेघले हिमाली भेगमा हिउँ पारेको थियो। नसोचेका वेला परेको हिउँले पुरेर र कठ्याङ्ग्र्याएर ५० जनाभन्दा बढी मानिस मारेको थियो।
हामीले केही दिनयता मौसम लगायत कुनै पनि विषयका समाचार सुन्ने जाँगर चलाएका थिएनौं, तन र मन दुवै हिमाली भेगलाई सुम्पिएर। अहिले त्यसको फल भोग्नुपर्ने हो कि भन्ने त्रास मडारियो।
यहाँको सबैभन्दा नजिकको बस्ती क्यान्जिङबाट यहाँ आइपुग्न चार घण्टा लागेको थियो। किन हो कुन्नि, कुनै ठाउँ जाँदाभन्दा फर्कंदा बाटो छोटिन्छ। फेरि हामीले फर्कंदा बिहान यता आउँदा जस्तो कुनै दृश्य खिच्नुपर्ने थिएन। तर, त्यसो हुँदा पनि नजिकको मानवबस्ती पुग्न तीन घण्टा लाग्ने थियो। बिहान यता आउँदा बाटो छेउको खर्कमा अस्थायी ढुङ्गे गोठ देखेका थियौं। त्यहाँ खानेकुरा, आगो र लत्ताकपडा केही पनि थिएनन्। तैपनि त्यहाँ पुग्न पाए हिउँको मार खुला ठाउँमा जति खप्नु पर्दैनथ्यो। चिसो अलिकति भए पनि कम हुन्थ्यो।
तर, त्यहाँ पुग्नु त पर्यो नि!
यति वेला मैले हामीसँग दुई दिनअघि चिनजान भएका इटलीका नागरिक क्लाउडेले डेढ घण्टा पहिले भनेको कुरा सम्झिएँ। उनले भनेका थिए, ‘केही गरी हिउँ पर्यो र बाटो अलमलियौ भने लाङटाङ खोला जता हिंडेको छ त्यतै हिंड्नु, क्यान्जिङ पुगिन्छ।’
यो ठाउँमा बाटो अलमलिनु अनौठो कुरा थिएन। हिउँ नपरेकै वेला पनि क्लाउडे बाटो बिराएर काँडे बुट्यान भएका ठाउँमा हिंडेछन्। तिनै काँडाले घोचेका उनका दुवै पिंडौला रक्ताम्मे भएका थिए। हिउँ नपर्दै, नआत्तिंदै यस्तो हालत भोगेका क्लाउडेले दिएको सल्लाह कति पो उपयोगी हुँदो हो र!
हामी जता जानुपर्ने हो त्यतैबाट तेज हावा चलेको थियो। त्यसले हामीलाई पछाडि धकेल्थ्यो। हिंड्न अप्ठ्यारो पार्थ्यो। तैपनि हामी हामीलाई तर्साउने मेघको भन्दा ‘चटक चालले’ हिंड्न कोशिश गरिरह्यौं।
कालिदासको मेघदूतका यक्षले मेघलाई भनेका थिए, ‘तिमी अलकापुरी जाने बाटोमा देवदारुका हाँगा आपसमा रगडिएर डढेलो लागेको रहेछ, त्यसले चौंरीको चमर झुल्स्याउन र पर्वत जलाउन लागेको रहेछ भने तिमीले असंख्य जलधारा बर्साएर डढेलो निभाइदिनू।’
यहाँ डढेलो कतै लागेको थिएन। तैपनि यो मेघले असंख्य जलधारा बर्साउन थाल्यो। यक्षले सल्लाह दिएका वेला अरू नै कुरामा ध्यान दिएर मेघले ‘डढेलो लागेको रहेछ भने’ भन्ने वाक्यांश चाहिं सुनेनछ क्यारे! डढेलो लागेको नदेखे पनि असंख्य जलधारा बर्सायो, त्यो पनि मुसल जस्ता ठूला जलधारा।
पानी पारेपछि यो मेघले हिउँ बर्साउँदैन भनेर हामी एक किसिमले अलि ढुक्क भयौं, तर पानी मात्रै पर्दा पनि हाम्रो यात्रा असजिलो भएको थियो। जाडो बढिसकेको थियो। हाम्रा भरिया तेन्जेन धुन्चेमा जुन लुगा लगाउँथे त्यही लुगामा थिए। उनी जाडोले काम्न लागेपछि मैले मेरो जगेडा ज्याकेट दिएँ। हाम्रो टोलीका क्यामेरामेन अमृत देवकोटा भने पातलो विन्डचिटर मात्र लगाएर यो जाडो सजिलै थेगिरहेका थिए। न्याना लुगाका दृष्टिले म र रविन्द्र पाण्डे मात्र सुरक्षित थियौं।
कस्तूरी मृगको नाभिबाट निस्केको सुवासले महकित हिम-धवलित पवर्तमा पुगेर त्यसको टुप्पामा थकाइ मार्न बस्नू- यक्षले मेघदूतलाई भनेका थिए। त्यति वेला तिमी शोभायमान् हुन्छौ भनेर पनि यक्षले मेघलाई भनेका थिए। कस्तो शोभाले शोभायमान्रु ‘शिवजीको सेतो रङको वाहन नन्दीले आफ्ना सिङले गिलो माटो खोस्रेर फालेका वेलाको जस्तो शोभाले शोभायमान्।’
अहिले हामी जहाँ थियौं, त्यहाँ वरिपरि घ्याङछेम्पू र दोर्जे लाक्पा जस्ता हिम-धवलित पर्वतका असंख्य टाकुरा थिए। आज हामी जुन बाटो हिंडेर आएका थियौं, त्यस वरपरको सबै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको कस्तूरी मृग पाल्ने ठाउँ थियो। त्यसैले ती पर्वत कस्तूरीको बिनाको सुवासले महकदार थिए।
आज बिहान जुरुक्क उठेदेखि अलिबेर पहिलेसम्म छ्याङ्ग खुलेका हिम-धवलित पर्वतका टाकुराले हामीलाई लठ्याउनुसम्म लठ्याएका थिए। तिनैको सुन्दरता हेर्ने हुँदा अहिले हामी ढिलो भएका थियौं। बित्यास भोग्दै थियौं।
शिवजीको नन्दी रमाएको जस्तो लाग्ने हाउभाउ देखाउँदै मेघ ती टाकुरामा शोभायमान् भएर बसेको दृश्य नजिकबाट हेर्ने अवसर हामीलाई जुरेको थियो। तर, बिरलाकोटीको त्यो अवसर उपयोग गर्न हामी तयार थिएनौं। त्यसो गर्ने रुचि हामीसँग थिएन। ज्यान जोगाउने उद्यमका अगाडि जतिसुकै मनोरम दृश्य पनि फिक्का, महत्त्वहीन र उपयोगहीन ठहरिंदो रहेछ।
हामी सकेको बल लगाएर पश्चिम बत्तिँदै थियौं। हाम्रो दायाँतिर हिउँद लाग्नुअघि बथानका अरूलाई तल झर्न बिदा गरेर आफू हिउँदभर हिउँ सहेर बसेका केही याक र केही घोडा पानी परेकोतर्फ ध्यानै नदिई मग्न भएर चरिरहेका थिए। काला याकको बथानबीचको एउटा सेतो घोडा औधी राम्रो थियो। सेतो याक, सेतो चौंरी र सेतो घोडा लच्छिनका मानिन्छन्, अरूभन्दा बहुमूल्य मानिन्छन्।
गड्याङगुडुङ चर्कंदै थियो। पानी दर्कंदै थियो। यस्तो वेला असिना पर्छ कि पर्दैन थाहा छैन, तर यक्षले मेघदूतलाई दिएको सल्लाह मलाई थाहा छ। उनले भनेका थिए, ‘हिमालयका शरभ मृग मति बिगारेर आफ्नो सजिलो बाटो छाडेर तिमी भएतिर आउने हुँदा तिनले आफ्नो अङ्गभङ्ग गराउने डर पैदा भयो भने तिमीले असिनाले हानेर तिनलाई तह लगाउनू।’
शरभ अर्थात् आठखुट्टे मृग यहाँ पाइँदैन, मिथकमा मात्र पाइन्छ। त्यसकै नातेदार थार मृगको बथान भने यहाँ डेढ घण्टाअघि देखेका थियौं। हामीलाई जाडो लागेका वेला पनि भाले थार भर्खर पग्लिएको लाङटाङ खोलाको पानीमा आहाल बसेको थियो। पोथी र बालबच्चा चाहिं छेउको चउरमा चर्दै थिए। भिडिओ क्यामेराले खिच्न खोज्दा ती हामीसँग बिच्किएर उफ्रिंदै अक्करिला भीरमा दौडेका थिए।
तिनै थार मृगलाई शरभ ठानेर र उनीहरू आफ्नो अङ्गभङ्ग गराउन उद्यत भएको ठानेर तिनलाई तह लगाउन मेघले असिनाले हिर्कायो भने आठखुट्टे मृगका चारखुट्टे नातेदार होइन हनुमानका अलि टाढाका नातेदार हामी दुईखुट्टेको बिजोग हुन्थ्यो।
हामी पश्चिम लाग्दै थियौं। मेघ पूर्व-उत्तर हानिंदै थियो। यक्षले मेघलाई मेघ हिमाल पार गर्ने वेला बाटोमा शिवजीका पाउको छाप बसेको चट्टान भेटिन्छ भनेका थिए, सिद्धहरूले पूजा गर्ने त्यस ठाउँलाई भक्तिभावपूर्वक झुकेर परिक्रमा गर्नू भनेका थिए।
यक्षको दूत बनेको मेघ र अहिले हामीलाई अत्याउने मेघ एउटै थिएनन्। यक्षको मेघ असार १ गते यहाँभन्दा धेरै तल भारतमै थियो। यो मेघ वैशाख २८ गते नै मेघ हत्तपत्त आइनपुग्ने लाङटाङ उपत्यकाको पूर्वी कुनो तिब्बतसँगको सिमानामा पुग्न लागेको थियो।
त्यसैले यस मेघले आफ्नो बाटोमा शिवजीको पदचिह्न भएको चट्टान भेट्दैनथ्यो। बरु लाङसिसा हिमानी छेउमा खडा भएका अजङ्गका चट्टान भेट्थ्यो, जसलाई शाक्यमुनि र तिब्बतमा बौद्ध धर्म फैलाउने गुरु रिम्पोछेका प्रतीक मानिन्छ। तिनलाई पवित्र मानेर तिब्बतदेखिका सिद्धहरू यहाँ आउँछन् र पूजा गर्छन्। यो मेघले पनि तिनको पूजा गर्ला र यतैकतै कर्याङकुरुङ हिमालय पार गर्ने छेंडो भएर अझ उत्तरपूर्व लाग्ला।
यक्षको दूत मेघले कैलाशछेउको, स्वर्गको राजधानी अलकापुरी जानुपर्थ्यो। तर, हामीलाई अत्याउने यो मेघले अलकापुरी जाने बाटो ताकेको थिएन। ऊ त यहाँबाट पूर्व-उत्तरमा पर्ने तिब्बतको राजधानी ल्हासा जान लागेको जस्तो देखिन्थ्यो। यक्षको मेघले अलकापुरीमा साततले भव्य भवन देख्थ्यो। यो मेघले नेपालका ज्वाइँ स्रोङचोङ गम्पोले बनाएको जोखाङ र अरू गुम्बा देख्थ्यो जहाँ भृकुटीले नेपालबाट लगेको बुद्धको मूर्ति राखिएको छ।
यो मेघ ५०० किलोमिटर टाढाको ल्हासा पुग्न हामीबाट छुट्टियो। अब पानी पर्न कम भयो। हामी १५-२० किलोमिटर टाढाको क्यान्जिङमा वास बस्न दौडियौं, जहाँ नोर्पु तामाङ आफ्नो होटलमा मीठो खाना बनाएर हामीलाई पर्खेर बसेका थिए।
हिमाल दशैं साहित्यका थप सामग्री: