भूकम्पका चार वटा धक्काले धादिङमा २० घर भत्किए
धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएका चार वटा भूकम्पका धक्काले २० वटा घर भत्किएका छन् भने केही चर्किएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ७:३९ बजे धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि लगातार तीन वटा धक्का महसूस भएको थियो।
केन्द्रका अनुसार बिहान ८:०८ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसको केही बेरपछि बिहान ८:२८ बजे ४.३ म्याग्निच्यूड र ८:५९ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।
पछिल्लो धक्काले खासै असर नपरेपछि शुरूआतमा गएको भूकम्पले धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्व वडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरको विस्तृत विवरण संकलन भइरहेको बताए।