सुनको सिक्री (कथा)
“हेर भाइ, म आफैं पुलिस हुँ, मेरो घरायसी कुरा हो। तिमीले गरेनौ भने नक्कली घाउ बनाएर मागी हिंड्ने केसमा थुन्दिन पनि सक्छु।”
घटस्थापनाको पर्सिपल्ट बिहान रात्रिबसबाट ओर्लिरहेकी सासूको घाँटीमा सुनको सिक्री देख्ने बित्तिकै मनमा एउटा योजना बन्यो जसको सफल कार्यान्वयनको कल्पनामा धेरै दिनदेखिका मेरा तनावहरू अनायास गायब भए।
पौने ६ वर्षपछि बल्ल दशैंमा आमा-छोरीको भेट हुने योजनाले प्रायः दुःखी र उदास भइरहने अप्सराको अनुहारमा उज्यालो छाएको थियो। तीन-तीन जना बच्चाको लालनपालन र थाइराइड सम्बन्धी रोगका कारण कमजोर बनेकी उनको शरीरमा फुर्ती फिर्ता आएको थियो।
उनी हाम्रो दुईकोठे डेराको सरसफाइमा व्यस्त बनेकी थिइन्। छोराछोरी पनि हजुरआमासितको भेटका लागि निकै उत्सुक थिए। माया र लगावका कारण नभई बरु केही मीठा कोसेली आउने आशाले तिनका खुट्टा भुइँमा थिएनन्। झापाबाट पहिलो पटक सासू आउने भएपछि मेरो तनाव भने झन् बढेको थियो।
ससुरालीसँग त्यति राम्रो सम्बन्ध पनि होइन मेरो। अहिलेसम्म म दुई पटक मात्र ससुराली गएको छु। अप्सरालाई भगाई ल्याएको दुई वर्षपछि पहिलो पटक जेठी छोरी सहित र अर्को चाहिं त्यसको तीन वर्षपछि ससुरा बाको निधन हुँदा।
१२ पढ्दै गरेकी अप्सरासित उनी पोखरा भ्रमण आउँदा पहिलो हेराइमै प्रेम बस्न गएको थियो। हुन त अहिले त्यो बिर्सिइसकेको प्रेम र यौवनको कुरा गर्ने प्रसङ्ग हैन। तर त्यो प्रेम निकै जब्बर थियो जसले मलाई बिर्तामोड पुर्याइदिएको थियो र अप्सरालाई फिल्मी शैलीमा काठमाडौं हुँदै पोखरामा ल्याइदिएको थियो। जे भए पनि अप्सरा दोस्रो पटक गर्भवती नहुन्जेल हामी खुशी नै थियौं, सुखी थियौं।
म त्यो सानोतिनो होटलको सर्वसुलभ कर्मचारी थिएँ, अर्थात् निश्चित पद नभए पनि क्लीनर, म्यानेजर, रिसेप्सनिस्ट, एकाउन्टेन्ट सबै। होटलभन्दा दह्रो कमाइ हुने काममा साहु हराइरहने हुँदा कहिलेकाहीं सानोतिनो रकम आफ्नै खल्तीतिर खसाल्न पाउने भएकाले मैले अन्त कतै अवसर खोजेको थिइनँ। मेरो जीवनशैली सामान्यभन्दा उच्चस्तरको भए पनि उस्तै परे केही क्षणका लागि कोठा माग्न आउने जोडीहरूले फोहोर पार्ने तन्ना आफैं धुन्थें।
मेरो भ्रष्टाचारबारे थाहा नपाएरै हो वा मलाई स्रोतसाधनले सम्पन्न ठानेर हो, त्यही होटल किन्न भनेर साहुले भन्ने गर्थे। उनको त्यस प्रस्तावलाई मैले कहिल्यै गम्भीरतापूर्वक लिइनँ। अप्सराको भने ब्यूटीपार्लर राख्ने योजना थियो। कान्छी छोरी बिरामी परिरहने हुनाले त्यो पनि योजनामै सीमित रहन गएको थियो।
मसित ठूलो सपना थिएन। छोरीहरूलाई बोर्डिङ स्कूलमा पढाएको थिएँ। आफ्नै घर जस्तो लाग्ने डेराको झ्याल अगाडि एउटा पुरानो स्कूटर अड्याएर राखेको थिएँ। होटल लगभग मेरै भरमा छोडिएकाले ससुरालीतिर मलाई होटल व्यवसायी भनेर चिनिन्थ्यो, बस्।
वेलावेला समस्या आइरहे पनि मलाई जीवन सुविधाजनक नै लागिरहेको थियो।
कोभिड-१९ को लकडाउनले मात्र बल्ल म भ्रममा रहेछु भन्ने थाहा पाएँ। सुनसान भएर पनि केही महीनासम्म साहुले मलाई घरखर्च दिइरह्यो। पछि पछि उसले दिने पैसाले भात-तिहुन मात्र पुग्न थाल्यो। परिवारमा कसैलाई केही भइहाल्छ कि भन्ने एकतमासको त्रास र भइहालेमा के गर्ने भन्ने चिन्ताको सागरमा निकै समय डुबेपछि आफैंबाट भाग्न म गल्लीतिर निस्केर तास खेल्न थालें। सुरुसुरुमा जित्ने हुँदा अप्सराले मौन स्वीकृति पनि दिई। तर बिस्तारै हार्न थालें र टोलका भित्री भट्टीहरूमा पस्न थालें।
यही सिलसिलामा गोरे र माइला मेरा नयाँ साथी बन्न आए। रक्सी र तासले हामीलाई छोटो अवधिमै घनिष्ठ बनाइदिए। उनीहरू घर बनाउने ठाउँमा ज्यालामजदूरी गर्थे तर बेलुकी लोभलाग्दो गरेर रक्सी र मासु खान्थे। लाग्थ्यो, तिनलाई कुनै सुर्ता थिएन। रक्सी र तासले हामीलाई यति नजिक बनाइदिएको थियो कि उनीहरूले मेरो समस्या बुझेका थिए, कति पटक त म तिनका पाहुना बनें र साह्रै समस्या परेको वेलामा तिनले ऋण खोजिदिए। म गलत बाटोमा छु भनेर मलाई थाहा थियो र मनमनै प्रण पनि गर्थें तर जुवा खेल्न र रक्सी पिउन छोड्न सकिनँ।
अर्कातिर, जिन्दगी झनै कष्टप्रद हुँदै थियो। पहिला त घरबेटीको मीठो बोली सुन्दा कस्तो जाती मान्छे रहेछ जस्तो लाग्थ्यो । तर समस्या थपिँदै आउन थालेपछि उसले कोठा तुरुन्त खाली गर्न भन्यो। भाडा तिरेर निस्कन्छु भन्दा अरू कसै कसैले एक महीनाको मिनाहा गरेको भन्दै मलाई दुई महीनाको ‘छोडिदिने’ भन्यो। अपमानित अनुभूत गर्दै म निस्किएँ। तीनकोठे फ्ल्याटको सट्टा गोरे र माइलाले खोजिदिएका नयाँ ठाउँमा दुइटा मात्र कोठा लिएँ। पहिलाको भन्दा साना आकारका भएकाले अब झन् साँघुरो भइरहेको थियो। शौचालयमा पालो कुर्नुपर्दा दिक्क लाग्थ्यो।
भागेर आउँदा गलामा भिरेर आएको अप्सराको एक तोलाको सुनको सिक्रीले आफू क्रमशः छोट्टिंदै र पातलिंदै निकै साथ दियो र अन्तिममा ३६ लालमा पातलिएको त्यसलाई पनि बेच्नुपर्यो।
लकडाउन खुलेपछि तीन महीना चलाएर साहुले निकै सस्तोमा होटल बेचिदियो। नयाँ साहुले मलाई रुचाएन। थप पैसा पनि नपाएपछि र मालिक्याइँको खोक्रो अभ्यास पनि गर्न नपाएपछि म त्यहाँ रमाउन सकिरहेको थिइनँ। अर्को लकडाउन हुन नपाउँदै उसले मलाई अनिश्चित कालसम्मका लागि बिदा दियो। कोठाभाडा केही महीना नियमित तिरे पनि बिस्तारै समयमा दिन नसक्ने भइरहेको थिएँ। पछिल्लो तीन महीनादेखि त तिर्न पनि सकिरहेको थिइनँ। बाहिरबाट घर पुग्दा नयाँ घरबेटीले बार्दलीबाट घृणापूर्वक मलाई हेर्नु बाहेक कुनै किचकिच गरिहालेको चाहिं थिएन।
भागेर आउँदा गलामा भिरेर आएको अप्सराको एक तोलाको सुनको सिक्रीले आफू क्रमशः छोट्टिंदै र पातलिंदै निकै साथ दियो र अन्तिममा ३६ लालमा पातलिएको त्यसलाई पनि बेच्नुपर्यो।
यताउता ऋण माग्ने ठाउँ बाँकी नरहेको र चामल रित्तिएकाले एक दिन गोरे र माइलासित काममा गएँ। अरू काम नजानेको हुँदा दुई जना महिलाहरूसित गिट्टी कुटें। उनीहरू हाँसोठट्टा गर्दै रमाइरहेका थिए, मलाई भने अप्ठ्यारो लागिरहेको थियो। भोलिपल्ट पूरै शरीरमा पीडा भइरहेको थियो। म बिमार परें तर पनि काममा गइरहें। ज्यानले नसक्ने काम नगर्नू भनेर अप्सराले मलाई मायापूर्वक भनी र आफू चाहिं बच्चाहरूका पेट भर्न मेलापातमा हिंड्न थाली। जब मेलापात हुन्नथ्यो, कहिलेकाहीं सडकपेटीमा थोरै फलफूल वा तरकारी कुरेर बस्न थाली। आमालाई तरकारी बेच्न थालेको देखेर जेठी छोरी छरछिमेकमा लजाउन थाली।
जब आमा वा भाइसित फोनमा बोल्थी अप्सराले मेरो होटल बन्द भएकाले अलि गाह्रो भएको सुनाउन चाहिं बिर्सन्नथी। आमासित अप्सराको बाक्लै कुराकानी हुन्थ्यो। वेलावेलामा खाडीमा भएको भाइसित पनि दिदीको कुराकानी हुन्थ्यो। फोनमा सुनको सिक्रीको कुरा हुन्थ्यो, बुहारीले साथ नदिएको पनि बुझिन्थ्यो। कुराकानीको सार हुन्थ्यो, बुहारी खर्चालु छे, नक्कली छे सासूलाई हेप्छे इत्यादि। त्यसपछि मोबाइल, लुगा, गहना र झापातिरका मेरा लागि अपरिचितहरूबारे अन्त्यहीन गफ हुन्थ्यो जसमा मेरो रुचि हुने कुरै थिएन।
अचानक सामना गर्नुपरेको चरम गरीबीले अप्सरा र मेरो प्रेममा तिक्तता देखिन थालेको थियो। त्यो पहिला नै सुषुप्त थियो वा पछि विकसित भएको थियो थाहा छैन। मसित झगडा गरे पनि आमासँग बोल्दा भने ऊ शान्त रहन्थी, हाँस्थी र मेरो प्रशंसा गरिरहेकी हुन्थी। छोरीहरूलाई पछि आफूखुशी बिहे नगर्नू भन्दै पश्चात्तापको किस्सा सुनाउँथी। केटाकेटी एकैचोटि बुझ्ने भइसकेका थिए। छोरा बाहेक उसका दिदीहरू प्रायः मौन भएर बस्थे। तिनले अभाव चिन्न थालेका थिए र भोक पचाउन अभ्यस्त।
हामी कहिल्यै जान नसक्ने भएपछि यसपालि सासू आफैं काँकडभिट्टाबाट पोखरा आउँदै थिइन्।
जब डेरामा पुग्थें मौनताको कर्कश आवाज सुन्नुपथ्र्यो, हैन भने अप्सरासित झगडा भइहाल्थ्यो। घरबेटीको सम्भावित टोकाइबाट बच्न म बाहिरबाहिरै सुत्न थालेको थिएँ। थोत्रो स्कूटर देखाउँदै गरेको ऋण ५० हजार नाघिसकेको थियो। साथीहरूबाट लुकीलुकी हिंड्नुपरेको थियो। उनीहरूसित अब ऋण माग्ने बहाना रित्तिइसकेको थियो। छन त दाइ काठमाडौंतिर छ, भाइ गाउँतिरको सानोतिनो ठेकेदार हो तर उनीहरूसँग कामै परे मात्र फोनमा कुराकानी हुन्छ। उनीहरू गोरे र माइलाभन्दा टाढा लाग्छन्।
प्रारम्भमा मलाई नरुचाए पनि पछिपछि सासूले प्रत्येक चाडपर्वमा हामीलाई बोलाउन थालेकी थिइन्। अरू वेला समय नै मिल्दैनथ्यो। दशैंको लामो बिदामा जाऔं भने आवतजावतमा मात्रै निकै मोटो रकम उड्ने देखेर अप्सरा आफैंले बिमार परेको बहाना झिक्थी। हामी कहिल्यै जान नसक्ने भएपछि यसपालि सासू आफैं काँकडभिट्टाबाट पोखरा आउँदै थिइन्। दिउँसै बाटोमा कतै सुनको गहना भेटिएको वा हराइरहेको ३३ केजी सुनको एउटा भाग स्कूटरको डिकीमा भेटिएको सपना देख्न थालें।
कतै चोरी गरूँ वा परिवार सहित सेतीमा हाम फालिदिऊँ कि भन्ने कुविचारले कहिलेकाहीं टाउको उचाल्न थालेको वेलातिर सासूको आगमनको सन्देशले मलाई निराशा र अत्यासको पल्लो फालमा पुर्याइदिएको थियो। साथीहरूसित पैसा सापटी माग्दै केटाकेटी पालिरहेको हरितन्नमको डेरामा जब सासू आउने कुरा चल्यो, तनाव बढ्नु स्वाभाविकै थियो। शायद आफ्नो नाजुक अवस्थामाथि आमाको नजर जोगाउन अप्सराले ‘यो सुन पसल होइन’ बाट एउटा सिक्री किनेकी थिई।
स्कूटरमा गएर गह्रुङ्गो मनले सासूलाई स्वागत गरे पनि सल मिलाउने वेला सासूको घाँटीमा सिक्री देख्ने बित्तिकै मेरो पुर्पुरोमा चोर्नै पर्ने नै लेख्यो होला जस्तो देखियो किनभने सिक्रीले जन्माइदिएको योजना जति बिर्सन खोजे पनि त्यो कुत्सित विचार मनबाट जानै मानेन। म विश्वस्त थिएँ, सासूको घाँटीमा झुन्डिरहेको लगभग दुई तोलाको पहेंलो धातु मात्र यस्तो साधन थियो जसले मलाई दुःखको भुमरीबाट अस्थायी रूपले भए पनि पार लाउन सक्थ्यो।
छोराले त शुरूबाटै हजुरआमालाई मन पराएन। हजुरआमा गन्हाएको छ भन्दै ऊ भान्साकोठाको भुइँमा मसित सुत्न लाग्यो।
फोनमा बोलिरहे पनि लामो समयपछि प्रत्यक्ष भेट हुँदा आमाछोरीले आँसु बगाए। हजुरआमाको कोसेलीमा केटाकेटीको खासै ध्यान गएन। घ्यू, अकबरे खुर्सानी र अरू पोकापन्तुरामा तिनको आकर्षण देखिएन। उनीहरू त त्यही सुनको सिक्रीमा आकर्षित थिए। जेठी छोरीले त हजुरआमाको सिक्री लगाई पनि र कान्छीले सबैका अगाडि भनी, “हजुरआमा मर्नुभयो भने यो सिक्री ममीले पाउनुहुन्छ अनि ममीले मलाई दिनुहुन्छ, है?”
हामी सबै हाँसे पनि हजुरआमाले नातिनीलाई नराम्रो पाराले हेरिन्।
म त्यो सिक्री हात पार्ने अचुक उपाय खोज्नपट्टि लागें।
आमा आउँदाको उमङ्ग दुई दिनपछि सेलाइसकेको थियो। छोराले त शुरूबाटै हजुरआमालाई मन पराएन। हजुरआमा गन्हाएको छ भन्दै ऊ भान्साकोठाको भुइँमा मसित सुत्न लाग्यो।
सासूको सिक्री हात पार्न सक्ने प्रचुर सम्भावना देखेपछि मलाई थप ऋण खोज्न प्रेरणा एवम् उत्साह मिल्यो। त्यसैले दशैं लगत्तै दिने शर्तमा गोरे मार्फत उसको एक जना साथीबाट ३० हजारको व्यवस्था गराउन सकें। सर्वप्रथम त दुई महीनाको कोठा भाडा बुझाएर केही दिनलाई भए पनि शिर ठाडो पारें। सासूआमा सहित सबैलाई विन्ध्यवासिनी र भद्रकाली मन्दिर दर्शन गराएँ। ट्याक्सीमा चढाएर फेवा तालसम्म लगें र बराही मन्दिर दर्शनपछि नयाँ साहुले रङरोगन गर्दै गरेको होटललाई मेरो पार्टनरशिपको होटल भन्दै अप्सरा स्वयंले देखाइदिई।
बजारमा महिलाहरूले सुनका विभिन्न सिक्री लगाएका थिए तर मेरो ध्यान भने सासूको सिक्रीतिरै थियो। म त्यही सिक्री लुट्ने योजना बुनिरहें। तीन जनालाई एकेक लुगा हालिदिएपछि सासूआमालाई पनि १७ सयको नयाँ सेट मोबाइल किनिदिएँ किनभने उनको मोबाइल कुन कम्पनीको हो, छुट्याउन मुश्किल थियो र कीप्याडमा पनि एकाध अङ्क मात्र देखिन्थे। एक जना साथीसँग मिलेर सानो च्याङ्ग्रा बाँधेर ल्याएपछि केटाकेटीका ओठमा हाँसो फक्रन शुरू भइहाल्यो। सबैलाई खुशी पारेपछि अरू वेला जति खाएको रक्सी पनि इज्जतिलो हुँदो रहेछ भन्ने सत्यबोध भयो।
नवदुर्गाको रात बत्ती नभइरहेको वेला उनी बाहिर चुरोट तानिरहेकी थिइन्। म बाहिर निस्कें र आँखा बाहेक सबै छोपेर र माथिबाट रेनकोट भिरेर भित्र पसें। आँगनमा ननिभेको चुरोटको ठुटा मात्र भेट्टाएँ।
अनुभवी सासूलाई भइसकेको जस्तो लाग्यो, मेरो खोक्रोपनको आभास। उनले शायद पहिला नै बुझिसकेकी थिइन् छोरीको खुशी पनि बनावटी हो भन्ने। विजयादशमीको दिनमा मलाई र छोरीलाई ५००-५०० र केटाकेटीलाई १००-१०० दक्षिणा सहितको टीका लगाइदिएपछि उनले मलाई सुनाउने किसिमले छोरीलाई भनिन्, “तो अमरेलाई ज्वाइँ नारनका लागि एउटा भिजा मिलाउदेऊ भन्नुपरो। केटकेटी उतै ग’र पनि पढ्छन्।”
मैले बिस्तारै भनें, “एक जना बुढीआमाको झोला तान्नुपर्यो। त्यति मात्र गर्न सक्यौ भने यस्तो हजारका नौ वटा नोट दिन्छु ल।”
सुनको सिक्री लुट्ने दर्जनौं उपाय खोजिरहेको वेला सुन्निएको अनुहार भएको त्यो मगन्तेलाई भेटें जो कहिलेकाहीं हातखुट्टातिर घाउ बनाएर उपचार गर्ने पैसा माग्दै आउँथ्यो। वास्तवमा ऊ आफैं घाउ बनाएर वा कहिलेकाहीं त्यसै पट्टी लगाएर मागिखाने मनुवा थियो। मैले ऊसित एकान्तमा भेटें र हजार रुपियाँ दिएँ। ऊ डराउँदै चकित भयो। मैले उसलाई भनें, “तिमीलाई अर्को पनि दिन्छु तर मेरो एउटा काम गर्यौ भने।”
उसको अनुहारको डर हरायो र आँखाहरू चम्किए। उसले सीधै सोध्यो, “के गर्नुपर्यो हजुर ?”
मैले बिस्तारै भनें, “एक जना बुढीआमाको झोला तान्नुपर्यो। त्यति मात्र गर्न सक्यौ भने यस्तो हजारका नौ वटा नोट दिन्छु ल।”
“आबुई, त्यस्तो काम त गर्दिनँ हजुर,” ऊ तर्कियो।
मैले आश्वस्त पारें, “हेर भाइ, म आफैं पुलिस हुँ, मेरो घरायसी कुरा हो। तिमीले गरेनौ भने नक्कली घाउ बनाएर मागी हिंड्ने केसमा थुन्दिन पनि सक्छु।”
ऊ डरायो। नडराउन भन्दै उसलाई एउटा काल्पनिक वियोगको कथा सुनाएँ जसले उसलाई छोएको जस्तो लाग्यो। ऊ मेरो काम गर्न तयार भयो।
टीकाको भोलिपल्ट त मानौं आमाछोरीबीचको गफ समाप्त भइसकेको थियो, दुवै आआफ्ना धूनमा थिए। पर्सिपल्टै उनी जाने भनेर कस्सिइहालिन्। छोरीको तिहारसम्म बस्न भन्ने अनुरोध मान्न मन लागे पनि नातिनातिनीसित लगाव बस्न नसकेको भाव र ज्वाइँसित अप्ठ्यारो मानिरहेको मैले बुझें।
सासूलाई बसपार्कसम्म पुर्याउनुअघि नै त्यो काम पूरा हुनुपर्ने थियो। मैले बिहानै भेटेर घाइते भिखारीलाई योजनाको सम्झना गराएँ।
सासूआमालाई जमाना राम्रो नभएको भन्दै त्यस्तो मोटो सिक्री नलगाउन र एउटा सानो झोलामा लुकाउन भनें। अप्सराले पनि त्यस्तै सल्लाह दिई। छोटो बाटो जाऔं भन्दै सुनसान रहने एउटा गल्लीबाट लगें जहाँ घाइते मगन्तेलाई तयारी अवस्थामा रहन भनेको थिएँ। बाटो सुनसान थियो, अरू वेला भन्दा बढी नै। हामी दुवै चूपचाप थियौं। योजना अनुसार जब पर घाइते मान्छे देखियो मेरो ढुकढुकी बढ्न थाल्यो, म डराउन थालें। ऊ सीधै नजिक आयो र मैले स्कूटरको ब्रेक लगाएँ। मैले जानीजानी स्कूटर लडाएँ, सासू इइइइ भन्दै ढलिन्।
उसले फटाफट सासूको सानो झोला तानेको थाहा पाएँ। सासूको मुखबाट अनौठो हाँसोलाग्दो आवाज निस्कियो। म एउटा जुत्ता खुट्टामा र अर्को हातमा लिंदै उसको पछि भागें। सासूको नजरबाट ओझेल भएपछि म एकछिन उभिएँ। मलाई डर लाग्न थाल्यो। हस्याङफस्याङ गर्दै म फर्किएँ र चोरलाई भेट्टाउन नसकेको विवशता पोखें। थुरथुर कामिरहेकी सासूले मलाई भनी, “पीर नगर्नुस् ज्वाइँ। धन्न ज्यान जोगियो भनौं।”
उनलाई एक ठाउँमा बस्न लगाएर मैले स्कूटर उठाएँ र पुनः चोरलाई खोज्न निस्केको जस्तो गरें। आत्तिएको र रिसाएको अभिनय बढ्ता नै भयो कि जस्तो लाग्दै मैले भनें, “टिकट रद्द गरौं र प्रहरीलाई खबर गरौं। झोलामा के के थियो?”
तर उनी बोलिनन्। हामी बसको छेउमा पुग्यौं जुन स्टार्ट भइसकेको थियो। अलि ठुस्किएकी उनी सरासर भित्र पसिन्, सीटमा झोला राखिन् र बाहिर आएर चुरोट सल्काउन थालिन्। मैले उनलाई बाटो खर्च भनेर पर्सभित्र सोहोरेर दुई हजार चानचुन रुपैयाँ दिएँ। उनले अप्ठ्यारो मान्दै एउटा हजार राखिन् र बाँकी फिर्ता गरिन्। मलाई छिटै बस गुडे हुन्थ्यो जस्तो लाग्यो। मेरो बेचैनी देखेर होला उनले पिन्चे हाँसो हाँस्न खोज्दै भनिन्, “दुःख मान्नुपर्ने कुरा हैन ज्वाइँ, भन्न नि लाज लाग्छ.... नक्कली हो। जताततै चोरहरू जस्ता मान्छेहरू देख्ने ठाउँमा यस्तो महँगो सुन किन लाउनु र!”
मलाई चाहिं रिस उठ्यो र आत्तिन थालें। बस हिंड्यो, सासूले झ्यालबाट एक चोटि मलाई हेरिन्। त्यो हेराइ घृणापूर्ण पो थियो कि मैले राम्ररी देखिनँ किनभने अँध्यारो हुन थालिसकेको थियो। मेरा नौ नाडी फतक्क गलेका थिए। एउटा बन्द दोकानको शटरमा अडेस लाग्दै थचक्क बसें र तुरुक्क आँसु खसालें।
हिमाल दशैं साहित्यका थप सामग्री: