एउटा मान्छे (कविता)
केका लागि एकोहोरो हेरिरहेको छ बगिरहेको नदी
र पहाडबाट झरिरहेको झरना?
खोलाको किनारमा उभिएर
पानीको छालसँगै बगिरहेको म्याजिक चप्पल
र चप्पलसँगै बगिरहेको काठको डुङ्गा देखेर
के के सोच्दो हो माझी दाइको उदास मनले?
एउटा खुट्टा भाँच्चिएको पावरदार चश्मा बोकेर
कता हिंडेको एउटा बूढो मान्छे
कहाँसम्मको थियो होला यात्रा,
बारी जोतिरहेको थकित अनुहार लिएर
कहाँ हिंडेको हो बैशाखी टेक्दै टेक्दै?
निभ्नै लागेको बत्तीको प्रकाश जस्तो अनुहार देख्दा लाग्छ
कति हिंड्न सकोस् भोकले डामेको पेट छाम्दै छाम्दै
कति सुन्न सकोस् सुकिला मान्छेहरूको कर्कश आवाज
अस्ताउँदै गरेको घामका पाइलाहरू हेर्दै
कति लेख्न सकोस् बगरमा आफ्नै जीवनको कथा।
को होला
रूखको छहारीमा बसेर
बतासको लयसँगै गीत गुनगुनाइरहेको मान्छे
को होला त्यो मान्छे
जो घण्टौंदेखि निदाइरहेको छ ढुङ्गाको सिरानी हालेर?
हुन सक्छ, शायद उसलाई अब ब्युँझनु छैन
नियाल्नु छैन जस्केला उघारेर उदाउँदै गरेको कलिलो घाम
र गमलामा मुस्कुराइरहेको फूल जसरी
अब उसलाई मुस्कुराउनु छैन ऐना अघि उभिएर।
हिमाल दशैं साहित्यका थप सामग्री: