आज महाअष्टमी पर्व मनाइँदै
बडादशैंको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ।
यस दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउने गर्छन्।
शास्त्रसम्मत रूपमा दशैंघर, कोत लगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइँदै छ। यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधना सहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने धार्मिक विश्वास छ। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद् बताउँछन्।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखी लगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गरिन्छ।
यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा लगायत शक्तिपीठमा पनि बलि सहित पूजा आराधना गरिन्छ।
पशुबलि नचढाउनेहरूले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गरेका छन्। -रासस