हनुमानढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)
गोरखा दरबारबाट पठाइएको फूलपाती शनिबार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा भित्र्याइएको छ।
नवरात्रको सातौं दिन शनिबार बिहान गोरखा दरबारको दशैंघरबाट फूलपाती पठाइएको थियो। शनिबार अपराह्न काठमाडौं पुगेसँगै हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको हो।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाडौंको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
हनुमानढोकामा फूलपाती भित्र्याउँदा टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ। समारोहमा नेपाली सेनाको टुकुडीले सैनिक परेड प्रदर्शन गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे लगायत विशिष्ट व्यक्ति उपस्थित थिए।