बाँच्न गाह्रो कम्युनिस्टपुत्र भएर
मेरो बाको कष्टकर जीवनले भन्छ, एउटा सच्चा कम्युनिस्ट भएर बाँच्नु कति गाह्रो थियो। मेरो आफ्नै हुर्काइको अनुभवले पनि भन्छ, कम्युनिस्टको छोरा भएर बाँच्नु झन् गाह्रो थियो।
एउटा कृषक कसरी मजदूरमा रूपान्तरित हुन्छ र सर्वहारा बन्छ भन्ने तथ्य मेरो पिताको जीवनचक्रले उजागर गर्छ। त्यस्तै गरी एउटा सर्वहाराले सर्वहारा पक्षधर राजनीति अंगीकार गर्नाले जीवनपर्यन्त कस्तो विपत्तिको सामना गर्नुपर्छ, त्यो तथ्य पनि उहाँको सतहत्तर वर्षको जीवनवृत्तले देखाउँछ।
बाको देहावसान भएको यो साल अठार वर्ष पुग्दै छ। मृत्यु शाश्वत सत्य हो। यसको निर्दयी पञ्जामा कोही नपरी छाड्दैन। तर जुन परिस्थितिमा उहाँको जीवनलीला समाप्त भयो र त्यसअघिका नौ वर्षमा जुन यन्त्रणा उहाँले भोग्नुभयो, त्यसको कथा ज्यादै कारुणिक र दारुण छ।
उहाँ पक्षाघातको शिकार हुनुभयो, जसको असरबाट उहाँ कहिल्यै उम्कन सक्नुभएन। भन्छन्, पक्षाघातको मार दाहिनेपट्टि भएमा औषधोपचार, मालिस, फिजियोथेरापीबाट शरीर फेरि लगभग साविकको अवस्थामा आउन सक्ने सम्भावना धेरै हुन्छ। मुटु हुने बायाँ भागमा पक्षाघात भएमा त्यसबाट शरीर फेरि बौरिन सक्दैन। उहाँको हकमा यही कुरा लागू भयो।
हाम्रो परिवारले उहाँको उपचारका लागि गर्न सक्ने उपाय र साधन ज्यादै सीमित थिए। पक्षाघातको मारमा परेपछि उहाँलाई मेरा भाइहरूले दौडाएर लगे, धरान घोपा क्याम्पको अस्पतालमा। डाक्टरहरूले सीटी स्क्यान तत्काल गर्नू भने। त्यसका लागि चाहिने भयो चार हजार रुपियाँ। बाका पाँच छोरामध्ये हामी दुई जना काठमाडौंमा बस्दै र काम गर्दै आएका थियौं- म जेठा र साहिंला भाइ। धरानमै रहेका तीन भाइ छोरा कोही रोगले कोही कुलतले बिल्कुल निकम्मा र असमर्थ थिए केही गर्न। भन्ने बित्तिकै कहाँबाट जोहो गर्ने चार हजार रुपियाँ? अहिले जस्तो यहाँ ब्यांकमा जम्मा गरेर उता तत्काल नगद निकाल्न मिल्ने प्रविधि पनि आइसकेको थिएन। धरानका कसैसित नगद लेनदेन र सरसापट पनि गरेको थिइनँ मैले।
धन्न स्कूले साथी सुरेश सुब्बाले टेलिफोनबाट मैले गरेको अनुरोध बमोजिम त्यो रकम जोहो गरिदिए। रात्रिबसबाट भोलिपल्ट म पुगें धरान र बालाई भेट्न घोपा अस्पताल गएँ। मुढा जसरी अस्पतालको शय्यामा सुतिरहनुभएको बाको निरीह नजर ममाथि पर्यो। लर्बरिएको बोली र इशाराले शिर असाध्यै दुखिरहेको बताउनुभयो। मस्तिष्कमा रक्तस्राव भएकाले त्यस्तो हुनु स्वाभाविक थियो। उहाँको उपचारमा संलग्न डाक्टरलाई भेटें। यस्तो केसको तत्काल कुनै इलाज नभएको, आवश्यक औषधि दिइसकिएको र केही दिन पर्खेर हेर्नुपर्ने बताए उनले।
धरान पुगेदेखि नै मलाई घरपरिवारका र चिनजानका सबैले बालाई जतिसक्दो चाँडो सिलिगुडीमा डाक्टर चाङको निजी अस्पतालमा लगिहाल्नुपर्छ भनेर जोड दिइराखेका थिए। उसले यस्तो केस च्वाट्टै पार्छ भन्थे।
अर्को दिन डाक्टरलाई भेटेर बालाई सिलिगुडी लैजानेबारे सल्लाह मागें। तिनले अघिल्लो दिनकै कुरा दोहोर्याउँदै हामी त्यहाँ लैजानोस् भनेर सिफारिश गर्न सक्दैनौं, लैजाने भए बिरामीलाई डिस्चार्ज गरेर लैजानोस् भने।
टाउको जख्मी भएको बिरामीको खप्परको माथ्लो भागलाई कुनै ढक्कन झैं पर्लक्क खोलेर शल्यक्रिया गर्छन् र बिरामीलाई च्वाट्टै निको पार्छन् भन्ने ख्याति थियो डाक्टर चाङको।
ठूलो द्विविधामा परें। सिलिगुडी नलैजाने हो भने खर्चका कारण मैले त्यसो गर्न नचाहेको भन्नुपर्ने थियो। बिरामीको आशय लगिदेऊ भन्ने नै लाग्यो। आमाको भावना पनि त्यस्तै पाएँ। आखिर रोगबाट छिटो त्राण पाउन को चाहँदैन? दबाबमा अन्तत: मैले त्यस अज्ञात स्थलमा बालाई लैजाने निर्णय गरें।
चल्तीको देखिन्थ्यो डाक्टर चाङको अस्पताल। भवन भने साँघुरो र कुचुक्क थियो, अस्पताल हुन नसुहाउने। टाउको जख्मी भएको बिरामीको खप्परको माथ्लो भागलाई कुनै ढक्कन झैं पर्लक्क खोलेर शल्यक्रिया गर्छन् र बिरामीलाई च्वाट्टै निको पार्छन् भन्ने ख्याति थियो डाक्टर चाङको। तिनका सेवाग्राहीमा नेपालबाटै गएका बढ्ता देखिन्थे। मोटरसाइकल उडाएर खप्पर फुटाउने धरानका युवाहरू उपचारका लागि पुग्ने पहिलो ठाउँ डाक्टर चाङकै अस्पताल थियो। तिनको चमत्कारपूर्ण उपचारको ख्याति यति थियो कि धरान मात्र होइन सिङ्गो पूर्वाञ्चलमा डाक्टर चाङको बखान र सिफारिश नगर्ने औषधि दोकान शायदै कुनै थिए। उनको त्यही ख्यातिको आकर्षणबाट तानिएर त्यहाँ पुगेका थियौं हामी पनि।
बालाई भर्ना गरेपछि सोझै सघन उपचार कक्षमा राखियो। वेलावेला यस्तो औषधि चाहिएको भन्थे र अस्पतालकै पसलबाट किनेर दिन्थ्यौं। औषधिको परिमाण अत्यधिक हुन्थ्यो, डालोमै नअटाउने जस्तो। डाक्टर चाङको शल्यक्रिया गर्ने समय र शैली उदेकलाग्दो थियो। उनी राति नौ-दश बजेतिर अस्पताल आएर अपरेशन थिएटरमा पस्थे र बिहानको तीन-चार बजेतिर निस्कन्थे। फेरि मध्याह्नतिर उनी अस्पतालमा बिरामी जाँचिरहेका हुन्थे। हाम्रो हकमा बिरामीलाई घटीमा पनि पन्ध्र दिन राख्नुपर्ने बताए। कुर्नु बाहेक हामीसित उपाय थिएन।
डिस्चार्ज गर्ने भनिएको समय पनि आयो। चिनियाँ मूलका डाक्टर चाङ बहुभाषी र कुरा गर्न सिपालु थिए। उनले आधा नेपाली र आधा अंग्रेजीमा मलाई सम्झाए, जसको सार यस प्रकार थियो: ‘दाजु, अब बालाई घर लैजानोस्। उहाँको केस पेचिदा छ। ‘ह्यामोरेज’ ठूलो भएको हुँदा ‘ब्लड क्लट’ धेरै छ। सफा हुन टाइम लाग्छ। यो अपरेशनको केस होइन। दिएको दबाई खुवाइराख्नोस्। बिरामी जाँच्न महीनामा एक पटक धरान आउँछु। त्यस वेला मलाई भेट्नोस्।’
पन्ध्र दिनको बसाइमा खाना खान सक्ने जस्तो सामान्य सुधार बाहेक ठूलो सुधार देखिएन बिरामीमा। अपेक्षा अनुरूपको प्रतिफल नपाउँदा खिन्नता लाग्नु स्वाभाविक थियो। त्यसमाथि अस्पतालले देखाएको व्यापारिक प्रवृत्ति पनि चित्तबुझ्दो थिएन। बिरामी डिस्चार्ज हुने बखतमा सफाइ कर्मचारी, पाले, पियन साराले लाइन कसेर ढुक्कै बक्सिस मागेर हैरान पारे, मानौं हाम्रो बिरामी निको भएर घर फर्किरहेको थियो। डाक्टर चाङको ख्याति वास्तविकताभन्दा बढी निर्मित र सिर्जित भए जस्तो लाग्यो।
‘डाक्टर चाङसित कुनै जादुको छडी छैन। चाहिने नचाहिने हरेक रोगका लागि सिलिगुडी दौडिने गर्नु हुँदैन। हाम्रै देशमा त्यस्तो उपचार सम्भव छ।’
काठमाडौं फर्केर आफूले सम्पादन गर्ने द्वैमासिक हिमालको आफ्नो स्तम्भ ‘ऋतुविचार’ मा ‘चाङको छाङ’ भनेर आफूलाई लागेका कुरा लेखें। मेरो भनाइको सार थियो: ‘डाक्टर चाङसित कुनै जादुको छडी छैन। चाहिने नचाहिने हरेक रोगका लागि सिलिगुडी दौडिने गर्नु हुँदैन। हाम्रै देशमा त्यस्तो उपचार सम्भव छ।’ कालान्तरमा उनको न्यूरोसर्जनको डाक्टरी योग्यताबारे पनि प्रश्न उठाइएका समाचारहरू आएका थिए। त्यसपछि के भयो थाहा भएन।
अब बालाई काठमाडौं ल्याएर उपचार गराउने सल्लाह भयो। शुभेच्छुकहरूको सल्लाह र सहयोगमा नरदेवीको आयुर्वेद अस्पतालमा भर्ना गरियो। त्यहाँ औषधि दिने बाहेक अकुपन्चर गराउने व्यवस्था पनि थियो। उपचार चलिरहेको समयमा उहाँ आबद्ध पार्टी नेकपा (मानन्धर)को पहलमा सरकारबाट उपचारका लागि पचास हजारको सहयोग रकम पनि प्राप्त भयो। उपचारबाट बीसको उन्नाइस भएको महसूस त भयो तर अनन्तकालसम्म त्यहाँ बसिरहने कुरा आएन। डाक्टरको सल्लाहमा बालाई धरान नै फिर्ता लगियो।
रोगी र हामी परिवारका सदस्यले चाहे जस्तो रोग च्वाट्टै निको नहुने प्रस्ट थियो। यसका लागि औषधिका साथै स्याहारसुसार, खुराक, व्यायाम, फिजियोथेरापी चालू राख्नुपर्ने थियो लामो समयसम्म। कुनै यत्नले बाको जीवन नैया तैरिरहेको थियो, त्यस्तैमा अर्को अनपेक्षित आघात आइपर्यो। चौवन्न वर्षदेखि बाको जीवनसँगिनी, हाम्री आमा एकै दिनको व्यथाले बित्नुभयो, समयमा उपचार नपाएर। बाले आफ्नो जीवन नैयाको खेवनहार गुमाउनुभएको थियो। आमा बित्दा म विदेशी पदयात्रीहरूको गाइड बनेर पोखरा क्षेत्रमा थिएँ। सिजनमा यस्तो काम मैले निकै समयदेखि गर्दै आएको थिएँ। आमाको सदगतमा म सामेल हुन सकिनँ, त्यसको तीन दिनपछि मात्र धरान पुगें।
आमाको आकस्मिक मृत्युबाट परिवारलाई जति आघात परेको थियो त्यसभन्दा धेरै बढी परेको थियो निजी तवरमा बालाई। जुन दैनन्दिन काममा आमाले सघाइरहनुभएको थियो, त्यसका लागि बाले अब माहिली बुहारी र तिनका दुई छोरीमाथि आश्रित हुनुपर्ने भयो।
भोलिपल्ट म सिलिगुडी पुग्दा बाको शवलाई बागडोगराको टिचिङ हस्पिटलमा पोस्टमोर्टम गरेर मुर्दाघर पुर्याउने काम समेत भइसकेको थियो। खाटबाट लड्नाले कञ्चटनेर नीलडाम बसेको कारण बाको मृत्यु पुलिस केस भइसकेको रहेछ।
आमा बितेपछिका दिनहरू समय कटाउने मेलो मात्रै हुँदै आयो बाका लागि। तङ्ग्रिने सम्भावना शून्य बराबर थियो। आमा बितेको चार वर्षपछि बा पनि बित्नुभयो, विडम्बना! त्यही डाक्टर चाङको अस्पतालमा।
के गर्दा हो बा खाटबाट भुइँमा लड्नुभएछ र बेहोश हुनुभएछ। भाइहरूले दौडाएर लगेछन् सिलिगुडी- उनीहरूले जानेकै त्यही थियो। बिरामीलाई पुर्याइसकिएको छ भने त्यसमा मैले आपत्ति जनाउनुको कुनै अर्थ थिएन। म सिलिगुडी जाने तयारीमा थिएँ, उताबाट बा बित्नुभएको दु:खद समाचार आयो। भोलिपल्ट म सिलिगुडी पुग्दा बाको शवलाई बागडोगराको टिचिङ हस्पिटलमा पोस्टमोर्टम गरेर मुर्दाघर पुर्याउने काम समेत भइसकेको थियो। खाटबाट लड्नाले कञ्चटनेर नीलडाम बसेको कारण बाको मृत्यु पुलिस केस भइसकेको रहेछ। मिर्गौला झिक्न त्यो नाटक गरेका थिए वा साँच्चिकै त्यसको आवश्यकता थियो त्यो भन्न सकिएन। जे भए पनि उहाँको शव उधारिसकिएको थियो र त्यो सद्दे अवस्थामा थिएन। धन्न बंगाल पुलिसले त्यति झमेला गरेन।
एम्बुलेन्समा शव राखेर कान्छा काका, काहिंलो भाइ र म लाग्यौं धरानतिर। मंसीरको छोटो दिन थियो। भोकै प्यासै धरानको घरमा पुग्दा झमक्क साँझ परिसकेको थियो। पहिलेबाटै खबर गरिसकिएको हुनाले केही साथीभाइ र इष्टमित्र आँगनमा भेला भएका थिए। अन्त्येष्टिका लागि चतरा र मूलघाट दुई विकल्प थिए। तर मूलघाटमा आफ्नो सदगत होस् भन्ने बाको चाहना भएको बुझियो। धनकुटाबाट धरान झरेका सबै त्यही इच्छा राख्छन्।
समय माओवादी द्वन्द्वको थियो। सेनाको पूर्व स्वीकृति बेगर रातबिरात यात्रा गर्न पाइन्नथ्यो। स्वीकृति पाउन असम्भव नभए पनि कठिन थियो। स्वीकृति मिलिहाले पनि अँध्यारोमा अन्त्येष्टि गर्ने काम त्यति व्यावहारिक देखिएन। बिलखबन्दको स्थितिमा थियौं। धन्न घोपा अस्पतालमा कार्यरत विजय रिमाल भाइले अक्किल सुझाए- शवलाई त्यहाँको मुर्दाघरमा लगेर एक रात राख्ने। त्यही गरियो।
***
मेरा बा इन्द्रबहादुर थापा नब्बे सालको भुइँचालो आउनुभन्दा पाँच सालअघि जन्मनुभएको थियो, धनकुटाको डाँडागाउँमा। धनकुटा बजारदेखि धेरै टाढा छैन यो गाउँ। धेरै भयो धनकुटा नगरपालिकाको हिस्सा बनेको। उसवेला एउटा गाउँमा जन्मेर पनि बा अपठित हुनुहुन्थेन। कविता, गीत, कथा लेख्ने, नाटक खेल्ने, गाउने-बजाउने गर्नुहुन्थ्यो। पेन्सिल स्केच गर्ने उहाँको शोख थियो। बाजे त पूरा इलाकाकै नामुद मारुनी हुनुहुन्थ्यो’रे आफ्नो जमानामा।
बाले कहाँ, कहिले, कतिसम्म पढ्नुभएको थियो, यकीन थाहा छैन। गाउँकै उहाँका समवय रागमान एस्मालीले ‘त्यहीं गोकुन्डेश्वर स्कूलमा पढेको हो चार-पाँच क्लाससम्मु भनेको सुनेको हुँ। नब्बे सालको महाभूकम्पभन्दा एक वर्षअघि खुलेको त्यो स्कूल धनकुटा टुँडिखेल छेउमा अवस्थित छ, डाँडागाउँबाट झन्डै एक घन्टाको पैदल दूरीमा। पाखोबारीको भरमा निर्वाहमुखी जीवन चलाइरहेको निर्धन गाउँलेलाई केले अभिप्रेरित गर्यो होला छोरालाई स्कूल हाल्ने? हलो-कोदालो गर्ने बाहेक डाँडागाउँका वयस्क पुरूषहरूले अतिरिक्त आयआर्जनका लागि गर्ने भनेको सिकर्मी वा डकर्मी काम थियो। जस्तो, मेरै बाजे एक कुशल सिकर्मी हुनुहुन्थ्यो। छिमेकका अरू डकर्मी थिए।
मलाई अनौठो त बाजे पनि साक्षर भएकोमा लाग्छ। उहाँको पालामा त स्कूल पनि खुलेको थिएन। केही किताब थिए बाजेको सङ्कलनमा। तीमध्ये एउटा थियो, ठूला अक्षरमा छापिएको ‘तोता मैनाको किस्सा’। त्यो मैले आध्योपान्त पढेको छु। बाजेको लेखाइ थियो कुटलिपी जस्तो, पढ्नलाई निकै गाह्रो। त्यही अक्षरमा लेखेर पठाउनुहुन्थ्यो चिठी नयाँ मुलुकबाट। त्यहाँ लामो समयका लागि जानुहुन्थ्यो उहाँ। घर फर्कंदा ठूलो ढोलेकुम्लो बोकेर ल्याउनुहुन्थ्यो। उसवेला अरू किसिमको ब्याग बोक्ने चलन थिएन। उहाँको चश्मा गान्धीको जस्तो गोलो फ्रेमको थियो, पढ्ने वेला लगाउने। कमीज उहाँको अलिक छुट्टै प्रकारको थियो, पूरा बाहुलाको भए पनि कुहिना र कुमको बीच भागमा गाँसिएको देखिने गरी रिङ्गै फुर्को लाएर सिलाइएको। लखनउतिर त्यस्तै डिजाइनको कमीज सिलाइ हुन्थ्यो कि?
क्रान्तिपश्चात् मिल मजदूरबाट गाडी चलाउने ड्राइभर हुनुभयो र धेरै वर्ष चलाउनुभयो लरी, बस र धनीमानीका निजी गाडी समेत।
अनुमान गर्छु, सिकर्मीको सीपले बाजेलाई मुगाका थापाकाजीहरूसित नजिक्यायो होला। अनि तिनीहरूले उहाँलाई विश्वासी ठहर्याएर नयाँ मुलुकमा रहेको आफ्नो बिर्ता जग्गाको रेखदेख गर्न र त्यसको आयस्ता हेर्न पठाएका होलान्। त्यही सरसङ्गतले गर्दा छोरालाई स्कूल पढ्न पठाउने जाँगर चलेको हुनुपर्छ। राणाको सेनामा ले.सी. अर्थात् लेखक सिपाहीको जागीर खान चार-पाँच कक्षाको पढाइ नै पुग्दो थियो। बा लेसी हुनुभयो र त्यही पदमा रहँदै बिहे गर्नुभयो मेरी आमालाई। अनि म जन्मनुअघि नै गाउँ छाड्नुभयो, विराटनगर पुग्ने इरादाले। पाखोबारीको पैदावारले परिवारको बढ्दो आवश्यकतालाई नधान्ने देखेर उहाँले नौलो ठाउँमा तकदीर अजमाउने विचार गर्नुभएको थियो होला। जागीरमा उहाँबाट कुनै विराम भएको थियो रे र सजायको डरले उहाँ भागेको भन्ने पनि कसैबाट सुनेको थिएँ।
जे होस्, उहाँ विराटनगर रानीस्थित बबिन मिलमा मजदूर भई काम गर्दा सात सालको क्रान्ति हुन बाँकी नै थियो। बाले बताए अनुसार सात सालमा बडाहाकिम उत्तमशमशेरको निवास उपर हमला गर्ने दस्तामा उहाँ पनि सामेल हुनुभएको थियो। मणिपुरबाट आएका गोरमनी सिंह नामका मिस्त्रीले एउटा लरीलाई डोजर जस्तो बनाएका थिए रे। त्यो डोजर अघि अघि र हमलाबर दस्ता पछि पछि।
बडाहाकिमको निवासमा उचालिनसक्नु दुइटा बोरा फेला परेका र त्यसमा चाँदीको डबल हो वा सुनको असर्फी भएको उहाँ कहिलेकाहीं साथीभाइलाई सुनाउनुहुन्थ्यो। बोरा खोलेर त्यसभित्रका सामान हाल्ने न भाँडो थियो न त होश। क्रान्तिपश्चात् मिल मजदूरबाट गाडी चलाउने ड्राइभर हुनुभयो र धेरै वर्ष चलाउनुभयो लरी, बस र धनीमानीका निजी गाडी समेत।
क्रान्तिबाट राजनीतिको दीक्षा पाएका बा सर्वहाराको मुक्ति दिलाउने राजनीतिक बाटो समातेर विराटनगर हुँदै आठ सालदेखि नै कम्युनिस्ट पार्टीमा लागेको म अनुमान गर्छु। त्यसपछि त पक्राउ पूर्जी, गिरफ्तारी, भूमिगत, कारावास नै उहाँको जीवनचक्रको हिस्सा बन्यो। २००८ सालदेखि २०१२ सम्म त कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लागेको थियो। एकातिर गुजाराका लागि गाडी चलाउने र भित्रभित्रै पार्टीको काम गर्नु तरबारको धारमा हिंड्नु जत्तिकै थियो। उहाँ गाडी चालकबाट मजदूर युनियनको (त्यस समय ट्रेड युनियन शब्द प्रचलित थिएन) नेता र वामपन्थी राजनीतिको परिचालक बन्नुभएको थियो। नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनमा भाग लिन धरानबाट आएको प्रतिनिधिमण्डलमा उहाँ पनि सामेल हुनुहुन्थ्यो।
त्यसै छेक भारतको केरला राज्यमा इ एम एस नम्बुद्रिपादको नेतृत्वमा कम्युनिस्ट पार्टीको निर्वाचित सरकार बन्यो। मतदानबाट निर्वाचित हुने विश्वमै त्यो पहिलो कम्युनिस्ट सरकार थियो। त्यस घटनाबाट नेपालका कम्युनिस्टहरू निकै हौसिएका थिए। त्यसको अर्को साल नेपालमा महानिर्वाचन हुने भयो। धरान तेत्तीस नम्बर निर्वाचन क्षेत्रमा परेको थियो र कम्युनिस्ट पार्टीका उम्मेदवार थिए दिव्यराज आचार्य। चुनाव चिह्न थियो हँसिया र तीन घोगा मकै। बा र उहाँका कमरेडहरू निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन पूरै होमिनुभएको थियो।
राजा महेन्द्रको कदमका कारण कालान्तरमा कम्युनिस्ट पार्टी फुट्यो। केशरजंग रायमाझीले नेतृत्व गरेको समूहले संवैधानिक राजतन्त्र स्विकार्दै मुलुकभित्रै बसेर सुषुप्त रूपमा काम गर्ने धार समात्यो।
हामी फुच्चेहरू पनि पर्चा बाँड्दै हिंडेका थियौं। समग्रमा भोट राम्रै पाएको थियो पार्टीले तर १०८ सिटको संसद्मा जितेर पुगे कम्युनिस्ट पार्टीका केवल चार उम्मेदवार। २०१७ सालमा भएको धरान नगरपालिकाको पहिलो निर्वाचनमा भने कम्युनिस्ट पार्टीले नौ वडामध्ये आठ वडा जित्यो। केदारनाथ खनाल मेयर चुनिए, कृष्णप्रसाद श्रेष्ठ बी. ए. उपमेयर।
त्यसको केही समयपछि त राजा महेन्द्रले संसद् विघटन गरेर सत्ता आफ्नो हातमा लिइहाले। पार्टीमा लागेकाहरूको भागाभाग भयो। कोही लुके, कोही समातिए, कोही सीमापारि आश्रय लिन पुगे। बा पनि त्यस उथलपुथलबाट अछुतो हुनुभएन। राजा महेन्द्रको कदमका कारण कालान्तरमा कम्युनिस्ट पार्टी फुट्यो। केशरजंग रायमाझीले नेतृत्व गरेको समूहले संवैधानिक राजतन्त्र स्विकार्दै मुलुकभित्रै बसेर सुषुप्त रूपमा काम गर्ने धार समात्यो। उता भारत निर्वासनमा बसेका पुष्पलाल र तुलसीलालको समूहले भने राजतन्त्र विरुद्ध क्रान्ति गर्ने धार अख्तियार गर्यो। बाले रायमाझीको धार समात्नुभयो। रायमाझीले नेतृत्व गरेको पार्टीलाई पछि मास्कोपन्थी कम्युनिस्ट भनेर चिनिन्थ्यो।
रातदिन नभनी गाडी चलाउने कामले क्षयरोग अनिवार्य रूपमा निम्त्याउँछ भन्ने मान्यता थियो र त्यसलाई निकै कडा रोग मानिन्थ्यो उतिवेला। पेशागत धपेडी र राजनीतिगत सक्रियताले गर्दा नभन्दै बा त्यस खतरनाक रोगको शिकार हुनुभयो। तन्नम हालतमा रहेको हाम्रो परिवारसित बाको त्यस रोगसित जुध्ने क्षमता थिएन। उहाँ रोगले थलिएको वेला अनेक सङ्कट झेल्नुपर्यो। खसीको कलेजोले शक्ति वर्धन गर्ने हुनाले क्षयरोगको बिरामीका लागि त्यसको सेवन आवश्यक मानिन्थ्यो। म सम्झन्छु, चतरालाइन चोकका कमरेड भीम मास्केसित खसीको कलेजो किन्न दुई-तीन रुपियाँ सापट माग्न गएको। त्यो हालत थियो हाम्रो।
पछाडि फर्केर हेर्दा म देख्छु, उसवेला सर्वहारा मुक्तिको राजनीति अँगाल्नेहरूमा प्राय: सबै हुनेखाने साहुमहाजन र जमीनदार परिवारका थिए। कलकत्ता, बनारस, अलाहाबादमा पढेका र उतैबाट नयाँ राजनीतिक चेत बोकेर आएका। उच्च शिक्षा नपाएकाहरूमा पनि आर्थिक हालत निम्छरो भएका कोही थिएनन्। सबैको मधेशमा धेरथोर कुनै व्यापारिक कारोबार थियो, जहाँको आयस्ताले उनीहरूको जीवन आरामपूर्वक चलेको थियो।
उनीहरूका घरमा चामल र दलहनका बोरा गोरुगाडामा थारू कमतियाहरूले ल्याइदिन्थे। हाम्रो अन्नपातको स्रोत साप्ताहिक रूपमा लाग्ने हटिया थियो। उनीहरूको भान्सामा नुनिया बासमतीको भात पाक्थ्यो, हाम्रोमा धेरैजसो मकैको च्याख्ला वा ढिंडो, चामल भए पनि कि बगेडा कि उसिना। अर्थात् अरू थिए उच्च र मध्यवित्तीय तहका, हामी थियौं सर्वहारा मार्काका। आज खायो, भोलिका लागि सोच्नुपर्ने अवस्थाका।
घर-समाजका झैझमेला सल्टाउने, अशक्तलाई अस्पताल पुर्याउने, औषधोपचारको व्यवस्था मिलाइदिने, बेरोजगारलाई काम खोज्न सघाउने, केटाकेटीलाई स्कूल पढ्न लगाउने, निमुखाको हकमा पैरवी गरिदिने आदि कार्य जनमुखी राजनीतिकै एउटा अङ्ग मानिन्थ्यो उसवेला। झन् ‘कमनिस्ट’ भनेपछि गरीब दु:खीहरूको हकमा लड्ने, बोल्ने पार्टी भन्ने बुझाइ थियो। बा त्यस्ता काममा पनि दौडनुहुन्थ्यो। हाम्रो घरको दलान बिहान-बेलुका प्रायस् आगन्तुकहरूले खाली हुँदैनथ्यो। फिका चिया र सुर्ती बेह्रेको कागज तान्दै उहाँहरूको घन्टौं राजनीतिक विमर्श चल्थ्यो।
सर्वहाराको राजनीति सर्वहारा आफैंले अँगाल्नु कति आत्मघाती हुन्छ त्यो कटु यथार्थ आफ्नै परिवारको दयनीय अवस्थाबाट मैले अनुभूत गरेको छु।
शरीरले साथ नदिएपछि गाडी चलाउने पेशा छाड्नुभएका बा मोरङ मोटर सिन्डिकेटमा लाग्नुभयो। आफूखुशी चलिरहेका बसहरूलाई एकै ठाउँमा आबद्ध गरी धरान-विराटनगर रूटमा पालैपालो बस चलाउने सिन्डिकेट प्रणाली लागू गर्नु त्यसको काम थियो। बीच बीचमा उहाँ अरूसित मिलेर ट्रक वा बस भाडामा लिएर सञ्चालन पनि गर्नुहुन्थ्यो तर सधैं घाटामा पर्नुहुन्थ्यो। किनभने पैसा कमाउन जुन निर्ममता चाहिन्छ त्यो गुण उहाँमा थिएन।
सर्वहाराको राजनीति सर्वहारा आफैंले अँगाल्नु कति आत्मघाती हुन्छ त्यो कटु यथार्थ आफ्नै परिवारको दयनीय अवस्थाबाट मैले अनुभूत गरेको छु। आमाको हिम्मत, परिश्रम र आँट नहुँदो हो त बाको राजनीतिक संलग्नताले हाम्रो परिवारलाई पाटीको वास गराउने थियो।
यी यावत् साह्रोगाह्रो हुँदाहुँदै पनि यातायात मजदूर नेताको चिनारी बनेको थियो बाको। पञ्चायतकालका वर्गीय संगठनहरूमध्ये एउटा थियो नेपाल मजदूर संगठन। बा त्यसको केन्द्रीय समितिमा चुनिनुभएको थियो। त्यसैको नातो समातेर बा सोभियत संघ जानुभयो, त्यहाँको ट्रेड युनियनको निम्तामा। शिष्ट मण्डलमा सामेल हुनु त एउटा बहाना मात्रै थियो, खास उद्देश्य भने उहाँलाई लागेको क्षयरोगको इलाज गराउनु थियो। त्यसको चाँजोपाँजो उहाँ संलग्न रहेको रायमाझी पार्टीले गरिदिएको थियो। डेढ वर्षभन्दा बढी बसेर उहाँ पूर्ण स्वस्थ र क्षयरोगमुक्त भएर फर्कनुभयो।
बा सोभियत संघ गएकै बखत म आईएको जाँच दिन सहायता माग्न लाचारीवश काइला साहुकहाँ गएको थिएँ। उनी बिए कृष्णका पिता थिए। कुर्सीमा बसेका उनीसामु उभिएर मैले आर्थिक सहयोगका लागि मौखिक बिन्तीपत्र हाल्दै थिएँ। निरपेक्ष भावले मेरा कुरा सुनिसकेपछि उनले कमीजको दाहिने खल्तीमा हात हाले। त्यहाँबाट दुई रुपियाँ झिकेर मेरो हातमा राखिदिए।
उनी धरानकै धनाढ्य साहुमध्ये पर्थे। उनले मलाई सहयोग गर्नुपर्ने कुनै कारण थिएन। खालि उनका छोरा कृष्ण बिए मेरा बाको राजनीतिक मित्र भएको नाताले मात्र म उनीकहाँ याचना गर्न गएको थिएँ र त्यो सहयोग पाएको थिएँ। शायद एउटा कम्युनिस्ट मजदूर नेताको मूल्य त्यति नै थियो उनको नजरमा।
पुण्यप्रसाद आचार्य नभएका भए मैले विराटनगरमा गई आईएको जाँच दिन सक्ने थिइनँ र शायद मेरो शैक्षिक यात्रा त्यहीं टुङ्गिने थियो। उनैले फारम भर्न चाहिने रकम जोहो गरिदिए। उनैले विराटनगरमा बस्ने र खाने ठाउँको बन्दोबस्त मिलाइदिए। म ट्राफिक चोकनेरको बाजेको होटलमा दुई छाक भात खान्थें र बालकृष्ण पोखरेलको घरको भुइँ कोठामा भुइँमा सुत्थें। कोठामा भएको एउटा खाटमा हामीभन्दा सिनियर मोहनचन्द्र अधिकारी सुत्थे। उनी पनि जुटेका थिए बीएको जाँच दिने तयारीमा।
मैले कलेज पढ्दै भगवती मिडिल स्कूलमा पढाउँदा आर्जेको केही रकम र आमाले जोडजाम गरेको ऋण रकमबाट अमरहाट नजिकको जङ्गल जस्तो ठाउँमा केही जग्गा खरीद गरेका थियौं।
सोभियत संघबाट फर्केपछि बा फेरि उही पुरानो गाडीलाइन र सिन्डिकेटतिरै अल्झिरहनुभएको थियो। आराथुन बस कम्पनीले नयाँ र त्यस वेलाको सन्दर्भमा आधुनिक बसहरू लिएर आएका कारण साविकको सिन्डिकेट प्रणालीमा ठूलो परिवर्तन ल्याएको थियो। यसपछि अरू पनि संगठित भएर नयाँ बस कम्पनीहरू खोल्न थालेका थिए। बस यातायात व्यवसाय प्रतिस्पर्धात्मक बनिरहेको थियो। त्यसरी खुलेका कम्पनीहरूमा एउटा थियो मोरङ बस सर्भिस। सिन्डिकेट प्रणाली त थियो तर अब पहिलेका थोत्रा गाडीहरूलाई नयाँ बसहरूले विस्थापित गरेका थिए।
मोरङ बस सर्भिस बर्माबाट आएका नेपालीहरूको समूहले शुरू गरेको थियो। त्यसका सञ्चालकहरूले बालाई बोलाएरै कम्पनीमा सामेल गराएका थिए। बा त्यसमा काम गर्न थाल्नुभयो, कम्पनीको बाह्य मुहार बनेर। सडक दुर्घटना, मुआब्जा, यातायात मजदूरहरूबीच वा सिन्डिकेटभित्रको विवाद सबैमा कम्पनीको प्रतिनिधित्व गर्ने जिम्मेवारी बाको थियो। तर त्यतिन्जेल म काठमाडौं हानिइसकेको थिएँ पढ्न भनेर। त्यसपछि म यतै भासिएको भासियै भएँ। त्यस कम्पनीको नोकरीले उहाँलाई आफ्नो परिवारको जहाज चलाउन निकै भरथेग मिलेको थियो। जहाज पनि ठूलै थियो, ममुनि पाँच जना सन्तान थिए। त्यसमा वृद्ध मातापिता पनि थपिनुभएको थियो।
कुन समय र के कारणले त्यस कम्पनीमा उहाँको नोकरी टुङ्गियो त्यो मलाई थाहा भएन। त्यसपछि भने उहाँले स्वतन्त्र उद्यम गर्ने प्रयास गर्नुभयो, जस्तै- गाईपालन, कुखुरापालन, बंगुरपालन आदि। यी उपक्रममा उहाँलाई प्रवृत्त र प्रेरित गर्नेमा आनन्द थापा थिए, क्याप्टेन यज्ञबहादुर थापाका छोरा। उनी बाको पार्टीका कमरेड त थिएनन् तर सामाजिक र व्यावहारिक हिसाबका पक्का मित्र थिए उहाँको। जर्सी गाई खरीद गर्न उहाँहरू दुवै सँगै भारतको लुधियाना जानुभएको थियो।
मैले कलेज पढ्दै भगवती मिडिल स्कूलमा पढाउँदा आर्जेको केही रकम र आमाले जोडजाम गरेको ऋण रकमबाट अमरहाट नजिकको जङ्गल जस्तो ठाउँमा केही जग्गा खरीद गरेका थियौं। त्यो जमीन कृषि विकास ब्यांकमा राखेर ऋण निकाल्न काम आयो। त्यही जमीनमै बाले पशुपालनका उद्यम थाल्नुभयो, एकैचोटि होइन एकपछि अर्को। एउटा असफल भयो, अर्को शुरू गर्यो। त्यो असफल भयो, फेरि अर्को।
कुनै कारोबारमा सफल हुन मिहिनेत भएर मात्र पुग्दैन, तकदीरको साथ पनि चाहिन्छ। व्यापारिक सीप त शून्य नै थियो बाको, तकदीर पनि उहाँको विपरीत भइदियो। मेरो पदचिह्न अनुसरण गर्दै साहिंलो भाइ पनि काठमाडौं आइसकेको थियो र एउटी बहिनीको बिहे भइसकेको थियो। घरमा ‘म्यानपावर’ को हकमा अझै तीन छोरा थिए। आमा र माहिली बुहारीको स्त्री शक्ति पनि थियो।
बाले थालेको उद्यमका लागि चाहिने मानव संशाधन उपलब्ध थियो। तर एउटा छोरा मृगीको रोगी भइदियो, अर्को चाहिंको केही गर्यो कि कुम खुस्किरहने। शारीरिक रूपले सद्दे सानो छोरा ‘भित्ती’ पार्टीमा लागिदियो। मृगी भएको छोरालाई भेलोरमा उपचार गराउन बा जानुभएको थियो। कलकत्ताको हाउडा रेल स्टेशनबाट छोरा गायब! कस्तो फसाद पर्यो र कसरी त्यस महानगरको मानवसागरमा ऊ फेरि तीन दिनपछि फेला पर्यो, त्यसको किस्सा फिलिमको जस्तो छ।
समय र तकदीरले साथ नदिएकै भन्नुपर्छ बालाई। अनेक मिहिनेत र खटाइका बावजूद परिवारको गाडी उहाँले चाहे जसरी लिकमा हिंड्न सकेन।
भित्ती पार्टीमा लागेको छोराले त गर्नु गर्यो, परिवारलाई नै भित्तामा पुर्याइदियो। गाईको बेच्नुपर्ने दूध तनतनी पिइदिने, कुखुराको दशौं अन्डा खाइदिने, त्यतिले नपुगेर अन्डा कुम्ल्याएर लगिदिने। बोइलर कुखुरा पाल्यो त्यसलाई निमोठेर बेच्न लैजाने। अनि काम चाहिं सिन्को नभाँच्ने। यस्तो परिस्थितिमा व्यवसाय फस्टाउने कुरै आएन।
यसै वेलातिर आइदियो २०४५ सालको भुइँचालो। काँचो माटो र इँटले बनेको घर ध्वस्त भयो। त्यसैमा चेपिएर बेच्न ठिक्क भएको बोइलर कुखुराको पूरै लट सखाप भयो। चन्डीगढबाट ल्याएको गाईले पहिले राम्रै दूध दिइरहेकोमा पछि एकाएक दूधमा रगत देखिन थाल्यो। समय र तकदीरले साथ नदिएकै भन्नुपर्छ बालाई। अनेक मिहिनेत र खटाइका बावजूद परिवारको गाडी उहाँले चाहे जसरी लिकमा हिंड्न सकेन।
उता ब्यांकको ऋणको सावाँब्याज बढेकोबढ्यै। जान्नेले ऋण लिन जति चाहिने हो त्यति मात्रै जग्गा काटेर धितो राख्ने रहेछन्। बाले भने भएभरको पूरै जग्गा धितो राख्नुभएको थियो। त्यो लिलामीमा चढ्ने सुरसार भइरहेको थियो। यिनै कुराको चिन्ता र सन्तापले हुनुपर्छ, उहाँलाई पक्षाघातले शिकार बनाएको। पक्षाघात भएदेखि उहाँको मृत्यु हुँदासम्मको वृत्तान्त माथि बताइसकेको छु।
***
घोपा अस्पतालको शवगृहबाट उहाँको पार्थिव शरीर लिएर आएपछि हाम्रो घर-आँगनमा धरानका सबै घटकका कम्युनिस्टहरू उहाँलाई श्रद्धाञ्जली दिन भेला भए। बा आफैं भने पहिले रायमाझी पार्टीको केन्द्रीय समितिमा र पछि पार्टी फुटेर बनेको नेकपा (मानन्धर) केन्द्रीय समितिमा मृत्युपर्यन्त रहनुभएको थियो। हँसिया हथौडा सहितको रातो झन्डा उहाँको शवमाथि ओढाए। त्यो झन्डाले एउटा खास पार्टीको नभई सम्भवत: समग्र कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गरेको थियो।
धरानका पुराना कम्युनिस्ट नेता र बाको राजनीतिक सहकर्मी र सहधर्मी कृष्णप्रसाद श्रेष्ठ बीएले आफ्नो कमरेडको अवसानमा शब्दबाट श्रद्धाञ्जली दिनुका साथै दुई थोपा आँसु पनि चुहाउनुभयो। एमालेका नेता इन्द्र डंगोलले ‘कमरेड इन्द्रबहादुर थापा धरानका हामी सबै कम्युनिस्टका राजनीतिक बुबा हुनुहुन्थ्यो’ भनेर सम्मान प्रकट गरे।
त्यस अवसरमा अभिव्यक्ति दिने अरू एक-दुई जना पनि थिए। शोकको पर्दाले छोपिएको उसवेलाको मेरो मानसपटलमा तिनको नाम दर्ता हुन सकेन। बाको इच्छा मुताबिक नै हामीले उहाँको अन्त्येष्टि तमोर तटको मूलघाटमा सम्पन्न गर्यौं।
हिन्दी फिल्मका अभिनेतामा बालाई खूबै मन पर्ने बलराज साहनी थिए। फिल्ममा जहिल्यै दमित, उत्पीडित र निम्न वर्गका पात्रहरूको भूमिका निर्वाह गर्थे। उनले खेलेको दो बिघा जमीन बहुचर्चित, बहुप्रशंसित र बहुपुरस्कृत फिल्म थियो। कसो कसो बाले उनको चरित्रसित आफूलाई ढाल्नुभएको थियो भन्ने मलाई लाग्छ। कोटको दाहिने छातीमा खल्ती हम्मेसी कसैको हुँदैनथ्यो, त्यो पनि भित्रबाट नभई बाहिरबाटै टाँसिएको। त्यस्तो कोट बलराज साहनीले कुनै फिल्ममा लगाएका थिए। त्यस्तै खाले कोट बाले पनि कसरी हो लगाउन पुग्नुभएको थियो।
बलराज साहनीले इच्छाए अनुसार नै उनको शवमा हँसिया हथौडायुक्त लालझन्डा ओढाइएको थियो। त्यस्तो इच्छा बाको थियो/थिएन कुन्नि! तर संयोग त्यस्तै जुर्न पुग्यो, उहाँ पनि बलराज साहनी झैं लालझन्डा ओढेर महाप्रयाणमा जानुभयो। एक कर्मनिष्ठ, इमानदार, सच्चा कम्युनिस्टका रूपमा त्यस प्रकार झन्डा ओढ्न पाउने अधिकारको हकदार बा अवश्य हुनुहुन्थ्यो। उहाँको जीवन निरर्थक र निष्प्रयोजन थिएन भन्ने कुराको प्रमाण थियो त्यो।
तर आफ्नो राजनीतिक आस्था र विश्वासप्रतिको नि:स्वार्थ, एकनिष्ठ र अविचल समर्पणले उहाँको परिवार र सन्ततिको जीवनमा जुन कठिनाइ निम्त्यायो त्यो अकथनीय छ।
मेरो बाको कष्टकर जीवनले भन्छ, एउटा सच्चा कम्युनिस्ट भएर बाँच्नु कति गाह्रो थियो। मेरो आफ्नै हुर्काइको अनुभवले पनि भन्छ, कम्युनिस्टको छोरा भएर बाँच्नु झन् गाह्रो थियो।
हिमाल दशैं साहित्यका थप सामग्री: