दशैंमा त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षको अवधिमा यो दशैंमा सबैभन्दा बढी उडान भएका छन्।
दशैं तथा पर्यटकीय यामले गर्दा विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान बढेको हो। त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। सामान्यतया दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ सम्म उडान तथा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार घटस्थापनायता दैनिक उडान मार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन्। असोज २९ गते अन्तर्राष्ट्रियतर्फ ११३ उडान भएका थिए। जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो। गत असोज ३० गते ११० र कात्तिक १ देखि २ गतेसम्म दैनिक ११० वटा अन्तर्राष्ट्रिय उडान भएका छन्।
“विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो। चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा चाप बढिरहेको छ,” विमानस्थलका महाप्रबन्धक तिवारीले भने।
अन्तर्राष्ट्रिय उडानतर्फ ‘विन्टर सिजन’ का लागि बढी उडानको माग छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपाली सहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० उडान मार्फत करीब १४ हजार यात्रुले सेवा लिइरहेका छन्। महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी झन्डै ५०० उडान भइरहेको बताए। उनले भने, “दैनिक ५०० हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन्।”
विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए। उक्त दिन बुद्ध एअरले मात्रै आठ हजार ९०० यात्रुलाई सेवा दिएको थियो। त्यही दिन यती एअरलाइन्सले दुई हजार ६५१, श्री एअरलाइन्सले एक हजार ८३९ र सौर्य एअरले ३४० यात्रुलाई सेवा दिएको थियो।
नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन्। दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा माग बढिरहेको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ।
कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड-१९ पछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु संख्या बढिरहेको विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाई मैदानका रूपमा प्रयोग गर्न सन् १९४९ बाट शुरू गरिएको थियो। पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको थियो।
त्यस्तै, पहिलो पटक २० फेब्रुअरी १९५० मा हिमालयन एभिएशनको डाकोटा विमानले कोलकाता उडान भरेको थियो। तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उक्त विमानस्थलको उद्घाटन गरेका थिए। सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामकरण भएको थियो।
यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ-७०७ पहिलो जेटविमानको रूपमा अवतरण गरेको थियो। विमानस्थलको व्यापारिक प्रयोग सन् १९७२ बाट शुरू भएको हो। -रासस