काठमाडौंसित (कविता)
आँखाभित्र लिई अनेक सपना खाल्टो पसेको थिएँ,
सारा स्वप्नहरू जले दनदनी त्यै अग्निमा पिल्सिएँ।
मेरो लक्ष्य थियो हिमालय छुने खुम्चेर सानो भयो,
हाँसो हर्ष उमङ्गको प्रिय कथा धेरै पुरानो भयो।।
टाढा भाग्दछ आउँदैन कहिल्यै मुस्कान आफूतिर,
बेच्नैपर्दछ दालभातडुकुमा यो स्वाभिमानी शिर।
गोडामा पनि शक्ति छैन सकियो बेकारको दौडले,
सासै फेर्न हुँदैन फुर्सद यहाँ स्वेच्छा र सन्तोषले॥
इच्छाका दरबार जे-जति थिए गर्ल्याम्म सारा ढले,
जाऊँ दूर भने समाउँछ कुनै अज्ञात सम्मोहले।
जे देखे पनि ढुक्क फुल्छ मुटु यो भैहाल्छ आतङ्कित,
आफ्नै हालत सोध्नुपर्दछ कतै भेटेर आफैंसित॥
आँखामा पनि छैन दृष्टि गहिरो धूलो धुवाँले लग्यो,
आयो भेल विषादको हृदयको आनन्द सारा बग्यो।
कालो मेघ भविष्यको गगनमा गर्जिन्छ बेजोडले,
कस्तो दौड जिताउला शहरको यो व्यर्थको होडले?
उड्ने चाह छ किन्तु छैन बलियो मेरो पखेटा अब,
के को दौडिन सक्दथें समरमा चल्दैन गोडा जब।
थाकेको छु तथापि छैन कहिल्यै आरामको साइत,
मैले लड्नु छ जिन्दगीभरि अझै यो काठमाडौंसित।।
हिमाल दशैं साहित्यका थप सामग्री: