बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।
सप्तरी घर भई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादव १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए।
किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।
मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो ।
प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।
किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् ।
यादवले यसअघि जङ्गलमै घाँस काट्न गएका वेला २ साउनमा पनि उनै किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।
डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो ।
घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।