नछोइने बतास (कथा)
‘छिटो भगाएर लैजाऊ बाहुन’ भनेर गनगन गरिराख्थी। तर म भगाउने सुरमा थिइनँ। म उपाध्याय बाहुनको छोरो पो! कसैले भनिदेला- जमाना कहाँ पुगिसक्यो, तँ जातमा अड्केर बस्छस्?
नाम बिमली मगर। उमेर बाइस वर्ष।
मैले राख्न पाए त्यसको नाम राखिदिन्थें- बतास। बतास मगर। अँ, खुब सुहाउँछ बिमली तँलाई यो नाम। तँ यसरी छोइन्छस्, जसरी मौन बतासले छुन्छ। हुन त हुरी पनि बतासकै अर्काे रूप हो। आँधीलाई पनि बतासकै रूप मान्दा हुन्छ।
म सुरज शर्मा। बाको गाई फर्म छ। फर्म नजिकै बिमलीको बाको घर छ। त्यो बिहान बिहानै बाहुन बाजे भन्दै दूध लिन आउँथी। बालाई बिमलीको ‘बाजे’ सम्बोधन फिटिक्कै मन पर्दैनथ्यो। तर त्यसलाई बाजे भन्ने रहर कहिल्यै पुगेन।
त्योसँग मेरो प्रेम थिएन। अँ, प्रेम। ‘छिटो भगाएर लैजाऊ बाहुन’ भनेर गनगन गरिराख्थी। तर म भगाउने सुरमा थिइनँ। म उपाध्याय बाहुनको छोरो पो! कसैले भनिदेला- जमाना कहाँ पुगिसक्यो, तँ जातमा अड्केर बस्छस्? फेरि भन्नुहोला, जात र धर्मको सानो जालो काट्न नसक्नेले पनि के सम्बन्ध जोड्नु?
मैले मगर्नी भगाउने आँट गर्न नसकेको होइन, नचाहेको हो। हो बतास, तेरा लागि मैले बा र बाको गाई फार्म छोड्न सकिनँ। तँलाई म पत्नी र प्रेमिकाका रूपमा कहिल्यै स्विकार्दिनँ भनेर होला, तँ पनि खाइलाग्दो मगरको साथ लागेर गइस्। तँ गएपछि मैले पनि बाहुनी रोजेर भनें- यत्तिको केटीसँग म जिन्दगी काट्न सक्छु बा!
म वचनको पक्का। मैले बिमलीसँग भनेको थिएँ- तँसँग बिहे गर्दिनँ। बासँग पनि भनेको थिएँ- बिमलीसँग बिहे गर्दिनँ।
बिहेपछि म पछाडि फर्किनँ। बिमली पनि फर्किन। तर अचानक ६ महीनापछि त्यो ‘बाहुन बाजे’ भन्दै आइपुगी। म दूध पुर्याउन बजार जान लाग्दै थिएँ। मेरी श्रीमती र बाले बिमलीलाई आँखा तरे। मैले भने अपलक हेरिरहें। त्यो त दुई जिउकी भइछे। भरिला हातगोडा झनै भरिला भएछन्। पेट पुट्ट उचालिएको। ओठमा मलिन मुस्कान। आँखामा उस्तै चञ्चलता।
“बाहुन, देखेनौ? म आमा बन्दै छु।”
म किञ्चित् मुस्कुराएँ। म विना एक पाइला सार्न नपरे हुन्थ्यो जस्तो गर्थी, ६ महीनामै अर्कैको नासो गर्भमा लिएर भन्छे, म आमा बन्दै छु। बेसरम केटी!
“बाहुन, तिमी मलाई कहिल्यै जित्न सक्दैनौ।”
पेट मुसार्दै त्यो मुस्कुराई। मलाई पहिलो पटक नराम्री लागी ऊ। छिः कति दुच्छर स्वभाव यसको! यसले जानीजानी मलाई चोट पुर्याउन उचालिएको पेट देखाउन आएकी हो।
‘सुरज बाहुन’ भन्दै रो न। आइज न, तँ घेरे जस्तो गर् म भागे जस्तो गर्छु। प्रेम विनाको सम्बन्ध पनि कति मीठो थियो नि हैन र?
ओइ मगर्नी, मलाई कहिल्यै जित्न सक्दैनौ भनेर तैंले के भन्न खोजेकी होस्? म तँलाई जित्न सक्छु। नपत्याए हेर्, तँ विना पनि मेरो जिन्दगी चलेको छ। श्रीमती छे साथमा। तँसँग को छ? तँ त लोग्ने छोडेर माइतमा बसेकी छस्।
“मेरी श्रीमती पनि ब्याउनी छ बुझिस्?” दाह्रा किटेर मैले भनें।
बिमली ङिच्च हाँसी। अर्थात् मेरो कुरा त्यसको मर्ममै पर्यो।
देखिस् बतास? दुखाउन मलाई पनि आउँछ। तँ पनि दुखिस् नि मेरी श्रीमती गर्भवती भएको सुनेर।
आमा बन्दै छु भनेर सुनाएकै दिनदेखि बिमली हाम्रो घरभन्दा दुई घर परको घरमा भाडामा बस्न थाली। दूध लिन दैनिक हामीकहाँ आउँथी। दूध लिएर बिमली गएपछि बा गनगन गर्नुहुन्थ्यो, “यो मगर्नीले कहिल्यै हजुरबा भन्न जानिन। धन्न तँ यसबाट जोगिइस्।”
मलाई जोगिन मन थिएन। बिमलीबाट जोगिन मन थिएन। म भागे जस्तो, बिमलीले घेरे जस्तो गर्दै अन्त्यमा एक हुने खेल कम्ता मज्जाको थिएन। बतास, तँ छड्किइस्। आजकल तेरो यो सामान्य व्यवहार पटक्कै मन परेको छैन। ‘सुरज बाहुन’ भन्दै रो न। आइज न, तँ घेरे जस्तो गर् म भागे जस्तो गर्छु। प्रेम विनाको सम्बन्ध पनि कति मीठो थियो नि हैन र?
तीन महीनापछि बतासले छोरो पाई।
“हजुरको एक्सले त छोरो पाइछ नि!”
श्रीमतीले यसो भनेर खबर ल्याएको मलाई मन परेन। झर्केर भनिदिएँ, “अर्काको कति चासो परेको तिमीलाई? अब चार महीनामा तिमीले पनि पाइहाल्छौ नि।”
उनले रिसाएर आँखा तरिन्।
रातभरि निद्रा लाग्दैनथ्यो। श्रीमती सुत्केरी हुने वेला भइसकेको थियो। फार्मबाट राम्रै आम्दानी हुन्थ्यो। जागीर खान छोडेर खेतीकिसानीमै रमाएको देखेर बा खुशी हुनुहुन्थ्यो। तर म खुशी थिइनँ। बिहान उठेदेखि नसुतेसम्म कति पेलिनु त्यही खेतबारी र फार्ममा? सँगै पढेकाहरू कति सरकारी सेवामा प्रवेश गरिसके। कति अस्टे«लिया, अमेरिका पुगिसके। मेरो प्रगति के छ? प्रगति भनेको त्यही बच्चाको बा बन्दै छु। त्यो त उमेर पुगेका स्वस्थ जोसुकै लोग्नेमान्छे बनिहाल्छ।
बिमलीको छोरी जन्मेको पन्ध्र दिनपछि श्रीमतीले भनिन्, “हजुरकी एक्सको बूढाले त सम्बन्धविच्छेद गर्छु भन्दै हिंड्छ रे त।”
‘हामीलाई छोडेर कतै पनि नजा है बाबु’ भनेर बाले नभन्नुभएको भए म पनि उहिल्यै उडिसक्थें। कुवाको भ्यागुता बनेर बस्न कसलाई रहर हुन्छ र? मलाई पनि पखेटा हालेर उड्न मन छ। उड्दै उड्दै गएर भेटाउन मन छ कहिल्यै नहराउने खुशी।
बिमलीको छोरी जन्मेको पन्ध्र दिनपछि श्रीमतीले भनिन्, “हजुरकी एक्सको बूढाले त सम्बन्धविच्छेद गर्छु भन्दै हिंड्छ रे त।”
हँ, के सुन्दै छु? सुत्केरी श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपर्ने के कारण होला? बिहे गरेको वर्ष दिन नपुग्दै कुन चाहिं श्रीमान्-श्रीमती अलग हुन चाहन्छन्? उनीहरूको त भर्खरै मात्र बच्चा जन्मिएको छ। के म मेरी श्रीमतीलाई छोड्नेबारे सोच्न सक्छु? सक्दिनँ, मलाई हुनेवाला बच्चाको माया छ। श्रीमतीसँग माया नै नभए पनि सम्बन्ध चलिरहेकै छ। कुनै कुनै सम्बन्धहरू मायाले भन्दा पनि समझदारी र सम्झौतामा चल्ने रहेछ।
मैले भनें, “बिमली मेरो एक्स हैन बुझ्यौ? ऊ मेरी पे्रमिका थिइन।”
श्रीमतीले नपत्याए झैं ओठ लेप्य्राइन्।
खै किन हो, बिमली हाम्रोमा दूध लिन आउन छोडी। एकाएक ऊ डेराबाटै गायब भइछ। परिवारले खोजी गरेछन्। एउटै पनि सामान लगेकी थिइन। खोल्साखाल्सी, नदी छेउछाउ खोजी भयो। पासो पो लगाई कि भनेर जङ्गलतिर खोजी भयो। धेरैले अड्कल लगाए, नदीमा हामफालेर मरी भनेर।
बिमली त्यति काँतर छैन। त्यसले आत्महत्या गर्न सक्दिन। तर कहाँ गइस् बतास? तँलाई कसले भन्यो समस्यादेखि भाग्न? मलाई त खुब जित्न खोज्थिस्, तेरो लोग्नेलाई जितेर बस्न सकिनस्? कहाँ गइस् सुुटुक्क? तँलाई थाहा थियो, म तँसँग कहिल्यै बिहे गर्दिनँ। मैले शुरूमै भनेको थिएँ, तेरो र मेरो सम्बन्ध साथ रहँदासम्मका लागि मात्र हो। तँसँग मेरो कहिल्यै प्रेम भएन। भएको भए पनि तँ बतासलाई झेल्न कम्ता मुश्किल हुँदैनथ्यो।
पाँच वर्ष बिते। बतास हराएको हरायै भई। हुन त हराएको भए बरु भेटिन्थी होला हराउन चाहनेलाई खोजेर कहाँ भेटिनु?
जिम्मेवारीहरू बढेका थिए। फार्म, खेती, घरव्यवहार सबै आफैं हेर्नुपर्थ्याे। बाहिरबाट हेर्दा राम्रै चलेको थियो तर मलाई किन किन घर फर्कन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। घरमा बा, श्रीमती र छोरा बाटो हेरिरहेका हुन्थे। मलाई भने रातभरि हिंडिरहूँ जस्तो लाग्थ्यो। तर मसँग हिंड्ने कोही थिएन। श्रीमतीलाई रात परेपछि घर बाहिर घुम्न, कतै एकान्तमा गएर समय बिताउन मन पर्दैनथ्यो। बतास भएकी भए भन्थी, “ए सुरज, हेर त कति राम्रो जून लागेको छ। हिंड न जाम्, रातभरि कतै गएर बसम्।”
कहाँ कति हन्डर खाँदै होली ऊ। सानी नानी च्यापेर कहाँ पुगी होला? ऊ छलछाम जान्दिन, हरेक पाइलामा सोझोपनको फाइदा उठाउँछन् यहाँ। कति धिक्कार्दै होली त्यसले आफ्नो भाग्य र लोग्नेलाई? कति गाली गर्दी हो मलाई? हाम्रो सम्बन्ध मात्र प्यास र पानीको थियो भन्ने बुझेकी भए त्यसलाई पनि कति सजिलो हुने थियो। मैले बिहे गर्छु भनेर कहिले पनि वाचा गरिनँ। बिमलीसँग सम्बन्ध जोडिनुअघि नै स्पष्ट थिएँ, म बिहे गर्दिनँ भनेर। उसलाई पनि थाहा थियो यो कुरा, तर बारम्बार किन भनिरहन्थी, मसँग बिहे गर भनेर?
पाँच वर्ष बिते। बतास हराएको हरायै भई। हुन त हराएको भए बरु भेटिन्थी होला हराउन चाहनेलाई खोजेर कहाँ भेटिनु?
मैले पनि बिमलीलाई भगाउनेबारे किन सोचिनँ? प्रेम थिएन तर ऊसँग उठबस गर्न मन पर्थ्याे। कलेज बंक गरेर सुटुक्क भेट्न, कतै रात बिताउन कम्ता मन पर्थेन। त्योसँग बिहे गरेको भए त्यो अन्त पोइल जाने थिइन र यसरी मन नपरेको लोग्ने छोडेर बेखबर बस्ने थिइन।
कति अल्झिबस्नु यो फार्म र खेतीपातीमा? किन घरगृहस्थी शुरू गरें? किन बनाएँ श्रीमतीलाई गर्भवती? मैले पनि घरबाट पर गएर जागीर खाए हुन्न? के छ यो घरमा त्यस्तो छोड्नै नसक्ने? किन बढिरहेछ बतासको सम्झना झन् झन्? किन भन्न मन लागिरहेछ, आइज न बतास तँ र म फेरि बेनामे सम्बन्ध कायम गरौं। बा, श्रीमती र आफ्नै छोरासँग किन झन् झन् टाढिंदै छु। किन भुल्दै छु छोरा, श्रीमान् र बाउ हुनुको कर्तव्य?
ए बतास, सुरज किन बिरक्तिंदै छ यसरी? तँ बरालिएर कहाँ पुगिस्? के तैंले हाम्रो सम्बन्धबारे आफ्नो लोग्नेसँग भनेकी थिइस्? त्यसैले उनले तँसँग सम्बन्धविच्छेद गर्ने कुरा गर्दै थिए? जहाँ पुगेकी छस्, फर्केर आइज बतास।
रातभरि सोच्थें, दिनभरि काममा व्यस्त हुन्थें। शरीरमा पहिले जस्तो स्फूर्ति थिएन। फार्म र खेतीपातीबाट राम्रो आम्दानी हुन छाडेको थियो। सहकारीमा दैनिक किस्ता बुझाउन पनि नसक्ने स्थितिमा पुगेको थिएँ। यस्तोमा हात बाँधेर बस्न मिलेन। कर्जाका लागि केही ब्यांकमा बुझें तर ऋण लिन सजिलो थिएन। फार्म विस्तार गर्न पैसा जरुरी थियो। त्यसैले कृषि विकास ब्यांक पुगें तर अचम्म! म्यानेजरको कुर्सीमा बतास भेटिई।
पोटिला गाला केही सुकेछन्। यद्यपि ओठमा उस्तै मुस्कान र आँखा उस्तै चञ्चल देखें। पहिलेभन्दा झन् आकर्षक देखिई।
“ओइ बाहुन, किन आयौ?”
बाहुन? त्यही पुरानो बिमलीको झल्को दिने सम्बोधन। पटक्कै मन परेन।
“म्याम, म कर्जाका लागि आएको थिएँ।”
म अलि हिचकिचाउँदै बोलें। म्याम शब्द सुनेर बिमलीको अनुहारको भाव बदलियो।
“किन चाहियो तिमीलाई कर्जा? फार्म त राम्रै चलिरा’छ हैन?”
मैले आफ्नो बेलीबिस्तार लगाएँ।
एक सातापछि फोन आयो म्यानेजरको। कर्जा पास भएछ।
व्यवसाय फेरि शुरू भयो। म पहिलेभन्दा दोब्बर मिहिनेतका साथ फार्म र खेतीमा लागें। तर रात मुश्किलले घर्किन्थ्यो। किन हो कुन्नि, श्रीमतीले अलग बिछ्यौना लगाएर सुत्न थालेकी थिइन्। उनी शायद यो सम्झौताको सम्बन्ध निर्वाह गर्दागर्दै थाक्न थालेकी थिइन्। सुरजले प्रेम गर्न जान्दैन, रिसाउँदा मायाले फकाएर अँगाल्दैन। जति वेला पनि खेत र फार्ममा घोटिइरहन्छ। प्रेम विनाको सम्बन्धमा कर्तव्य निर्वाह गरिरहँदा उनलाई पनि दिक्क लाग्दो हो नि।
निस्तब्ध रातमा निद्रालाई फकाइरहेको थिएँ। फोन आयो बतासको।
“ओइ बाहुन, फार्म कस्तो चलिराछ?” यति भनिसकेपछि खित्तित्त हाँसो सुनियो। अहो! परिचित हाँसो।
“बाहुन, तल बाटोमा ओर्ल त।”
कानमा मोबाइल टाँसेर हेरिरहें। फेरि खितित्त हाँस्दै बोली सुनियो, “भयो पर्दैन बाहिर नहेर। म त्यहाँ छैन। तर देख्यौ बाहुन, तिमी आज पनि त्यहीं छौ। जहाँ मैले छोडेर गएकी थिएँ।”
अचम्म! यो राति हाम्रो घरनेरको बाटोमा के गर्दै छे बतास? नपत्याएर झ्यालबाट बाहिर हेरें। नभन्दै मोबाइलको लाइट पिलपिल बलिरहेको थियो। कानमा मोबाइल टाँसेर हेरिरहें। फेरि खितित्त हाँस्दै बोली सुनियो, “भयो पर्दैन बाहिर नहेर। म त्यहाँ छैन। तर देख्यौ बाहुन, तिमी आज पनि त्यहीं छौ। जहाँ मैले छोडेर गएकी थिएँ।”
हो त, म त्यहीं छु जहाँ बिमली जाँदा थिएँ।
“ओइ बाहुन, बोल्दैनौ तिमी?”
बोल्न र भन्न त धेरै छन्। तर भन्नु के? बिमली हेर् त, म साँच्चै यहीं छु भन्नु? तँ पो केबाट के भइस्! तँलाई बाहुनको घरगृहस्थी सम्हालेर, धेरै छोराछोरीले घेरिएर बस्न मन थियो। तँ प्रेम र सम्बन्ध बाहेक दायाँ-बायाँ सोच्दिनथस्। तँलाई जागीर खान मन पर्दैनथ्यो। तर आज ब्यांकको म्यानेजर बनेकी छेस्। तँलाई त घर सजाउनु थियो, प्रेम र सद्भावले।
“बाहुन बाजे,” सुस्तरी भनेर त्यो एकछिन चूप लागी। त्यो मौनताको बीचमा मेरो मुटु कम्तीमा हजार चोटि त धड्कियो होला। यो कस्तो सपना जस्तो स्थिति? बिमली अर्थात् बतास मसँग कुरा गरिरहेकी छे।
“कता हरायौ? भेट्ने हैन त भोलि शनिबार?”
एकै सासमा ‘हुन्छ’ भनिदिएँ।
भोलिपल्ट दिउँसो एक बजेतिर खूब ठाँटिएर बतासलाई भेट्न गएँ। त्यो त पहिलेभन्दा झन् चिल्लो र राम्री भइछ। अगाडि कृषि विकास ब्यांकको म्यानेजर छ या बतास? पहिले जस्तो ‘ए बतास’ भन्दै धाप मार्नु कि नमस्ते गर्नु?
“ए बाहुन, के भइराछ तिमीलाई? किन मसित राम्ररी नबोलेको अस्ति?” मलाई देख्ने बित्तिकै उही पुरानो पारामा भनी।
उसको प्रश्नको जवाफमा भनिनँ- अचेल विना काम टाउको झुकाइराख्छु। मलाई कसैको आँखामा पनि सीधा हेर्न मन पर्दैन।
“छ्याः कस्तो दुब्लाको तिमी त। बाहुनको घरमा अनिकाल लाग्यो कि क्या हो?”
यसो भन्दै नजिक आई। उही परिचित गन्ध। मलाई अझै पनि बतासको गन्ध याद छ।
हत्तेरिका किन मात्तिएको म यसरी? भन्न सक्दिनँ- ए बतास अलि पर जा! तेरो गन्धले म मात्तिंदै छु।
तर बतास त बतास हो, नछोई बस्छ कहाँ? बसी छेउमा ढेस्सिंदै। म अलि पर सरें।
“छ्याः कस्तो डराए जस्तो अनुहार! मेरो आँखामा सीधा हेर न। मैले छोडेपछि तिमी त खत्तम भएछौ।”
म हाँसें। मलाई हेरेर ऊ झन् हाँस्न थाली।
“भयो भयो, नहाँस। तिमीलाई त्यै रुन्चे अनुहार सुहाउँछ।”
यो व्यङ्ग्य हो कि उपहास? पटक्कै मन परेन। अब त त्यो ब्यांकको म्यानेजर बनेकी छे। उसलाई सस्तो प्रतिक्रिया जनाउन सुहाउँदैन।
“सुरज, फेरि के सोच्न लाग्यौ?”
म फिस्स हाँसें। शायद विरूप देखिएँ।
“सुरज, तिमीलाई मुस्कुराएको पनि सुहाएन,” यसो भन्दै एकदमै नजिकै आई। त्यसको गन्धले फेरि मत्यायो मलाई। यसरी कसैको गन्ध र सामीप्यले नमातेको धेरै भएको थियो। जो धेरै पछाडि छुटिसक्यो, उसको गन्धले किन मताउँछ यसरी?
कफी पिएर छुट्यौं। साँझ घर पुग्दा श्रीमतीले आँखा तरिन्। बाले नदेखे झैं गर्नुभयो। छोरो खुर्र दगुरेर भित्र गयो।
मात्नु त मात्नु श्रीमतीको गन्धले मात्नु नि! श्रीमती मदेखि झन् झन् टाढा हुँदै छिन्। छोरो मसँग जहिल्यै तर्किन्छ। बा पनि उस्तो कुरा गर्नुहुन्न। हिजोआज म आफ्नैदेखि झन् झन् टाढिंदै छु तर बिमलीको सामीप्य किन मन परेको मलाई? म त विवाहित मान्छे, मात्न हुन्न अर्काकी श्रीमतीको सामीप्यले। हिजो ऊसँग प्रेम छैन भनेर तर्किएको मान्छे म। आज के हुँदै छ?
कफी पिएर छुट्यौं। साँझ घर पुग्दा श्रीमतीले आँखा तरिन्। बाले नदेखे झैं गर्नुभयो। छोरो खुर्र दगुरेर भित्र गयो। हाय! मेरा आफ्नाहरू। यिनलाई म दुःख गरेर खुवाउँछु, पिलाउँछु तर यिनले कस्तो रूखो व्यवहार देखाउँछन्। ए बतास! हेर् त यो बाहुनको हालत। तँ भएकी भए यो घरको माहोल नै अर्कै हुन्थ्यो शायद।
बताससँग दिनदिनै कुरा हुन्थ्यो। भेटघाट पनि भइरहन्थ्यो। त्यसलाई मसँग किन रिस उठ्दैनथ्यो कुन्नि? जहिल्यै मुस्कुराउँथी। ऊ मसँग रिसाउनुपर्ने। जिन्दगीभर नबोल्नुपर्ने। मैले उसको प्रेमलाई कहिल्यै गम्भीर रूपमा लिइनँ। त्यस वेला म त्यस्तै थिएँ। अहिले ऊ मसँग भएकी भए, ‘मसँग बिहे गर न बाहुन’ भन्दै लाडिएकी भए म भन्ने थिएँ, “हुन्छ बतास हुन्छ। हामी घरगृहस्थी शुरू गर्नेछौं। हाम्रा बच्चा हुनेछन्।”
हो, मलाई रहर छ उही पुरानो बतासको। जो एकान्त पाउने बित्तिकै अँगालोमा बेरिन आउँथी। आ न बतास, बतासिएर आ। ‘बाहुन बाजे, सुरजे खोइ’ भन्दै बालाई चिढ्याउन आ। बा चिढिंदा तँलाई खूब मजा लाग्थ्यो। तँ पनि अर्कालाई सताउन पाउँदा खुशी हुन्थिस्। ए बतास, आ न तँ र म मिलेर बालाई अझै चिढ्याऔं।
म बहाना बनाएर ब्यांक गइरहन्थें। तर बिमलीलाई सीधा आँखाले हेर्ने आँट ममा कहिल्यै आएन। उसलाई देखेपछि आत्मविश्वास खर्लप्पै ढल्छ किन? त्योसँग अन्तरङ्ग सम्बन्ध थियो, अहिले एक्कासि के भयो? पाँच वर्षपछि फर्किएकी बिमली मलाई किन अर्कै लाग्छे? ऊ पहिले जस्तै खुलस्त छे र पनि लाग्छ, पहिले जस्तो छँदै छैन।
एक दिन भनी, “सुरज, तिमी पहिले जस्तो पटक्कै छैनौ।”
“तँ पनि पहिले जस्तो छैनस् बिमली,” हिम्मतले भनें।
यत्रो महीनापछि पहिलो पटक मैले बिमलीलाई तँ भनें। उसले तर्से जस्तो गरेर हेरी। अलिअलि आएको हिम्मत फेरि ढल्यो गर्ल्याम्मै।
भनें, “बिमली, तँ पहिले जस्तो सजिलो किन छैनस्? किन लाग्छ तँ बदलिइसकिस्? फेरि कहिले लाग्छ, तँ बदलिएकी छैनस्। तैंले आँखा उठाएपछि किन झुक्छन् मेरा आँखा?”
उसले पटक्कै जवाफ दिइन। मन नपरेको आँखाले हेरी।
“तँ कता हराएकी थिइस्? तँलाई तेरा आफन्त र पुलिसले नदी छेउछाउ र जङ्गलतिर कति खोजे। यसरी अरूलाई दुःख दिन कसले भन्यो तँलाई?”
त्यो भावुक भई। छिनमै खितित्त हाँसी।
“तिमीले मसँग कहिल्यै बिहे गर्दैनौ भन्ने जानेपछि बिहे गरेकी थिएँ। तर म बिहे गरेर लोग्नेको खटनमा बस्ने, बच्चा, सासूससुरा र घरधन्दामा मात्रै रमाउन सक्ने प्राणी होइन रै’छु। बच्चाको आमा हुने भइसकेपछि मलाई मेरो रहर, सपनाको खूब माया लाग्यो। बच्चा जन्माउदिनँ, पढेर आफ्ना रहर पूरा गर्छु भनेर आमाबा र लोग्नेसँग भनें। तर कसैले मेरो कुरा सुनेन। दिनदिनै झगडा पर्न थाल्यो। त्यसपछि घरबाट निस्केर माइती छेउमा आएर बसें। मान्छेहरू महिला आमा बनेपछि लचिलो र कोमल हुन्छन् भन्छन् तर म झन् झन् अराजक हुँदै गएँ। मलाई रिस उठिराख्थ्यो। तिम्री श्रीमती, तिम्रो बा, मेरा आमाबा, लोग्ने र तिमी देख्दा पनि रिस उठिराख्थ्यो। अनि एकदिन सोचें, अब म कतै टाढा जान्छु। तिमी, मेरा आफ्ना र लोग्ने भनाउँदोले खोजिरहून् तर म कहिल्यै भेटिनेछैन।”
यति भनेर फिस्स हाँसी। दुष्ट केटी!
“तँ हामीलाई सताउन घरबाट भागेकी थिइस्?”
भारी मन बोकेर घर फर्किएँ। काम गर्ने केटाहरू धन्दा सकेर घर गइसकेछन्। मलाई देख्ने बित्तिकै छोरा हुर्रिंदै मेरो हातमा झुन्डिन आयो।
“त्यस वेला मेरो मन कत्ति पनि स्थिर थिएन। नानी च्यापेर घरबाट निस्किएँ। मध्यरातमा घरबाट निस्किंदा म खूब रोएकी थिएँ। तर म जति रोएकी थिएँ, त्योभन्दा बढी तिमीलाई रुवाउन चाहन्थें। जूनको उज्यालोमा घर छोड्दा मलाई कसैको माया लागेन। के खाउँली, कसरी बाँचुँली भन्ने सोच आएन। म साँच्चै भागें, आफ्ना भनाउँदाहरूदेखि प.....र। भाग्नु सजिलो थियो तर भागिरहनु थिएन। जब जब दूध नपुगेर नानी रुन्थी, मेरा पाइला टक्क अडिन्थे। फर्कूं त्यही लोग्नेसँग र म त एक्लै नसक्ने रै’छु, नानी पाल्न पनि मलाई त हजुर नै चाहिन्छ भनूँ भन्ने लाग्थ्यो। तर फर्कन सजिलो थिएन। तीन दिन चार रात यताउता भौंतारिएपछि काठमाडौं छिरें। बच्चा वेलाकी साथी थिई, नमूना। त्यसकोमा गएर बसें। काठमाडौं छिरेपछि भोको पेट र नानीको रुवाइले धेरै कुरा सिकायो। पैसा, सम्बन्धको महत्त्व पनि बुझायो। तर म घमण्डी छु नि, फर्किनु थिएन मलाई बिचरी भएर। फर्किएर तिनको अघि गिडगिडाउनु थिएन, जसलाई लत्याएर भागेकी थिएँ। मैले लक्ष्य लिएँ, म बाँच्छु आफू र नानीका लागि मात्र। मेरो अनुपस्थितिमा तिनीहरूलाई केही दिन बाहेक गाह्रो हुँदैन। अनि मैले मिहिनेत गरेँ। एक छाक जुटाउन नानी च्यापेर सानातिना काम गरें। नानी च्यापेर बिहान बिहान इन्स्ट्च्यिुट धाउन थालें। घर छोडेपछि परिश्रम, पैसा र सम्बन्धको महत्त्व बुझें। म तिम्रो पछाडि व्यर्थै भागेको रै’छु।”
पछिल्लो वाक्यले चसक्क बिझायो।
भारी मन बोकेर घर फर्किएँ। काम गर्ने केटाहरू धन्दा सकेर घर गइसकेछन्। मलाई देख्ने बित्तिकै छोरा हुर्रिंदै मेरो हातमा झुन्डिन आयो। मलाई उसको साह्रै माया लाग्यो।
“बाबा, मलाई रिमोटवाला गाडी ल्याइदिनू है।”
कति प्यारो अनुरोध। छोरा, तैंले पहिलो पटक बासँग केही मागेको छस्। त्यति पनि पूरा नगरुँला त? तेरा यसअघिका मागहरू सप्पै तेरी आमाले पूरा गरिदिन्थिन्। मैले पैसा मात्रै दिए पुग्थ्यो। तँ पनि आमासँग माग्न सजिलो मान्थिस्। हेर् त छोरा, तेरो बा आज साह्रै खुशी छ।
बिहान आठ नबज्दै छोरो डोर्याएर बजारतिर लागें। लाग्यो, मान्छेले देखून् सुरज शर्माको छोरो ठ्याक्कै बाउ गोता गएछ। हेर हेर कति सुहाएको बाउछोरा सँगै हिँडेको! बतासले पनि देखोस्, त्यसको अनुपस्थितिमा म परिवारसँग खुशी थिएँ। झूटो नै सही, बुझोस् त्यसले सुरज साँच्चै खुशी छ।
घर फर्किने बित्तिकै छोरो आफ्नी आमालाई खेलौना देखाउन कुद्यो। आमा खुशी देखिइन्।
धेरै दिन मौनतामै बिते। मेसेज न भेटघाट। ठीक छ, म खुशी छु। पहिले जस्तो टोलाएर बस्दिनँ। धेरैभन्दा धेरै समय छोरासँग व्यतीत गर्छु, यो देखेर श्रीमती खुशी हुन्छिन्।
बतास, तँ पो हिजोआज मलाई वास्ता गर्दिनस्। हामी लोग्ने-स्वास्नीको त फेरि ओछ्यान एक भएको छ। तँ डाहाले नजल है। हामी छोरालाई बीचमा सुताएर एकअर्कालाई हेर्दै निदाउँछौं।
धेरै दिनपछि फोन लगाएँ।
“ए बतास, मलाई आज एकदमै मात्न मन लागेको छ।”
“बाहुनलाई रक्सी खान मन लागेको छ?”
“अँ, मात्न मन छ। मात्न रक्सी या नशालु पदार्थ चाहिंदैन।”
“पागल, बाहुन।”
त्यसपछि मौनता, फेरि मौनता। बतास र मबीच सधैंका लागि मौनता छायो। तर बतास त बतास हो। यो मौनताको बीच पनि सुस्तरी छोइन्छ। बतास बतास बतास। तँ बतास नछोऊँ भन्दा पनि छोइन्छेस्।
हिमाल दशैं साहित्यका थप सामग्री: