कुशलको विस्फोटक ब्याटिङमा नेपालले बनायो २१३ रन
कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले त्रिदेशीय पुरुष टी-२० शृङ्खलामा हङकङलाई २१४ रनको लक्ष्य दिएको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा २१३ रन बनाएको हो। नेपालका लागि मल्लले ४१ बलमा ९२ रन बनाए। उनले तीन चौका र नौ छक्का प्रहार गरे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ६ चौका र दुई छक्काको मद्दले ५७ रन बनाए। आशिफ शेखले २०, रोहित पौडेलले ११, सोमपाल कामीले आठ र कुशल भुर्तेलले दुई रन बनाए।
हङकङका लागि इशान खान र हारुन अर्सदले दुई-दुई तथा आयुष शुक्ला र एजाज खानले एक-एक विकेट लिए।
नेपालले दिएको विशाल लक्ष्य पछ्याउन हङकङको ब्याटिङ गरिरहेको छ।