गोरखा दरबारबाट काठमाडौं पठाइयो फूलपाती
गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ बजेको शुभसाइतमा फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाएका हुन्। फूलपातीको डोली बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूल पुरोहित शारदाप्रसाद भट्टराईले बताए।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ। गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेदेखि बर्सेनि बडादशैंको सातौं दिन गोरखा दरबारको दशैंघरबाट फूलपाती सहितको डोली काठमाडौंको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
गोरखा दरबारस्थित दशैंघरबाट बाजागाजा सहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको भट्टराईले बताए।
गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ लगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाएका छन्।