च्याङ्ग्रासँगै आउने ती दशैं
दशैंमा च्याङ्ग्राको ठाउँमा खसीको इन्तजाम भए पनि महँगो मूल्यकै सही एकै छाक च्याङग्राको मासुको झोल र भात नखाँदासम्म दशैं आए जस्तै लाग्दैन।
भित्तेपात्रोमा जब दशैंको तिथि झुल्किन्छ, मेरो मानसपटलमा भने च्याङग्राको बथान दौडिन थाल्छ।
स्मृतिको समययान चढेर मन ती दिनहरूमा फर्किन्छ जति वेला हाम्रो गाउँमा च्याङ्ग्रा र दशैं पर्यायवाची सरह थिए। केरुङ (तिब्बत)बाट धुन्चे हुँदै ओरालो झर्ने भेडा-च्याङ्ग्राको लामो ताँती र गोठालाको साइसाइ सुइसुइसँगै दशैं आउँथ्यो।
चौबाटो, बजारमा हुलका हुल रङ्गीबिरङ्गी भेडा-च्याङ्ग्रा हेर्ने, समातेर मोलतोल गर्नेको भीड हुन्थ्यो। एउटा बथान अर्को बथानसँग कथंकदाचित् मिसिएमा छुट्याउन सजिलो होओस् भनेर व्यापारीले आफ्नो बथानको छुट्टै रङ लगाएका हुन्थे। त्यसैले तिनलाई चराउन छोडिएका बखत सिङ्गो पाखो नै रङ्गीबिरङ्गी हुन्थ्यो।
फूलपातीको दिन साँझ अबेरसम्म तन्किने यस्तो भीडभाडलाई कतिपयले ‘च्याङ्ग्रे जात्रा’ पनि भन्थे। यस्ता मेला प्रायः रसुवा र नुवाकोटको सीमामा रहेको बेत्रावतीमा लाग्ने गर्थ्यो जहाँ दुवै जिल्लाका विभिन्न गाउँका मानिस च्याङ्ग्रा खरीद गर्न आइपुगेका हुन्थे। च्याङ्ग्रा किन्न आउनेमध्ये अलिक जान्नेसुन्ने अगाडि सरेर रोजेको च्याङ्ग्रा उचाल्दै मासु अनुमान गरेर मोलमोलाइ गर्थे।
फूलपातीको दिन भेडा-च्याङ्ग्रा बिक्री गरिसक्नुपर्ने भएकाले अपराह्नपछि व्यापारीहरूले मूल्य घटाउन थाल्थे। मूल्य घटाउँदै जाँदा व्यापारीले ‘दर यति बस्यो’ भनेर तोक्दै जान्थे। यसलाई बुझेका कतिपय क्रेता भने दिउँसैदेखि आफूले रोजेको भेडा-च्याङ्ग्राको खुट्टा समातेर वा डोरीले सिङमा बाधेर साँझ पर्ने समय कुरेर बसेका देखिन्थे। बेत्रावतीमा नबिकेका भेडा-च्याङ्ग्रा भने त्रिशूली बजार र काठमाडौंसम्मै पनि पुग्थे।
तिब्बतबाट रसुवागढी नाका हुँदै भेडा-च्याङ्ग्रा भित्रिने क्रमको इतिहास मलाई थाहा छैन। सम्भवतः प्राचीनकालदेखि जारी नेपाल-भोट व्यापारका क्रममा तिब्बतको पठारमा हुर्किएका च्याङ्ग्रा नेपालीको दशैं परिकार बन्न आइपुगेको हुनुपर्छ।
मेरा जिजुबा (हजुरबाका पिता) दशैंमा च्याङ्ग्रा किन्ने पैसा नभएको र ऋण माग्दा पनि हुनेखानेले नपत्याएपछि फूलपातीको दिन एक फाले नामको लेकाली विष-बुटी खाएर आफ्नै ज्यान लिएको सुनेर म हुर्किएको हुँ। यो राणाशासनको उत्तरार्द्धतिरको कुरा थियो। यो बिरक्तलाग्दो इतिहास च्याङ्ग्रा र नेपाली भान्साको सम्बन्धको गाथा पनि हो।
जिजुबाले त्यसरी प्राणत्याग गरे पनि त्रिशूलीको सुसाहट सुनिबसेको हाम्रो गाउँको सम्बन्ध तिब्बतसँग टुट्ने कुरै थिएन। बरु जीविकाका लागि प्राचीन पथ पछ्याउँदै मेरा हजुरबाले नेपालबाट चिउरा, सिन्के चाउचाउ, पोलिस्टर कपडा, चामल, आल्मुनियमका भाँडा जस्ता चिजबिज भरियालाई बोकाएर केरुङ पुर्याउने र उताबाट भेडा-च्याङ्ग्राका हुल, ऊन ल्याउने काम गर्नुभयो।
दशैं, तिहार र तिहारपछि समेत केरुङमा हिउँ पर्न शुरू गर्नुअघि एक पटक भेडा-च्याङ्ग्राका बथान नेपालतिर झारिन्थ्यो। रोचक त, केरुङतिरको यस्तो व्यापारको लेनदेन नगदमा नभई जिन्सी साटासाटबाट हुन्थ्यो।
हजुरबाले थालेको व्यवसायलाई पिताजीले पनि निरन्तरता दिनुभयो। दशैं, तिहार र तिहारपछि समेत केरुङमा हिउँ पर्न शुरू गर्नुअघि एक पटक भेडा-च्याङ्ग्राका बथान नेपालतिर झारिन्थ्यो। सबैभन्दा रोचक त, केरुङतिरको यस्तो व्यापारको लेनदेन नगदमा नभई जिन्सी साटासाटबाट हुन्थ्यो।
२०४० को दशकको अन्तिमतिरसम्मै नेपालबाट लगिएका वस्तुको सट्टापट्टामा च्याङ्ग्रा ल्याइन्थ्यो। पिताजीका अनुसार केरुङस्थित व्यापार केन्द्रमा बसेका चिनियाँ प्रहरीका अधिकारीले सट्टापट्टाको दर तोक्न सहजीकरण गर्थे। नेपालबाट लगिएका एक हल गोरु बराबर १० वटा च्याङ्ग्रा आउँथ्यो। पैसामा व्यापार हुन थालेको त २०५० को दशकतिरबाट मात्रै थियो।
भेडा-च्याङ्ग्राको संख्या गन्ती गरेर सरदर मूल्य तय तोकेर केरुङका व्यापारीले नेपाली व्यापारीलाई बथान बेच्थे। अर्थात्, ठूला ठूला भेडा-च्याङ्ग्रा भए मूल्य बढाएर राखिन्थ्यो नत्र मूल्य पनि कमै पर्थ्यो। मलाई सम्झना भएसम्म २०५० को दशकको शुरूतिरसम्म केरुङमा भेडा-च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा ३००-४०० को हाराहारी थियो। चीन र तिब्बतको समृद्धि बढ्दै गएपछि मूल्य पनि तीव्र गतिमा उकालो लाग्दै गयो।
चीनको चामत्कारिक आर्थिक विस्तारपछि अहिले केरुङ बजारका रूपमा विकसित भएको छ। केरुङ हुँदै लत्ताकपडा, स्याउ, इलोक्ट्रोनिक सामानदेखि सुनसम्म (अदृश्य धन्दा) आउने गर्छ। यही बाटो भएर भारत जोड्ने द्रुत गतिको चुच्चे रेल आउने परिकल्पना हुन थालेको छ। तर करीब चार दशकअघिसम्म केरुङ भन्नासाथ कच्ची सडक, सिङ्गो गाउँभरिमा एउटा पसल, एउटा पानीको धारो र ससाना झुप्रा घरको चित्र मनमा आउँथ्यो।
त्यति वेलासम्म नेपालबाट भारीका भारी चिजबिज केरुङतिर जान्थे। नुवाकोटको त्रिशूलीभन्दा माथि सडकबाटो नपुगेकाले भरियालाई बोकाएर सामान लैजाने र ल्याउने चलन थियो। संसारकै सर्वाधिक धान फलाएर के गर्नु, चीनको मुख्य भूमिसँग सजिलो सडक सम्पर्क नभएकाले होला, केरुङवासीले हत्तपत्त चामल देख्न पाउँदैनथे, उबखत। साझा कृषि उत्पादन प्रणाली हुन्जेल उत्पादनमा कमी भएकाले होला, कम उत्पादन हुने तिब्बतमा खाद्यान्न उपलब्ध हुन सजिलो पनि थिएन।
केरुङमा वर्षौं व्यापार गर्नुभएका मेरा पिताजीका अनुसार साझा खेती प्रणाली हुँदासम्म आलु, उवाको उब्जनी कम तथा भेडा-च्याङ्ग्रा र चौंरी पनि दुब्लो पातलो हुने गरेका थिए। साझा कृषि प्रणाली हटेर व्यक्तिलाई खेती गर्न दिने सुधार घोषणा गरिएको वेला पिताजी केरुङमा नै हुनुहुन्थ्यो। यो २०३० को दशकको आखिरीतिरको कुरा थियो। त्यो दिन केरुङभरि नाचगान, भोजभतेर नै चलेको थियो रे। कृषिमा निजीकरण शुरू गरिएपछि र मुख्य भूमि चीनसँग जोडिएको सडकमार्ग फराकिलो भएपछि केरुङमा नेपालबाट चामल, चाउचाउ आदि लैजाने दरकार परेन।
अहिले सम्झिँदा पनि आश्चर्य लाग्छ, त्यस्तो ऋण कति महँगो हुन्थ्यो भने, ब्याजदर झण्डै वार्षिक ६० प्रतिशत र त्यसबाहेक साहुलाई रोज्जा च्याङ्ग्रो सित्तैमा टक्र्याउनुपर्थ्यो।
केरुङमा सामान पुर्याएर भेडा-च्याङ्ग्रा ल्याउने भएकाले दशैं आउनुअघि नै घरमा पैसाको जोहो शुरू भइसक्थ्यो। गाउँघरका हुनेखाने, साहुसँग उधारो लिएर पैसाको बन्दोबस्ती हुन्थ्यो। मलाई अहिले सम्झिँदा पनि आश्चर्य लाग्छ, त्यस्तो ऋण कति महँगो हुन्थ्यो भने, ब्याजदर झण्डै वार्षिक ६० प्रतिशत र त्यसबाहेक साहुलाई रोज्जा च्याङ्ग्रो सित्तैमा टक्र्याउनुपर्थ्यो। जो पायो त्यसले ऋण दिन मान्दैनथे। गाउँघरमा महिला र आमा समूह, बचत तथा ऋण सहकारी शुरू भएपछि नै हो, कर्जाको ब्याजदर सस्तो हुन थालेको।
यी कथासँग मात्रै च्याङ्ग्रा मेरो स्मृतिमा जोडिएको भने होइन। त्यसका त अनेकौं पत्र छन्।
केरुङबाट च्याङ्ग्रा मात्रै आउँदैनथे, हामी केटाकेटीका लागि चिल्ला रङ्गीबिरङ्गी नोटबूक, कलम, चिनियाँ चकलेट, जुत्ता पनि आइपुग्थे। घ्यू हालेर पकाइने मगमग बास्ना आउने भोटेचिया आउँथ्यो। च्याङ्ग्राको मासुको त के कुरा गर्नू! हजुरबाले नै भेडा-च्याङ्ग्राको बथान ल्याउने भएकाले घरमा अष्टमीको दिन रोजा च्याङ्ग्रो ढल्थ्यो। मासु बिग्रन नदिन अँगेनाको माथि झुन्ड्याइने मासु दशैं सकिएपछि पनि कैयौं दिनसम्मलाई पुग्थ्यो।
घरभरि मासु छ्यालब्याल हुने अर्को कारण पनि छ, पाखापखेरा हुँदै ल्याइएका च्याङ्ग्राले अँगेरी नामको घाँस खाएपछि बान्ता गर्न शुरू गर्थे। भेडा-च्याङ्ग्रालाई अँगेरीको विष लागेर मर्नुअघि नै हतारमा काटेर मासु सुकाउने गरिन्थ्यो। यसरी सुकुटी बनाइएको च्याङ्ग्राको मासु झोल हालेर पकाइने पुस-माघका ठिहिर्याउने साँझ सम्झँदा सम्झना नै स्वादिलो हुन्छ। तर च्याङ्ग्रा केवल मासुमा सीमित हुँदैनथे। बाक्लो रौं सहितको तिनको छालाको चकटी पनि बन्थ्यो।
भेडाको मासु चाहिं हत्तपत्त जो पायो उहीले रुचाउँदैनथे। च्याङ्ग्रा जस्तो झोल बनाएर खान त्यति स्वादिलो पनि हुँदैनथ्यो। मोल पनि सस्तो पर्ने भएकाले अलि आम्दानी कम भएका घरपरिवारले मात्र भेडा खान्थे। नेपालमा पालिने भ्याङलुङ, कागे, बरुवाल जस्ता भेडाको मासु ठीकठीकै भए पनि स्वादिलो त उच्च हिमाली क्षेत्रमा पालिने सिलु भेडाको मासुकै हुन्थ्यो।
त्यसो त, नेपाल आउने भेडा-च्याङ्ग्रा केरुङमा पालिने होइन। तिब्बतका पठारी क्षेत्र पाङसिङ, चालुङ, पुला, हाप्चिन, च्यामांबु जस्ता ठाउँबाट केरुङ आइपुग्थे। नेपाली व्यापारीले ‘भोटे’ भन्ने केरुङका व्यापारीसँग बथानका बथान भेडा-च्याङ्ग्रा किन्थे। रोचक त, नेपालीले केरुङका व्यापारीलाई भोटे भने झैं केरुङका व्यापारीले माथि झुँगातिरका तिब्बती पठारमा भेडा-च्याङ्ग्रा पाल्ने, चुल्ठी बाटेको लामो कपाल भएका तिब्बतीलाई भोटे भन्थे।
ओहो! ती दिनहरू। च्याङ्ग्राका हुल उडाउँदै हिंडेको दृश्य। शरद्को पारिलो घामसँगै आँगनमा आइपुगेको दशैं। र, केरुङबाट आउने कोसेली कुरिबसेका हामी केटाकेटी। तर स्मृतिका ती तस्वीर सबै उसैगरी मनमोहक छैनन्। भेडा-च्याङ्ग्राको स्मृतिसँगै टाँसिएर आउँछ केरुङबाट तिनलाई ल्याउँदाको हैरानी र सास्ती।
कुराकानी शुरू गर्नुअघि नै सादा पोशाकका प्रहरीले बथानबाट छानेर धमाधम चार वटा ठूला ठूला च्याङ्ग्रा मोटरमा राखे र सीडीओसा’प र डीएसपीसा’पलाई भन्दै दौडाए।
अलि उमेर भएपछि एकाध पटक गोठालो बनेर म पनि बथान धपाउँदै हिंडेको छु, एकपटक त काठमाडौंसम्मै पनि आइपुगेको छु। समय-साल त बिर्सिएँ। सम्भवतः २०६० को दशकको शुरूआती कुनै वर्ष हुनुपर्छ। तिहारपख करीब तीन सय भेडा-च्याङ्ग्राको बथान धपाउँदै हामी साँझ धुन्चे आइपुगेका थियौं। धुन्चे बजार आइनपुग्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको जीप एक्कासि बाटो छेक्न आइपुग्यो। कुराकानी शुरू गर्नुअघि नै सादा पोशाकका प्रहरीले बथानबाट छानेर धमाधम चार वटा ठूला ठूला च्याङ्ग्रा मोटरमा राखे र सीडीओसा’प र डीएसपीसा’पलाई भन्दै दौडाए।
सरकारी मानिसले नाम मात्रैको मूल्य तिरेर रोजीरोजी हरेक बथानबाट च्याङ्ग्रा लैजाने अघोषित चलन नै थियो। यस्ता च्याङ्ग्रा सीडीओ र प्रहरीका आफन्त वा हाकिमलाई काठमाडौंसम्मै पठाइन्थ्यो। प्रहरीले च्याङ्ग्रा लगेको केही बेरमै धुन्चे बजारमा मदिराले मातेका स्थानीय युवाको हुल नै आएर च्याङ्ग्रा समात्ने, खेद्ने र जति मन लाग्यो त्यति मूल्यमा दिन धम्क्याउने गर्न थाल्यो। यस्तो हर्कतको प्रतिवाद गर्दा मदिराले धूत युवाहरूले हातै हाल्न थाले। कम्तीमा आधा दर्जनभन्दा बढी प्रहरी यो घटनाको साक्षी भए पनि उनीहरूले हुलदङ्गा रोकेनन्। बरु सहयोग माग्दा चाडबाडको वेला साँझमा किन भेडा-च्याङ्ग्रा ल्याएको त भनी उल्टै खप्की खानुपर्यो।
जसोतसो हुलदङ्गाबाट उम्किएर मध्यराति धुन्चेबाट बथान धपाएर अगाडि लाग्ने क्रममा नेपाली सेनाको लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षा क्याम्प आइपुग्दा फेरि अर्को अत्याचार भयो। पहरा दिन बसेका सैनिकले सडकको किनारामा बनाइदिएको ससानो टहरोभित्र च्याङ्ग्रा तान्दै हुलिरहेका थिए। ती टहरोभित्रबाट मुख थुनिएका च्याङ्ग्राको दबिएको आवाज आइरहेको थियो तर द्वन्द्वकालको उत्तरार्द्धको वेला मध्यरातमा सेनासँग प्रतिवाद गर्ने अवस्था नै थिएन, चूपचाप बथान धपाएर हिंड्नुको विकल्प थिएन।
त्यो दिनको हुलदङ्गा र जबर्जस्तीमा १४ वटा ठूला च्याङ्ग्रा लुटिएका वा हराएको भोलिपल्टको गन्तीबाट थाहा भयो। कैशोर्यमा दौडिरहेको उमेरमा भएको त्यो घटनाले मेरो मस्तिष्कमा अमिट छाप छोडेको छ। त्यसैले त अहिले पनि मलाई प्रहरी र सेना सुन्ने बित्तिकै सोही घटनाको सम्झना आउँछ।
त्यसो त, रातबिरात बथान धपाउँदै हिंड्नुपर्ने, चिसा रातमा खुला ठाउँमा सुत्नुपर्ने वा झमझमी पानीमा समेत रुझ्दै हिंड्ने जिन्दगी गोठालाका लागि अनौठो होइन। हाम्रा दाजुभाइ खलकका एक जनाले त रसुवागढीमा रहेको काठे पुलबाट खसेर ज्यानै गुमाएका थिए। यस्ता अनुभव थाहा भएको मलाई शहरमा बस्ने कतिपयले ‘भेडा-च्याङ्ग्रा तिब्बतको वनमा जति पनि पाइन्छ, व्यापारीले समातेर सित्तैमा ल्याउने त हो नि !’ भन्ने टिप्पणी गरेको सुन्दा कन्सिरीका रौं नै तातेको थियो।
दशैंमा च्याङ्ग्राको ठाउँमा खसीको इन्तजाम भए पनि महँगो मूल्यकै सही एकै छाक च्याङग्राको मासुको झोल र भात नखाँदासम्म दशैं आए जस्तै लाग्दैन।
च्याङ्ग्रासँग जोडिएको त्यो हैरानी सडकमै सकिंदैनथ्यो। काठमाडौं ल्याएर बिक्री गरिएको भेडा-च्याङ्ग्राको पैसा उठाउनु अर्को सास्ती थियो। काठमाडौंका व्यापारीलाई बेचिएका भेडा-च्याङ्ग्राको रकम उठाउन वर्षौं लागेको छ, केही उधारो त अहिले पनि उठाउन बाँकी छ।
२०६४ सालमा काठमाडौंका एक व्यापारीलाई उधारो बेचिएका च्याङ्ग्राको रकम उठाउन मैले एउटा जुक्ति नै लगाउनुपरेको थियो। माओवादी युद्धमा लागेका चिनजानका एक लडाकू मार्फत ती व्यापारीलाई उधारो फिर्ता नगरे जनकारबाही गर्ने डर देखाएपछि उनले थोरै थोरै गरेर रकम फिर्ता गरेका थिए। कलेज पढ्दा ताकाको कुरा हो, जब गोजी रित्तो हुन्थ्यो, म ती व्यापारीको शान्तिनगर, रातोपुल र सुन्धाराको मासु पसलमा पुगेर एकाध हजार उठाउँथे। एकाध पटक त उधारो उठाउने यस्तो चक्करमा सहपाठी जनकराज सापकोटालाई समेत लगेको छु। बिहानभरि मासुपसल अगाडि कुरेर बस्ने र एकाध हजार रकम लिएर फर्किने गरिन्थ्यो।
उमेरले अलि ठूलै घुम्ती घुमेछ क्यारे! आफैंले भोगिआएका ती दिन अब त उवेलाका कथा बनेको छ।
कुनै वेला केरुङबाट बथानका बथान आउने भेडा-च्याङ्ग्रा पछिल्ला वर्षहरूमा भने पातलिंदै गएका छन्। एक-दुई हुल भेडा-च्याङ्ग्रा आउने गरे पनि भाउ भने छोइनसक्नु छ- एउटा ठीकठीकैको च्याङ्ग्राको मूल्य पनि ४०-४५ हजारसम्म पर्न थालेको छ। तिब्बतमा च्याङ्ग्रा-भेडाको मासु तयार पारेर सुकुटी निर्यात गर्ने उद्योग फस्टाएसँगै माग र मूल्य उतै पनि चुलिंदै गएको छ। के थाहा, छन्तु वा छोङ्छिङमा रुचाइने याङ्रौ छ्वार (भेडाको मासुको सेकुवा) तिब्बतमै पालिएका भेडा-च्याङ्ग्राको मासुको पो हो कि!
केटाकेटी वेला हाम्रा गाउँतिर च्याङ्ग्राभन्दा बोसो भएका मोटाघोटा खसीको मासु राम्रो पनि मान्थे कतिपयले। खसी नै काट्दा पनि बोसो नभएको खसीलाई उति गतिलो मानिंदैनथ्यो। अहिले भने जमाना फेरिएको छ, बोसो त सकेसम्म कसैले छुँदा पनि छुँदैनन्। स्वास्थ्य सचेतना बढ्दै गएपछि त ‘हिमाली जडीबुटी खाएका’ भन्ठानिने गरेको च्याङ्ग्राको माग झन् झन् बढ्दो छ।
तर हत्तपत्त नपाइने च्याङ्ग्राको मासुको मूल्य भने खानै नसकिने गरी महँगिइरहेको छ। यही वर्ष काठमाडौं आइपुगेका च्याङ्ग्रा जिउँदोमै प्रतिकिलो १३५० मा किनबेच भयो। यस्तो मूल्य बढोत्तरीले च्याङ्ग्राप्रेमीलाई मर्कामा पारे पनि निरुत्साहित चाहिं बनाइहालेको छैन। दशैंमा च्याङ्ग्राको ठाउँमा खसीको इन्तजाम भए पनि महँगो मूल्यकै सही एकै छाक च्याङग्राको मासुको झोल र भात नखाँदासम्म दशैं आए जस्तै लाग्दैन।
हिमाल दशैं साहित्यका थप सामग्री: