युक्रेनमा पक्राउ परेका नेपाली भन्छन्- आमालाई खुशी पार्न रूसी सेनामा भर्ती भएको हुँ
रूसी सेनाको पक्षमा लडिरहेका एक नेपाली भाडाका सैनिकलाई युक्रेनका सुरक्षाकर्मीले अभ्डिभ्कामा पक्राउ गरेको छ।
सामाजिक सञ्जाल एक्समा एन्टोन गेरास्चेन्कोले गरेको पोस्टमा बर्दियाका विवेक खत्रीले पैसा कमाउन र आमालाई खुशी पार्न रूसी सेनामा भर्ती भएको बताएका छन्। हिमालखबरले यसअघि पनि रूसी सेनामा नेपाली युवा भाडाको सैनिकका रूपमा भर्ती भएको समाचार प्रकाशन गरेको थियो।
बिचौलियाले नेपाली युवालाई महीनाको चार लाख रुपैयाँ कमाइ हुन्छ भन्ने लोभ देखाउँदै रूसी सेनामा अस्थायी भर्ती गराउन लाने गरेका छन्। तर त्यसरी लगिएका धेरै नेपाली युवालाई जम्मा एक साताको तालीम दिएर युक्रेनी सीमामा खटाइएको थियो भने उनीहरूलाई वाचा गरिए अनुसारको पैसा पनि दिइएको छैन। युक्रेनको सीमा क्षेत्रमा खटाउन पठाएका युवालाई रूसको पर्यटक भिसामा लगिएको थियो।
शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा नेपाली युवा खत्रीले भनेका छन्, ‘म मेरी आमासामु एक सफल व्यक्तिका रूपमा फर्कन चाहन्थें।’
सामाजिक सञ्जाल एक्समा एन्टोन गेरास्चेन्को युक्रेनका विदेश मन्त्रीका सल्लाहकार तथा ‘इन्सिट्च्यूट अफ फ्युचर’ का संस्थापक भएको उल्लेख छ।
भिडिओमा खत्रीलाई भ्लादिमिर पुटिन कस्ता व्यक्ति हुन् भन्ने प्रश्न गरिएको छ। जवाफमा उनले भनेका छन्, “पुटिन हिटलर जस्तो हुन् कि भन्ने देखिन्छ। रूसी व्यवस्था पनि ठीक छैन।”
खत्रीले आफ्ना कुरा अंग्रेजी भाषामै भनेका छन्। तर सञ्जालमा पोस्ट गरिएको भिडिओमा खत्रीले आफ्नो मनमा लागेको कुरा खुला रूपमा भनेका हुन् कि उनलाई त्यसो भन्न दबाब दिइएको हो भन्ने चाहिं खुल्दैन।
यो पनि पढ्नुहोस् : रूसी सेनामा नेपाली: भर्ती भएकालाई छटपटी, नयाँलाई हुटहुटी