दशैंको मःम
मःमको खास स्वाद थाहा पाउन चाहिं अचारमा नचोपी र टुक्रा नपारी सिङ्गै मःम मुखमा हुल्नुपर्छ। अचारसचार त शृङ्गार हुन्।
आजको काठमाडौं हिजोको भन्दा धेरै फरक छ। यसले आफ्नो रङ र सौन्दर्य गुमाइसकेको छ। हाम्रो समयमा भने कान्तिमय कान्तिपुर नै थियो यो। यो कथा त्यति धेरै अगाडिको कथा हैन, २०३० को अन्त्य र ४० को शुरूको हो।
त्यस वेला धारामा बिहान बिहान पानी झर्थ्याे। भीड थियो तर भीडभाड थिएन। उपत्यकाको आवादी ५-६ लाख थियो भने घुमुवा बासिन्दा २-३ लाख थिए। लोडशेडिङको अभ्यास चाहिं त्यही वेला नै गरिसकेका थियौं, हप्तामा एक दिन।
यातायातको सुगमता आज जस्तो गल्ली गल्लीमा समेत टेम्पु गुड्ने खालको थिएन। सुन्धारा गोश्वारा हुलाकबाट पाटनढोकासम्म, जमलबाट बालाजु, महाराजगन्ज (शीतल निवाससम्म) र टंगालसम्म मात्र जान्थे। भक्तपुर मिनिबसमा बसेर यात्रा गर्नुपर्थ्यो भने यातायातमा सबैभन्दा लामो दूरी ट्रलीबसले छिचोल्थ्यो।
काठमाडौंको हावा सास फेर्न लायकको थियो। घरको छतबाट वरपरका हिमाल छर्लङ्गै देखिन्थे। साइकल हुने हुनेखाने, मोटरसाइकल हुने धनी र गाडी हुनेहरू मन्त्री र राजाकै श्रेणीमा हुन्थे।
असारको अन्त्य वा साउनको पहिलो सातामा पर्ने गथांमुग पर्वमा बाटो-चौबाटोमा घण्टाकर्णको बुख्याचा तानेको भोलिपल्टदेखि आकाशमा चङ्गा देखिन्थे। त्यसभन्दा अघि चङ्गा उडाए पानी पर्दैन भन्ने कथन थियो। रङ्गीचङ्गी चङ्गा आकाशमा उडेको देखेपछि हामीलाई पनि दशैं आउँदै छ भन्ने लाग्थ्यो। हामी भुराभुरीका लागि दशैं चङ्गा र नयाँ लुगामा आउँथ्यो। मेरो लागि भने दशैंमा पाइने नयाँ लुगा र स्कूलको ड्रेस उही हुन्थ्यो। दशैं हाम्रो लागि एउटा कुरामा चाहिं हैरानी बोकेर आउँथ्यो, स्कूलको सारा गृहकार्य दशैं बिदामै गर्नुपर्ने!
हाम्रो स्कूलमा दशैंको १५ दिन बिदा हुँदैनथ्यो, १४ दिन मात्रै हुन्थ्यो। कतिं पुन्ही अर्थात् कोजाग्रत पूर्णिमाकै दिन स्कूल खुल्थ्यो। कारण बडो अर्थपूर्ण थियो।
सबैजसो विद्यार्थी उपत्यकावासी नै हुन्थे। त्यसमा पनि मातृभाषा नेपालभाषा भएका विद्यार्थी ९० प्रतिशतभन्दा अधिक नै हुन्थे। उपत्यकाका नेवारका लागि स्वन्ति अर्थात् तिहारभन्दा ठूलो अर्को पर्व हुँदैन। त्यसैले दशैंको एक दिन बिदा कट्टा गरेर तिहारमा थप बिदा दिइन्थ्यो। यसर्थ स्कूलको सांस्कृतिक बुझाइ र गराइ अनुकरणीय थियो।
दशैंको अष्टमीको दिनदेखि घरमा मासु-च्युरा खाएको खायै थियौं। बिहानै त्यही, बेलुकै त्यही। मुखमा भात पर्नै पाएको थिएन। स्वाद फेर्न नपाएर जिब्रो लाटिए झैं भएको थियो।
कुरो त्यही पूर्णिमाको दिनभन्दा अघिल्लो दिनको हो। त्यस दिन बौद्धमार्गीहरूले श्रीघःपुन्ही मनाउँछन्। चोक, बहाल आदिमा रहेका चिःवा चैत्यहरूको विशेष पूजा रातभर चिलाख बालेर गरिन्छ र प्रसादका रूपमा चतामरी बाँडिन्छ। जुन चलन अद्यापि छँदै छ।
त्यो दिन म र साथी ज्ञानलाल एउटा विशेष खोजीमा लागेका थियौं। दशैंको अष्टमीको दिनदेखि घरमा मासु-च्युरा खाएको खायै थियौं। बिहानै त्यही, बेलुकै त्यही। मुखमा भात पर्नै पाएको थिएन। स्वाद फेर्न नपाएर जिब्रो लाटिए झैं भएको थियो। साथी र म मासु-च्युराको आतङ्कलाई क्रमभङ्ग गर्न मःम खोजको अभियानमा लागेका थियौं।
त्यति वेलाको काठमाडौं दशैंको सप्तमीपछि सुनसान हुन्थ्यो। त्यो अवस्था तिहारसम्मै लम्बिन्थ्यो। प्रायः मःम पसल, खाजा घर खुल्ने ठेगान हुँदैनथ्यो। कारण, ती पसलका मालिक र सहायक प्रायः उपत्यका बाहिरकै हुन्थे र रैथाने साहुजीहरू त अझै नखःचखः (भोजभतेर)मै व्यस्त रहन्थे।
त्यो स्थितिमा हाम्रो खोजयात्राले गन्तव्य भेट्नेमा शङ्का नै थियो। एसएलसीको ‘फलामे ढोका’ फोड्ने तयारीमा रहेका हामीलाई यो खोज पनि त्यसकै एक हिस्सा झैं लाग्यो। खल्तीमा ५-५ रुपियाँ बोकेका थियौं। दशैंको दक्षिणा जम्मा पारेकाले दिल खोलेर खर्चिने जोश थियो। मुख्य उद्देश्य मःम खानु थियो, सहायक उद्देश्य कागती सोडा।
साँझ ४ बजे आफ्नै टोलबाट मःम खोज अभियान थाल्यौं। काठमाडौंको कुन टोलको कुन गल्लीमा मःम पसल छ भन्ने ज्ञान भएका हामी कहीं न कहीं कसो खान नपाइएला भनेर ग्वाछिमुगः गल्ली, छ्वासपाखा गल्ली हुँदै प्याफलको प्रसिद्ध मःम पसलतिर लम्क्यिौं। त्यहाँसम्म पुग्दा एउटा पनि पसल खुलेको थिएन।
त्यहाँबाट हाम्रो यात्रा नरदेवी, टेंगल, इखापोखरी हुँदै क्षेत्रपाटी चोकसम्मका मःम पाइने सम्भावित क्षेत्रसम्म पुग्यो। तर हातलागी शून्य भयो। क्षेत्रपाटीभन्दा माथिको त्यो ठाउँलाई त्यस बेला ‘स्याबजी गां’ अर्थात् केही नपाउने गाउँ भनिन्थ्यो। त्यसैले उत्तरतर्फ नसोझिई सीधै थंहिटि हान्नियौं। त्यहाँ पनि निराश हुनुपर्यो।
धन्न एउटा पसलमा हरियो पर्दा फिरफिर गरेको देखियो। आइन्स्टाइनले युरेका भेटे जस्तै भयो। अधीर भएको हाम्रो लोभी जिब्रो चलमलायो, “साहुजी, मःम छ?”
त्यहाँबाट श्रीघः हुँदै थाय्मरु पुग्दासम्म पनि फस्सा मात्रै भइयो। त्यहाँबाट न्हाय्कं टोल हुँदै त्यौड पुग्यौं। त्यो गल्लीमा एक-दुई वटा मःम पसल खुलै हुनुपर्ने हाम्रो आशा थियो। तर त्यसमा तुषारापात भयो।
असन वरिपरिका उच्च सम्भावना भएका क्षेत्रमा पनि निराशा हात लागेपछि हाम्रो अन्तिम आशाको केन्द्र भोटाहिटीबाट वीर अस्पताल निस्कने गल्ली मात्र रह्यो।
धन्न एउटा पसलमा हरियो पर्दा फिरफिर गरेको देखियो। आइन्स्टाइनले युरेका भेटे जस्तै भयो। अधीर भएको हाम्रो लोभी जिब्रो चलमलायो, “साहुजी, मःम छ?”
“मःम त छ, तर पाक्न ट्याम लाग्छ,” साहुजी बोले।
के खोज्छस् खन्चुवा हलुवा भने झैं भयो। हामी मःमका लागि एकछिन हैन एक जुनी नै प्रतीक्षा गर्न सक्ने अवस्थामा थियौं। तर साहुजीलाई त्यसको सुइँको दिएनौं। आफूलाई सक्दो शान्त देखाएर भन्यौं, “हुन्छ हामी कुर्छौं। दुई प्लेट दिनुस्।”
पर्खाइको त्यो १५-२० मिनेट पनि कति हो कति लामो लाग्यो। अहिले जस्तो हातमा मोबाइल हुने भए त एक घण्टै कुर्न पनि केही थिएन।
धन्न केही बेरमा मःम आयो। खडेरीमा अमृतको घडा भेटिएसरि हत्त न पत्त एउटा मःम मुखमा हुलें। ओहो! स्वाद त कस्तो-कस्तो लाग्यो!
मित्र ज्ञानलालको मुखाकृतिले पनि स्वादको बेस्वादे वर्णन गर्यो। मुखमा हुलेको त जसोतसो निलियो, फेरि टेस्ट गरौं न त भनेर अर्कोे डल्लो मुखमा हालें। त्यो त झनै ठुस्सै गन्हायो।
अब भने साहुजीसँग गुनासो गर्न करै लाग्यो।
साहुजीले रौद्र रूप देखाए। उनी कराउन थाले, “कति दिनपछि पसल खोलेको। फस बोनी हो, ५ रुप्पे त दिनै पर्छ।”
“साहुजी के हो यो? किमा त खाइनसक्नु गन्हाउँछ त। बासी मासु हाल्नु भाको हो?”
“अहिले दशैंमा बासी मासु नभए के छसि (अर्थात् साजी) पाउँछ त?” साहुजी बम्किए। उनले हामीतिरै निशाना दागेर स्पष्टीकरण दिए, “अघिसम्म त गन्हाएको थिएन, पछि कसरी गन्हायो?”
“यस्तो मःम पनि खुवाउने। पैसासैसा दिन्नौं,” भन्यौं।
साहुजीले रौद्र रूप देखाए। उनी कराउन थाले, “कति दिनपछि पसल खोलेको। फस बोनी हो, ५ रुप्पे त दिनै पर्छ।”
साहुजी गब्बर सिंह जस्ता थिए। यस्तासँग हामीले निहुँ नखोज्नु नै श्रेयस्कर ठानेर ५ रुपियाँ तिरेर हिंड्यौं।
आज स्मृति विम्बमा दिव्य चालीस वर्षअघिको त्यो कथा बिरानो गाउँको बिरानो प्रसङ्ग जस्तो लाग्ला। अहिले त काठमाडौं महानगरमा मात्र होइन महानगर छेउछाउका अन्य ठाउँमा पनि दशैं होस् वा तिहार ३६५ दिनै मःम सहित अन्य परिकार पाइन्छन्। अनलाइनबाट अर्डर गर्दा घरै आइपुग्छ।
जीवनको धेरै काल अध्ययनको सिलसिलामा विदेशमा बसें। चार वर्ष भारत बस्दा देश नजिकै भएकाले मःमको तृष्णाले त्यति सताउँदैनथ्यो। तैपनि विभिन्न कारणले तीन-चार महिना नै कलेजको होस्टलमा बस्दा चाहिँ मःम बनाउन आफैंले जोगाड गर्थ्यौं।
राँगाको मासु किन्न नपाइने, चिकेन असाध्यै महँगो (खसीको भन्दा दोब्बर महँगो) हुने हुँदा मटन किमाको मःम बन्थ्यो। मःम पकाउने भाँडो थिएन, पिठो राम्रोसँग पोको पारेर उम्लेको पानीमा हालेर पकाउँथ्यौं। त्यति वेला भारतीयहरूका लागि मःम भनेको रहस्यमय वस्तु नै थियो।
यूरोपमा पढ्न बस्दा पनि वेलामौकामा ‘मःम भेला’ हुन्थ्यो। त्यता चाहिं चिकेन नै सुलभ र सस्तो हुन्थ्यो। परदेशमा मःम पार्टीको दुःख चाहिं मःम बनाउन जान्ने हातहरूभन्दा खाने मुखहरू बढी हुने। अझ अन्तिममा भाँडा माझ्ने वेला कोही पनि नहुने!
अहिले विदेशतिरै छु। एकाध वर्षको अन्तरालमा नेपाल आउने गर्छु। कोरोनाकालपछि नेपाल आउँदा एअरपोर्टमै नारायणदाइको मःम पसल रहेको थाहा पाएर रमाउँदै ‘दुई प्लेट मःम साहुजी’ भन्ने ताकमा पसलतिर लम्केको थिएँ। चार दशकअघि दशैंमा मःम खोज्न हिंडेको वेला जस्तै नमज्जा भयो। पाँच मिनेटअघि पसल बन्द भइसकेको रहेछ। त्यस वेला जहाज उपत्यकाको आकाशमाथि ४५ मिनेट होल्ड गराउने इटीसीसँग कम्ता झोक चलेन!
काठमाडौंका सबैजसो मःम पसल चहार्नेहरूमध्ये म पनि पर्छु होला। अनगिन्ती मःम कर्नरमध्ये केही कर्नर चाहिं जान नहुने खालका छन्। अँ, मःमको खास स्वाद थाहा पाउन चाहिं अचारमा नचोपी र टुक्रा नपारी सिङ्गै मःम मुखमा हुल्नुपर्छ। अचारसचार त शृङ्गार हुन्। मःमको वास्तविक स्वाद मेकअपले ढाक्न सक्छ!
हिमाल दशैं साहित्यका थप सामग्री: