सुरुङमार्गमा जमीन भासिएको स्थानका प्रभावितलाई घरभाडा दिइने
नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमीन भासिएको स्थानका पीडितलाई मासिक घरभाडाको व्यवस्था मिलाउन लागिएको छ।
चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले पीडितलाई तत्काल मासिक घरभाडाको व्यवस्था गर्न सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले जमीन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घरभाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोही अनुसार घरभाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको छ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बैठकमा तत्काल ११ घरपरिवारको विवरण सङ्कलन भएको र उनीहरूलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोही अनुसार व्यवस्थापन गरिने बताए। उनले सुरुङमार्ग आयोजनाले तीन महीनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणा लगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराए।
मेयर गिरीले भने, “नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमीन भासिएको स्थानका प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घरभाडा उपलब्ध गराउन सिफारिश गरिएको छ। मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदन आएपछि थप निर्णय गरिनेछ।”
बैठकमा उपमेयर वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरपालिकाका विभिन्न विषयगत समितिका संयोजक, सुरक्षा संयन्त्रका प्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता साथै निर्माण आयोजनाका प्रतिनिधि उपस्थित थिए।
राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रू’ अवस्थामा पुगेको छ। मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर र आकस्मिक टनेल (रेस्क्यू टनेल) दुई हजार ५७५ मिटर छ। -रासस