एक संरक्षणकर्मीको नसुनिएको कथा
कुनै वेला परिवारको आधार सरह थिए विनोद। तर तीन वर्षअघि गैंडा गणनाका क्रममा हात्तीबाट लडेपछि अहिले उनी कसैको सहारा विना हलचल समेत गर्न नसक्ने अवस्थामा छन्।
२०७७ चैत २०। गैंडा गणनाका लागि चितवनका घरपालुवा हात्तीमा सवार गणक टोली चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नवलपुर मध्यबिन्दु नगरपालिका-२ को गैंडाखालमा पुगेको थियो। त्यहाँ गैंडा गनिसकेर दिउँसो तीन बजेतिर टोली फर्किंदै थियो।
यही वेला घरपालुवा हात्तीको लर्को देखेर वरपरका जंगली हात्तीको समूह झस्कियो। जंगली हात्तीको त्यो हुलमा एउटा कुख्यात र अराजक ‘धुर्बे’ हात्ती पनि थियो। धुर्बेले घरपालुवा हात्तीलाई लखेट्न थाल्यो।
वातावरण त्राहिमाम् भएका वेला गणक टोलीका सदस्य धादिङ ज्वालामुखी गाउँपालिका मैदीका विनोद श्रेष्ठको हात फुस्कियो। उनी हात्तीबाट लडे। भुइँमा बजारिए। धन्न जंगली हात्तीले कुल्चिएन। तर विनोदको गर्धन भाँच्चियो। त्यसपछि विनोदको जीवनमा जे भयो, त्यो कल्पनातीत छ।
“जंगली हात्ती ठ्याक्कै हाम्रो पछाडि आइपुगेको थियो,” विनोदले उक्त क्षण सम्झँदै भने, “लडेकोसम्म थाहा छ। त्यसपछि काठमाडौंमा हेलिकोप्टरबाट ओर्लंदा बुबा र भाइलाई देखेको याद छ। अरू के के भयो केही मेसो छैन।”
घाइते अवस्थाका विनोदलाई हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएको थियो। यसबीच उनको होश आउने र जाने भइरह्यो। तीन पटकसम्म शल्यक्रिया भयो। ७५ दिनको अस्पताल बसाइँमा अधिकांश समय भेन्टिलेटरमै रहे।
“ममीलाई पनि चिन्ता नगर्नुस्, म ठीक हुन्छु भनेको थिएँ रे तर मलाई याद छैन,” विनोद भन्छन्, “श्रीमतीसँग पनि के के कुरा गरेको थिएँ रे। मलाई याद छैन, उसलाई रहेछ। कति खेर होश आउने कति खेर जाने भइरहेछ।”
ह्याम्स अस्पतालपछि उनी साँगामा रहेको स्पाइन इन्जुरी रिह्याबिलिटेसन सेन्टरमा १७ महीना बसे। कोषका करार कर्मचारी श्रेष्ठले कार्यालयबाट ६० प्रतिशत तलब पाइरहेका छन्। त्यो पैसा उनको उपचारका लागि नै पनि अपुग हुन्छ। अस्पतालमा लागेको सम्पूर्ण खर्च त कार्यालयले नै बेहोरेको छ।
घटनाको तीन वर्षपछि अहिले विनोद राम्ररी बोल्न सक्ने भएका छन्, स्मरणशक्ति तन्दुरुस्त छ। तर गर्धनमुनिको भाग चल्दैन। न त हातखुट्टा टेकेरै यताउता गर्न सक्छन्। “त्यस वेला त कसैले पनि बाँच्ला भन्ने सोचेका थिएनन्,” विनोदकी आमा दिलमाया श्रेष्ठले भनिन्।
आत्मविश्वास डगमगाएको छैन
२०४२ सालमा धादिङमा जन्मिएका विनोदले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविबाट विद्यालय शिक्षा पूरा गरे। बुबा कृष्णमान श्रेष्ठको जागीर नेपाल टेलिकममा भएकाले पनि उनले राम्रो शिक्षादीक्षा पाए। पिनाकल एकेडेमी ललितपुरबाट कक्षा १२ सकेर त्रिचन्द्रबाट वातावरण विज्ञानमा स्नातक उत्तीर्ण गरे। स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको वातावरण विज्ञान केन्द्रीय विभागबाट गरे।
यसबीच उनले नेपाल प्रकृति संरक्षण कोषमा कार्यक्रम अधिकृतको जागीर पाइसकेका थिए। आफूले पढेको विषय अनुसारको काम पाउँदा खुशी नहुने कुरै भएन।
संरक्षणको कामका लागि उनी चितवन राष्ट्रिय निकुञ्ज बसे। बाँके तथा बर्दियाको निकुञ्ज घुमे। इमानदारीपूर्वक संरक्षण र समुदायको सहभागिताका लागि कर्तव्य निर्वाह गरे।
२०७५ सालमा थानकोटकी सृष्टि श्रेष्ठसँग उनको विवाह भयो। वातावरण विज्ञानमै स्नातकोत्तर सृष्टिसँग विनोदको पढाइ पनि मिल्यो, मन पनि मिल्यो। तर जीवनको गति बगिरहेकै वेला विवाह गरेको दुई वर्षमै विनोद दुर्घटनामा परे। यो दुर्घटनाले विनोदको सिंगो परिवारको गति अवरुद्ध हुन पुग्यो।
“आफूले रोजे अनुसारकै काम गर्दा यस्तो भयो के गर्नु? रोएर कराएर मात्र नहुने। जे हुनु भइहाल्यो,” विनोदले भने।
अर्थात् विनोदले चित्त बुझाएका छन्। आत्मविश्वास पनि डगमगाएको छैन। “हरेक काममा जोखिम छ। दुर्घटनमा कहिले हुन्छ र को पर्छ भन्न सकिन्न,” उनले भने।
एक वर्षअघि त उनको हात पनि राम्रोसँग चल्दैनथ्यो। अहिले कम्तीमा दाहिने हात चल्न थालको छ। देब्रे हात त अझै चल्न थालेको छैन।
विनोद अहिले दाहिने हातकै सहाराले आइप्याड चलाउन सक्ने भएका छन्। त्यही आइप्याड उनका लागि संसार नियाल्ने साधन भएको छ। संरक्षणको काम कहाँ कहाँ के के भएको छ, त्यसैबाट थाहा पाउँछन्। आफ्ना साथी कहाँ कहाँ के गर्दैछन् त्यसैबाट बुझ्छन्। उनको उत्साहलाई श्रीमतीको आडभरोसाले पनि बल दिएको छ। श्रीमतीले सधैं उनलाई ‘ठीक हुन्छ’, ‘धैर्य गर’, ‘तिमीले कहिल्यै पनि हार नमान’ भनेर ढाडस दिन्छिन्।
सृष्टि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा वातावरण निरीक्षक छिन्। उनी कार्यालय गएका वेला विनोदको स्याहार आमा दिलमायाले गर्छिन्।
“पहिला पनि स्याहारेर हुर्काएकी हुँ। अहिले पनि स्याहार गर्दै छु। दैवले यस्तै लेखिहाल्यो के भन्नु!” आमाले दुःखेसो व्यक्त गरिन्, “आशै मारेको छोरो हो। म मरेर हुने भए मर्थें नि बरु। आफूले भनेर नहुने, परेको भोग्नु बाहेक अरू के गर्नु र?”
अस्पतालमा राख्दा त विनोदलाई भोक लागेको पनि थाहा हुँदैनथ्यो रे। विचार गरेर खुवाउँथिन् आमाले। अहिले भने अलि अलि भोक लागेको हो कि जस्तो हुन्छ रे उनलाई।
आमा थकित हुँदा विनोद वेलावेला सम्झाउँछन्। आमासँग जिस्कन्छन्। कहिलेकाहीं झर्कन्छन्। “आमाको जस्तो निःस्वार्थ माया संसारमा कसैको हुँदैन,” विनोदले भने।
दुर्घटना भएयता उनले के बोध गरेका छन् भने बितेको कुरामा दुःखमनाउ गरेर काम छैन, भोलिको चिन्तामा व्याकुल हुनुको पनि अर्थ छैन। “जति रोएर कराएर हिंडे पनि म पहिलाको जस्तो हुने होइन। जे नहुनुपर्ने भइसक्यो,” विनोद भन्छन्, “औंला चल्न थाल्यो भने लेखपढको काम गर्नुहुन्थ्यो।”
विनोदका केही साथी अहिले कोशीटप्पु वन्यजन्तु आरक्षमा संरक्षण अधिकृत छन्। कोही बर्दिया राष्ट्रिय निकुञ्जमा छन्, कोही चितवन राष्ट्रिय निकुञ्जमा। विनोदलाई थाहा छ- उनी अब त्यसरी कहिल्यै फिल्डमा उत्रन पाउनेछैनन्। शरीरले साथ दियो भने चाहिं संरक्षणका नीतिगत पक्ष र कार्यक्रममा हस्तक्षेप गर्न सक्छु भन्ने आत्मविश्वास उनमा अझै छ।
आज नेपाल प्रकृति संरक्षण कोषले ४१औं वार्षिकोत्सव मनाइरहेको छ। यो ४१ वर्षको दौरानमा नेपालमा संरक्षणमा नमूना काम भएका छन्। वन क्षेत्र दुई दशकमा दोब्बर भएको छ भने १० वर्षको अन्तरालमा बाघको संख्या पनि दोब्बर भई ३५० पुगेको छ। गैंडाको संख्या ७५० भन्दा धेरै छ। र, कोषले आफ्नो ४१ वर्षे यात्रामा हासिल गरेका यस्ता उपलब्धिमा विनोद जस्ता योद्धाको पनि उत्तिकै योगदान छ।