सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मलेन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्ने भएको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि लगानी भित्र्याउन आवश्यक भएको बताए।
लगानी सम्मेलनले कृषि, उद्योग, विकासका क्षेत्रमा लगानी भित्र्याउन मद्दत पुग्ने अपेक्षा रहेको मुख्यमन्त्री शाहले बताए।
शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत् सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताए। संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए।
लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्तालाई सहभागी गराउने निर्णय भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।