कमरेडको भर्ताल
कमरेड लालबहादुर क्षेत्री झ्यालपट्टिको सीटमा गएर विजयी मुद्रामा बस्यो। गदगद हुँदै झ्याल बाहिर मग्न भएर हेर्न थाल्यो। बाहिर खुलेको आकाशको सम्पूर्ण नीलिमा धर्ती छुन निस्किएका सूर्यका किरणले चम्किएको छ।
ऊ फर्कंदै छ। तर उत्साहहीन, उदास र विह्वल।
ऊ डेढ महीनाको बिदामा घर आएको थियो। उसलाई फेरि काममा फर्कूं भन्ने लागेकै थिएन। तर ऊ फर्किरहेको छ। ऊसँग धेरै दुःख भरिएको झोला छ। त्यसैलाई च्यापेर ऊ आफ्नो सीटमा बसेको छ।
उसले झ्यालपट्टिको सीट पाएको छ। तर उसका लागि यो सीट पूरै अर्थहीन भइरहेको छ। बाहिर आकाश पूरै खुलेको छ, त्यस्तैमा उडिरहेको छ जेट। जेट मुन्तिर सुन्दर पहाड र हरियालीले भरिएका खोंच देखिइरहेका छन्। यस्तोमा उसका आँखा झ्याल बाहिर आकाश मुन्तिरका ती मोहक दृश्यमा फैलिनुपर्ने थियो। तर उसका आँखा सब दृश्यबाट असम्पृक्त भइरहेका छन्। उसका लागि यो बिल्कुल उत्साहको उडान हैन।
उसको छेउमा जो बसेको छ, त्यो निकै प्रफुल्लित छ। ऊ आफ्नो सीट झ्यालसँग जोडिएको होस् भन्ने चाहन्थ्यो। तर उसले पाएको सीट नम्बर झ्यालपट्टिको परेन। यस मामिलामा उसलाई अलि खल्लो लाग्दै छ। यो खल्लोपन बाहेक ऊ अत्यन्त मक्ख छ। आनन्दित छ। तर ऊ सँगैको झ्यालपट्टिको त्यस सहयात्री भित्रभित्रै उदास र विह्वल छ।
एमिरेट्स एअरलाइन्सको उडान नम्बर ८८७ को यो जेटका सम्पूर्ण यात्रु सीट भरिएका छन्। ऊ जेटको मध्यभागको टू बाई टू सीट छेउको २७ बी सीटमा छ। ऊ अठतीस वर्षको छ। पहिलो पटक जेट चढ्दै थियो। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटीको सदस्य हो ऊ। पार्टीको जापानस्थित नवगठित प्रवास कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न टोक्यो जाँदै छ। मक्ख छ। सोच्दै छ, जनयुद्धको फल प्राप्त गर्दै छु।
माओवादी पार्टीमा नलागेको भए उसले कुनै कार्यालयको पिउन हुनुपर्ने थियो वा त्यो पनि हुन पाउने थिएन। यस्तो स्थितिमा ऊ कतै कुल्लीको काममा लाग्ने थियो। ऊ आफू पनि यस्तै सोच्ने गर्छ। उसले यस्तो सोच्नुको कारण छ। त्यो हो, पटक पटकको प्रयासमा पनि उसले एसएलसी पास गर्न नसक्नु। यही विफलताले रन्थनिएर तिनताक ऊ गाउँमा हल्लिरहेको थियो। र, कामको खोजीमा इन्डियाको दिल्ली, पंजाब, कानपुरतिर हान्निऊँ कि क्या हो भनेर सोच्दै थियो।
यस्तो सोच्दै दोधारमा बरालिइरहेको ऊ कम्युनिस्ट पो भयो। वेला पनि त्यस्तै थियो। भर्खर सशस्त्र युद्ध शुरू भएको आतङ्कपूर्ण समय थियो। ठाउँ ठाउँमा लूटपाट, हत्या, अपहरण, पक्राउ र यातनाका भयानक घटना भइरहेका थिए। गाउँमा योद्धा र युवा खोज्ने मानिसहरू घुस्दै थिए। यस्तो घूसपैठमा छोरो पर्ला भन्ने उसको बाउको मनमा हुरी चल्न थालेको थियो। त्यस हुन्डरीबाट उसलाई जोगाउन उसको बाउले उसलाई भनिरहन्थ्यो, “एसएलसी पास हुन सकिनस्, बरु काठमान्डु जा।”
“किन?”
“कुनै सीप सिक्।”
“के सीप?”
“केही नभए ड्राइभरी सिक्, सरकारी ड्राइभर हुन् पाइनस् भने पनि ट्याक्सी त चलाउन पाउँछस्।”
तर उसलाई काठमाडौं हैन दिल्ली, कानपुर जान मन लागिरहेको थियो। गाउँका अरू पनि त्यता गइसकेका थिए। तिनकै बहिर्गमनले उसलाई तानिरहेको थियो। त्यसकारण ऊ भित्रभित्रै यसकै योजना बुनिरहेको थियो। यस्तैमा एक दिन बाबुलाई उसले आफ्नो मनको चाह भनेको थियो, “बरु इन्डिया पसूँ कि बा? ड्राइभर हुनुपरे उतैको हुन्छु।”
उसको बाउलाई यो विचार पनि उत्तम लाग्यो।
“हुन्छ, चाहिने बाटो खर्च दिन्छु, जता जान्छस् जा।”
“हो त?”
“हो जा। मान्छे बन्। वेला यै हो।”
यसको केही दिनमा ऊ मान्छे बन्न झोला पिठ्युँमा अड्याएर घरबाट निस्केको थियो। तर भयो कम्युनिस्ट।
बिहानको समय थियो। वातावरणमा घाम चम्के झैं ऊ पनि भित्र-बाहिर चम्किरहेको थियो। उसका पाइला निकै उत्साहित थिए। ऊ वेलैमा तानसेनको बसपार्क पुग्न हिंडेको थियो। तानसेनमा बस चढेर बुटवल, बुटवलबाट सुनवल, त्यहाँबाट गोरखपुर हुँदै दिल्ली पुग्ने लक्ष्यमा थियो। तर पुग्यो रिडी, रिडीबाट प्यूठान, त्यसपछि दाङ, सुर्खेत, चौरजहारी र त्यहाँबाट बर्दियाको बाँसगढी। बाँसगढी आइपुग्दा ऊ घरबाट निस्केको सात वर्ष भइसकेको थियो। उसलाई यस्तो चक्करमा लगाउने सूत्रधार रोकटबहादुर रावल थियो।
त्यस दिन बाटोमा उसलाई पन्ध्र जनाले माथि भीरबाट झर्दै घेरेका थिए। घेर्नेमध्येको एउटाले उसलाई हपार्दै सोधेको थियो, “कहाँ हिंडिस्?”
घरबाट दिल्लीको लक्ष्यमा हिंडेको ऊ त्यस बिहान डाँडाको भित्तैभित्ता, भीरैभीरको गोरेटो हिंड्दाहिंड्दै बीचमै भयानक जत्थाको घेराउमा पर्यो। यो घेराउले उसलाई माओवादी बनायो। अहिले उसलाई त्यसैको उच्च फाइदा भएको छ। त्यस वेला ऊ भूमिगत कम्युनिस्ट थियो। अहिले ऊ खुलेको कम्युनिस्ट, लुकेको कमिशनखोर भएको छ।
त्यस दिन बाटोमा उसलाई पन्ध्र जनाले माथि भीरबाट झर्दै घेरेका थिए। घेर्नेमध्येको एउटाले उसलाई हपार्दै सोधेको थियो, “कहाँ हिंडिस्?”
ऊ दायाँ-बायाँ जवाफ मागिरहेका आतङ्कपूर्ण अनुहारहरूले घेरिएको थियो। उसले जवाफ दियो, “तानसेन।”
“के कामले हिंडिस्?”
उसको जवाफ थियो, “काम छैन।”
अर्डर आयो, “कमरेडहरू! यो फटाहाको झोला चेक गर।”
यस्तो अर्डर गर्ने रोकटबहादुर रावल थियो। त्यही रोकटबहादुर जसले उसको टाउको माओवादीको स्वरूपमा मुडेर उसलाई रिडी, प्यूठान, सल्यान, दाङ, सुर्खेत, चौरजहारी, बर्दियाको अनेक गाउँ हुँदै बाँसगढीसम्मको चक्करमा लगाएको थियो।
रोकटबहादुरले जसतिर हेरेर ‘ए यो फटाहाको झोला चेक गर’ भनेको थियो, त्यसले उसको पिठ्युँबाट झोला थुत्यो। फुर्तीले झोलाको फस्नर सुर्र खोल्यो। झोला घोप्ट्याएर भित्र भएका कमीज, कट्टु, पाइन्ट, रुमाल, भुइँमा झार्यो। अझ भित्र बाँकी केही छुटेको छ कि भनी निर्क्योल गर्न झोला झट्कार्यो। टकटक्यायो। त्यसो गर्दा अन्तमा भित्रबाट पातलो खिरिलो किताब फ्यात्त झर्यो।
“ए के हो त्यो?”
जाँचकी लुरेले भन्यो, “किताब जस्तो छ कमरेड।”
“त्यो त म पनि देख्दै छु, ख्वै ले त।”
जाँचकीले भुइँमा झरेको किताब टिप्यो र नाम पढ्दै रोकटबहादुर रावलतिर तेस्र्यायो, “मुनामदन।”
किताब समाउँदै रोकटबहादुर गर्जियो, “ए मुनामदन पढ्ने! यो त प्रतिक्रियावादी कित्ताको हुनुपर्छ। यसको शरीरको खानतलासी गर।”
खानतलासी गर्दा कट्टुमा बनाएको चोर खल्तीबाट पाँच सय भारु र पाइन्टको खल्तीमा राखेको तीन सय नेरु भेटियो। शङ्का गर्नुपर्ने अरू केही पनि भेटिएन।
अर्डर मुताबिक तीमध्ये केही अगाडि सरेर उसको खानतलासी गर्न थाले। तिनले उसको कुर्कुच्चादेखि रुद्रघन्टीसम्मको सम्पूर्ण शरीर छामे। खानतलासी गर्दा कट्टुमा बनाएको चोर खल्तीबाट पाँच सय भारु र पाइन्टको खल्तीमा राखेको तीन सय नेरु भेटियो। शङ्का गर्नुपर्ने अरू केही पनि भेटिएन।
अहिलेको अवस्थामा उसको सम्पत्ति खानतलासी गर्ने हो भने काठमाडौंमा उसको अढाई तले बंगला भेटिन्छ। बंगलाभित्र महँगा फर्निचर, फिक्चर भेटिन्छन्। सेफ र त्यसभित्र हजारका बिटा र चालीस थान सुनका गहना भेटिन्छन्। केही ब्यांकका पासबूक भेटिन्छन्। लकरको साँचो भेटिन्छ। ब्यांकमा उसकी श्रीमतीको नाममा खोलिएको लकर जाँच गर्ने हो भने पनि त्यसभित्र लालपुर्जा र थप गहना भेटिन्छन्। घरभित्र ड्रइङ रूमका चिल्ला भित्तामा आकर्षक फ्रेममा झुन्डिएका मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ र चे ग्वेभाराका आयातीत चम्किला तस्वीरहरू भेटिन्छन्। त्यही हारमा सुटेडबुटेड कमरेड प्रचण्डको तस्वीर अर्चनार्थ झुन्ड्याइएको देखिन्छ।
तर त्यस बिहान उसको शरीर नङ्ग्याउनेहरूले उसको ज्यानबाट मखैला कमीज, कट्टु, पाइन्ट, रुमाल र त्यही पाँच सय भारु र तीन सय नेरु मात्र भेटेका थिए।
यो सब देखेर रोकटबहादुर रावल कड्केको थियो, “कहाँ हिंडेको होस्?”
“दिल्ली।”
“किन?”
“काम खोज्न।”
“के काम?”
“जे पाइन्छ त्यै।”
“झूट बोल्छस्?”
“हैन।”
“हैन भने अब हामीसँग हिंड्।”
कट्टुमा पिसाब सुलुल्ल बग्ला जस्तो भएको ऊ भनोस् के? भयग्रस्त र मौन रह्यो।
“हिँड्छस् कि नाइँ?”
यस्तो केरकारपछि उम्किन पाउँला भन्ने लागेको थियो उसलाई। तर रोकटबहादुर रावलको यो कडा प्रश्नले ऊ खङग्रङ्ग भयो। उसका ओठमुख पहिलेभन्दा झन् सुके। उसको वरिपरि खुकुरी भिरेका, बन्दूक बोकेका, राइफल भिरेका केटाहरू थिए। तीमध्ये कोही कम्ब्याट ड्रेसमा थिए। कोही प्वाल परेका, च्यातिएका, मखैला क्यामोफ्लाजमा थिए। ती कसैको पनि खुट्टामा एकै रङ र उस्तै किसिमका जुत्ता थिएनन्। कसैको खुट्टामा गोल्डस्टार जुत्ता थियो। कसैले खुलिएको थोत्रो सैनिक बूट लगाएका थिए। कसैका खुट्टा चप्पलको भरमा उभिएको थियो। कसैले पुराना र निकै मैला साधारण लुगामै राइफल बोकेका थिए।
यस्तो नौरङ्गी पहिरनका ती गाईजात्राको वेला हँसाउन परेडमा निस्किएका हास्य औतार जस्ता देखिन्थे। तर यथार्थमा ती रोकटबहादुर रावलको नेतृत्वमा खटिएर प्रतिक्रिवादी, सामन्ती दलाल पूँजीवादी जनविरोधी सत्तासँग भिड्न र तिनलाई नामेट पार्न त्यस भेगमा हिंडेका जनसेना थिए। उसलाई घुर्दै रोकटबहादुरले युद्धको महान् लक्ष्यमा हिंडेका आफ्ना लडाकूहरूलाई आदेश दियो, “ल यसलाई लिएर अगाडि बढौं, आज जमालकोटको चौकी हान्नुपर्छ।”
उसलाई बीचमा राखेर लडाकूहरू माथ्लो बुट्याने पाखोको बाटो लागे। भित्रभित्र थर्थराइरहेको ऊ केही बोल्न सक्ने स्थितिमा थिएन। तिनको घेरामा ऊ लुरुलुरु हिंड्न थाल्यो।
यसरी जनसेनासँग मिसिएर हिंड्न बाध्य भएको ऊ रिडी, प्यूठान, सल्यान, दाङ, सुर्खेत, चौरजहारी, बर्दियाका अनेक गाउँ हुँदै बाँसगढी, कोहलपुरसम्म आइपुग्दा कडा तालीम र अनुभवले उसको रूप खरो क्षेत्रीय नेताको भइसकेको थियो।
सशस्त्र युद्धको त्यो त्रासद यात्रामा ऊसँगै कैयौं मारिए, पक्राउ परे। यातनामा परे। गोलीले ढालिए। तर ऊ जोगियो।
त्यस दिन रोकटबहादुर नेतृत्वको डफ्फाको अपहरणमा नपरेको भए ऊ बुटवल, भैरहवा, सुनवल, नौतनुवा, गोरखपुर हुँदै दिल्ली पुग्ने थियो। जनसेना हुने थिएन। कुनै कम्पनीको दरबान वा कुनै रेस्टुरेन्टको जुठा भाँडा बटुल्ने लाले हुने थियो। कमरेड लालबहादुर क्षेत्री हुने थिएन। मारकाट, लूटपाट गर्न, मार्न र मर्न पोख्त तालीमप्राप्त कमरेड हुने थिएन।
उसो त ऊ मारिने, समातिने सम्भावना पनि थियो। तर सशस्त्र युद्धको त्यो त्रासद यात्रामा ऊसँगै कैयौं मारिए, पक्राउ परे। यातनामा परे। गोलीले ढालिए। तर ऊ जोगियो। त्यसको फल अहिले ऊसँग काठमाडौंमा बंगला छ। घडेरीहरू छन्। ब्यांकहरूमा खाता छ। ती खातामा थुप्रै रकम जम्मा गरेको छ।
तस्कर, घुस्याहाहरूलाई कमिशनमा सघाउने शक्तिशाली कमरेड भएको छ ऊ। त्यसकारण पार्टीको सम्मानित केन्द्रीय सदस्य भएको छ। भविष्यको मन्त्री हुने लाइनमा छ। युद्धमा गरेको दुःखको राम्रै भर्ताल पाइरहेको छ। त्यसकारण ऊ सन्तुष्ट छ। तर यस्तो सम्मानित नेता भएर पनि अहिले झ्यालको सीट नपाएकोमा उसलाई खल्लो लाग्दै छ।
त्यसकारण झ्यालतिर बसेको सहयात्रीलाई वेलावेला ईर्ष्याले घुर्छ, जो उत्साहहीन, उदास र विह्वल मुद्रामा बसेको छ। ऊ कतार जाँदै छ। त्यहाँ ऊ एउटा कन्स्ट्रक्सन कम्पनीको जनरल लेबरका रूपमा खटाइएका साइटहरूमा गएर काम गर्छ। त्यस कम्पनीको ज्यामी भएर काम गर्न थालेको पन्ध्र वर्ष भयो।
हरेक तीन वर्षमा ऊ घर आउँछ। फर्कने वेला यस्तै उत्साहहीन रहन्छ। हरेक पटक घर आउँदा अब यो सकसको काममा फर्कन्नँ भन्ने सोचमा हुन्छ। तर घरको हालतले उसलाई फर्कन बाध्य पार्छ। सर्लाहीको छतिवन गाउँको हो ऊ। घरले चर्चेको तीन कट्ठा बारी र सात कट्ठा खेत बाहेक गाउँमा उसको उब्जनीबाट कमाइ हुने अरू खेतबारी छैन। उसको बाउले उसका दिदीबहिनी र उसलाई खेतीवालहरूको खेतबारी खनजोत गरेर हुर्काएको हो। यो दुःखमा पालिएको उसले बाह्र कक्षा पास गरेको छ। यो पढाइ देखाएर उसले कतै बाह्र सयको पनि नोकरी पाएन। अनेक दलाल कम्पनीहरूको अफिस धाउँदा धाउँदा मेसो मिलेपछि कतार जान पाएको थियो।
कतारबाट रकम पठाउन पाएपछि उसका आश्रितहरूको पेट भरिन थालेको छ। उसकी स्वास्नी र छोराछोरीले आङ ढाक्ने पूरा लुगा लगाउन पाएका छन्। उसका पन्ध्र, बाह्र, र नौ वर्षका छोराछोरी स्कूल पढ्दै छन्। ऊ काममा कतार नफर्किने हो भने तिनका पढाइ रोकिन्छ। तिनको मुखमा अन्नका दाना पार्न मुश्किल हुन्छ। यही सम्झेर देश, जिल्ला, गाउँ, टोल, छोराछोरी र श्रीमतीलाई छोडेर फेरि ऊ कतार फर्कन बाध्य हुन्थ्यो अहिले झैं उदास र उत्साहहीन।
उसको छेउमा बसेको कमरेड लालबहादुर क्षेत्री प्रसन्न मुद्रामा छ। उसको मनमा झ्याल नपाएको कुरो मात्र खट्किरहेको छ। त्यसकारण उदास, विह्वल बसिरहेको उसलाई हेर्दै सोच्छ- एकछिनलाई सीट साट्ने कुरा गर्नुपर्यो योसँग।
उसलाई सोधिहाल्यो, “तपाईं कहाँसम्म?”
“कतार हजुर।”
“ए ! के विशेषले होला?”
“म काम गर्छु।”
“कस्तो काम?”
“कन्स्ट्रक्सन कम्पनीको साइटमा गएर ज्यामीको काम गर्ने लेबर हुँ हजुर।”
यस किसिमको जवाफ सुन्नासाथ कमरेड लालबहादुर क्षेत्रीभित्र अत्यन्त रोब जाग्यो। उसले आफ्नो सीट देखाउँदै भनिहाल्यो, “म त्यता बस्छु, तपाईं यता सर्नुस् है।”
“हस् हजुर,” ऊ उठ्यो।
कमरेड लालबहादुर क्षेत्री उसले छोडिदिएको झ्यालपट्टिको सीटमा गएर विजयी मुद्रामा बस्यो। अब ऊ गदगद हुँदै झ्याल बाहिर मग्न भएर हेर्न थाल्यो। बाहिर खुलेको आकाशको सम्पूर्ण निलिमा धर्ती छुन निस्किएका सूर्यका किरणले चम्किएको छ। नीलो आकाशमा घामका किरणको यस्तो उल्लास देखेर चकित छ झ्याल हत्याउन पाएको प्रफुल्लित कमरेड लालबहादुर क्षेत्री।
जेट तेत्तीस हजार फिटको उचाइमा उड्दै छ। यो जानकारी फ्लाइट क्याप्टेनले माइकबाट भर्खर यात्रुहरूलाई सुनायो। सुन्नासाथ कमरेड लालबहादुर झ्यालबाट मुनि हेर्दै रोमाञ्चित, आह्लादित हुँदै छ। उसको छेउको सीटमा देश, जिल्ला, गाउँ, टोल, छोराछोरी र श्रीमती छोडेर मजदूरी गर्न फेरि तीन वर्षका लागि निस्किएको उस्मान कन्स्ट्रक्सन कम्पनीको ज्यामी द्वारिकालाल कानू पूर्ववत् उत्साहहीन, उदास र विह्वल छ। उसको जीवन आह्लादित हुने अवसर नपाएरै उड्ने निश्चित छ।
हिमाल दशैं साहित्यका थप सामग्री: