गाजामा अस्पताल आक्रमणको नेपालद्वारा निन्दा
द्वन्द्वरत कुनै पनि पक्षको सहभागिता उल्लेख नगरीकनै परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनमा भएको अस्पतालमाथिको आक्रमणको निन्दा गरेको छ।
गाजाको अस्पतालमा भएको आक्रमणमा नेपालले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ।
कात्तिक १ गते साँझ ७ बजेतिर गाजाको अल-अहबी अरब अस्पतालमा विस्फोट भएको थियो। त्यसमा करीब ५०० जनाको मृत्यु भएको थियो।
त्यही घटनालाई लिएर परराष्ट्र मन्त्रालयले निर्दोष सर्वसाधारण मारिएकोमा दुःख व्यक्त गरेको हो। ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारण विरुद्ध भएको यो आक्रमणको हामी निन्दा गर्छौं र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं।’
साथै, विज्ञप्तिमा सर्वसाधारण विरुद्ध भएको आक्रमणको निन्दा गरिएको छ। ‘जस्तोसुकै परिस्थितिमा पनि साधारणजनको सुरक्षाका लागि हामी आह्वान गर्छौं। हामी शान्तिमा विश्वास गर्छौं र विवादलाई शान्तिपूर्ण तरीकाले वार्ता मार्फत टुंग्याउन अनुरोध गर्छौं,’ नेपालले भनेको छ।
इजरायलको हमलाका कारण गाजा क्षेत्रको अल-अहबी अरब अस्पतालमा विस्फोट भएको प्यालेस्टिनी अधिकारीहरूको भनाइ छ। जसका कारण बालबालिका सहित ५०० जनाको ज्यान गएको प्यालेस्टाइनले जनाएको छ।
इजरायली सरकारका केही अधिकारीले अस्पताल रहेको भवनमा हमासको कार्यालय भएको भन्दै त्यसमा आक्रमण गरिएको ट्वीट गरेका थिए। चौतर्फी विरोध हुन थालेपछि भने आफूले हमला नगरेको दाबी गर्दै आएका छन्।
प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणका कारण उक्त विस्फोट भएको इजरायलको आरोप छ।
यो पनि पढ्नुहोस्: गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल?