संसारका कुन कुन मुलुकमा छन् प्रवासी नेपाली?
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन र महाधिवेशन काठमाडौंमा जारी छ। असोज ३० मा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गरे।
महाधिवेशन अन्तर्गत बिहीबार नयाँ नेतृत्वका लागि निर्वाचन चलिरहेको छ। निर्वाचनबाट एनआरएनएको आगामी कार्यकालका लागि एक अध्यक्ष, एक महिला र युवा सहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको चयन हुनेछ।
अध्यक्ष पदमा तीन प्रत्याशी छन्। अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष बद्री केसी (रूस), उपाध्यक्ष महेश श्रेष्ठ (जापान) र आरके शर्मा (कतार) प्रतिस्पर्धामा छन्। संसारभरिका विभिन्न देशमा फरक पेशा तथा व्यवसायमा संलग्न प्रवासी नेपाली यसअघि जस्तै यस पटक पनि राजनीतिक दलगत समर्थनका आधारमा प्यानल बनाएर चुनावमा उत्रिएका छन्।
महाधिवेशनमा ८७ समन्वय परिषद्लाई प्रतिनिधित्व गर्ने चार हजार २२७ प्रतिनिधिले मतदान गर्नेछन्। विदेशमा रहेका एनआरएनए प्रतिनिधिले पनि निर्वाचनमा अनलाइन मार्फत भोट दिन सक्नेछन्। एनआरएनएमा ९६ हजार ८५० संगठित सदस्य छन्। यूरोपको साइप्रसदेखि अफ्रिकाको केन्यासम्म नेपाली छरिएका छन्।
विदेशमा रहेका नेपालीको संख्या ठूलो भए पनि एनआरएनएमा आबद्धको संख्या भने तुलनात्मक सानो छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार विदेशमा करीब २२ लाख नेपाली छन्। यसमध्ये एक लाखभन्दा थोरै मात्र एनआरएनए अभियानमा आबद्ध छन्। सबैभन्दा धेरै एनआरएनएमा आबद्ध अस्ट्रेलियाका प्रवासी नेपाली छन्। अस्ट्रेलियाका १५ हजार ३१७ र अमेरिकाका १३ हजार ६९२ नेपाली एनआरएनएका सदस्य छन्।
संसारभरि छरिएका नेपालीलाई एकताबद्ध गर्न सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।
संसारभरि छरिएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न भए पनि नेपालका राजनीतिक दलको आबद्धता नत्यागेको तथा संकुचित र स्वार्थपूर्ण गुटबन्दी गर्ने गरेको भनेर एनआरएनए आलोचित हुने गरेको छ। कतिपय आलोचकले यो संस्थाको सान्दर्भिकता नै गुमिरहेको बताएका छन्।
एनआरएनए संस्थाका संस्थापकमध्येका एक जुगल भुर्तेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “एनआरएन अभियानले आफ्नो सान्दर्भिकतालाई गुमाउँदै गएको देख्दा साह्रै दुःख लाग्छ। देशभित्रको जटिल राजनीतिप्रति कुनै संवेदनशीलता नदेखाई सानो चित्त र ठूला कुरा गर्ने समुदायका केही साथीको प्रवृत्तिले समग्र अभियानलाई ठूलो क्षति पुगेको छ। हरेक पटक यो सम्मेलन कहिले सकिन्छ जस्तो नपारौं न हौ।”
सम्मेलन अन्तर्गत आयोजित छलफल सत्रमा नेकपा (एकीकृत समाजवादी) नेत्री रामकुमारी झाँक्रीले प्रवासी नेपालीबारे गरेको टिप्पणीको चर्चा भइरहेको छ। नेत्री झाँक्रीले प्रवासी नेपालीलाई राजनीतिक अधिकार सहितको नागरिकता दिन नहुने भनी टिप्पणी गरेकी थिइन्। नागरिकता नियमावली मार्फत सरकारले प्रवासी नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिकता वितरण शुरू गरेको छ।