हङकङ विरुद्धको खेलमा नेपालको सहज जित
त्रिदेशीय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले सहज जित हासिल गरेको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहीबार नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि आशिफ शेखले ४२, रोहित पौडेलले २५ र गुल्सन झाले १४ रन बनाए। हङकङका लागि इसान खानले तीन र याशिम मुर्ताजाले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो। हङकङका लागि याशिम मुर्ताजाले ३६ र जीशन अलीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
त्यस्तै, नेपालका लागि करण केसीले चार, सोमपाल कामी र अभिनाश बोहराले दुई-दुई तथा कुशल मल्ल र मौसम ढाकालले एक-एक विकेट लिए।
यो जितेसँगै नेपालले चार अंक जोडेको छ। यसअघि कात्तिक १ मा भएको खेलमा यूएईलाई पराजित गरेको थियो। हङकङ र यूएईले भने अंक जोड्न सकेका छैनन्।
अब शनिबार नेपाल र हङकङबीच दोस्रो खेल हुनेछ।