घरजग्गा कारोबार सुधारतिर
गत जेठयता लगातार घटेको घरजग्गाको किनबेच असोज महीनामा सामान्य सुधारतिर गएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोजमा देशभरिका मालपोत कार्यालयबाट ३९ हजार ७९३ वटा घरजग्गाको लिखत पारित भयो। यो पछिल्लो पाँच महीनायताकै उच्च हो।
भदौमा देशभरिमा ३५ हजार ६८६ वटा घरजग्गाको किनबेच भएको थियो। भदौको तुलनामा असोजमा कारोबार ११.५ प्रतिशतले बढेको हो।
पछिल्लो डेढ वर्षयता घरजग्गा कारोबारमा शिथिलता आएको छ। खासगरी, ब्यांकको बढ्दो ब्याजदर, आर्थिक क्रियाकलापको सुस्तता तथा घरजग्गामा लगानी गर्न नेपाल राष्ट्र ब्यांकको निरुत्साहनका कारण घरजग्गाको बजार शिथिल छ।
गत वर्षको असोजमा देशभरिमा घरजग्गाको कारोबार २५ हजार ७८९ मा खुम्चिएको थियो। त्यसपछि भने क्रमशः कारोबार सुधार हुँदै गत जेठमा ५५ हजार नाघेको थियो। तर दुई वर्षअघिको तुलनामा यी सबै कारोबार निकै न्यून हुन्। दुई वर्षअघि हरेक महीना देशभरिमा ७० हजार हाराहारीमा घरजग्गाको किनबेच हुने गरेको थियो।
व्यवसायीले यसअघि जग्गाको कित्ताकाटमा लगाइएको रोकका कारण कारोबार खस्किएको बताउँदै आएका थिए। अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले गत साउन मसान्तमा जग्गाको कित्ताकाटलाई सजिलो बनाउन भू-उपयोग नियमावलीमा संशोधन गरेको थियो।
कित्ताकाट खुले पनि भदौमा कारोबार भने झन् खस्किएको थियो। असोजमा भने कारोबार बढेको छ। असोजमा कारोबार बढेपछि राजस्व पनि चार अर्ब ४४ करोड रुपैयाँ उठेको छ। यो भदौमा तीन अर्ब रुपैयाँ हाराहारी मात्रै थियो।
अघिल्लो महीनाको तुलनामा असोजमा घरजग्गा कारोबारमा सुधार आए पनि अहिलेको स्थितिमा बजार पूर्ण रूपमा चलायमान हुन भने कठिन रहेको व्यवसायीले नै बताउने गरेका छन्। घरजग्गाका विषयमा सरकारले लचक नीति नलियुन्जेल बजार चलायमान हुन नसक्ने उनीहरूको तर्क छ।