गरिन् आत्महत्या त्यहीं सिर्जनाले! (कविता)
म उठ्दा घरै जुर्मुराएर उठ्छ,
कुचोले कुटे जोसुकै उठ्छ उठ्छ!
प्रभा-तै छुट्यो रे यतै अल्झिनाले,
भनी आत्महत्या गरिन् सिर्जनाले!
म पानी भरूँ या कि कोरूँ सलाई?
सधैं हुन्छ अन्योल यस्तै मलाई!
सधैं द्वन्द्वकै छालमा पौडिनाले,
गरिन् आत्महत्या स्वयं सिर्जनाले!
म भान्छा पसूँ या कि धाऊँ पँधेरी?
व्यवस्था मिलाऊँ कतातर्फ हेरी?
यता हेर्छु भन्दा, उता छुट्छ साथी!
सबैको सँगै दृष्टि पर्ने ममाथि!
यता काउलीका फिला काट्नुपर्ने,
उखेल्दै उता साग ती छाँट्नुपर्ने!
धुलाइहरू गर्नुपर्ने प्रशस्तै,
गृहस्थी बन्यो युद्ध-मैदान जस्तै!
सधैंको हतारो, सधैंको चटारो,
गृहस्थी यही फेरि लाग्दै छ प्यारो!
थिइन् सिर्जना छेउमै, बिर्सिनाले!
गरिन् आत्महत्या कठै! सिर्जनाले!
उता दालले सिट्ट सिट्ठी बजायो,
यता साग संकोच मान्दै लजायो!
उतै ध्यान मेरो गएको हुनाले,
गरिन् आत्महत्या त्यहीं सिर्जनाले!
मिलाएँ लुगा, शब्द भित्रै फसेछन्
निसास्सी निसास्सी लुकेरै बसेछन्!
विना शब्द के बोल्दथिन् भावनाले?
गरिन् आत्महत्या कठै सिर्जनाले!
म साङ्लाहरूले सधैं बेरिएकी,
छताछुल्ल कर्तव्यले घेरिएकी!
ल है पर्ख! भन्दै उता फर्कनाले,
गरिन् आत्महत्या कठै सिर्जनाले!
यता फर्किंदा भत्किएको छ भित्तो,
उता फर्किंदा फूलबारी छ रित्तो!
र मेरो गलामा अनेकौं छ फन्दा,
कतै व्यस्त होला र खै को मभन्दा?
सखी हुन् पुरानी सँगै खेल्न खोज्छिन्,
र मेरा झमेला सँगै झेल्न खोज्छिन् ।
म भ्याउन्नँ खेल्नै! बुझिन् पाहुनाले
गरिन् आत्महत्या सखी सिर्जनाले!
हिमाल दशैं साहित्यका थप सामग्री: