शिवराज अमात्यको कुलो (कविता)
सेतीमा दुवाली बुझेर खानकोटको खेत रोपे जस्तो
सजिलो छैन अमात्यको रोपाइँ
बीउ उखेली, रोपाइँ गरी, भकारीमा राखी
एकै दिनमा कानमा फुरुडी सिउरिए जस्तो
सजिलो त झन् छँदै छैन अमात्यको रोपाइँ
सयौं बिघाको रोपाइँ गर्न कहाँ सकिन्छ र केही दिन, हप्तामा?
इतिहासका पानामा अमात्यको कुलो निरन्तर बगिरहेको छ
अमात्यको कुलो र अमात्यको रोपाइँ भन्नु मात्र हो
अमात्यले शुरू गरेको रोपाइँको आयतन
अमात्यले शुरू गरेको विचारको क्षेत्रफल
कैयौं गुणा दुखेको छ छुक्ना थारूको निधारमा
देशमा प्रजातन्त्र आएकै दिन
खन्न शुरू भयो अमात्यको कुलो,
सात, पन्ध्र, उन्नाइस, छत्तीस र छयालीसमा
खूब खन्यो छुक्नाले अमात्यको कुलो,
खूब बगायो पसिना र रगत
खूब बग्यो कुलोमा पानी र खूब गर्यो अमात्यले रोपाइँ
छुक्नाकै मिहिनेतले बग्यो कुलोमा पानी
छुक्नाकै मौजहानले गरे खेतमा रोपाइँ
भकारी पनि छुक्नाकै खाली रह्यो
भोका पनि छुक्नाकै छावा-छाई रहे।
मिहिनेत अनुसारको मूल्य कसले पाएको छ र यो देशमा?
माओवादी एरिया कमान्डरले भने जस्तो सजिलो छैन
आन्दोलन र परिवर्तन
प्रजातन्त्र आएकै साल छुक्नालाई छाडेर गई जन्नी
जारी बुझाएको काम लागेन
गणतन्त्र आएकै साल मर्यो छुक्नाको छावा
थारू पहाडी आन्दोलन गरेको काम आएन
अमात्यको कुलोसँगै बगे छुक्नाका हजार सपना र खुशी
खोलानाला, नदी र कुलेसा वर्षा नहुँदा मात्र रहेछन् सुन्दर
कुलो पन्यालोको सधैं सुल्टो अर्थ नलाग्दो रहेछ
कसले बनाइरहेछ कुलोलाई सौम्य, शान्त र जीवनको विम्ब?
कहिले खन्छौ विचारको कुलो र कहिले गर्छौ स्वतन्त्रताको रोपाइँ?
छुक्ना डाडु, कसिन बा टुहार जिन्डगी?
सन्दर्भ नोट:
२०१५ सालको आमनिर्वाचनमा डोटीबाट निर्वाचित सांसद शिवराज पन्त बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा मन्त्री भएका थिए। हालको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका विभिन्न वडामा उनको त्यस वेला सयौं बिघा जमीन थियो। खेतमा काम गर्न उनले थारू समुदायका मानिसलाई कमैया राखेका थिए।
चुरे पर्वतको कछाड कालाखोलाबाट उनले आफ्नो खेतका लागि निजी कुलोको व्यवस्था गरेका थिए। उक्त कुलो अहिले खोलाका रूपमा विकसित भएको छ।
केही स्थानीय भाषाका शब्द:
अमात्य: राजाको साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति, मन्त्री
खानकोट: पश्चिम सेती नदी किनारको एक सुन्दर गाउँ
फुरुडी: रोपाइँको मैझारो भएको खुशीयालीमा कानमा लगाइने धानको बीउ।
छावाछाई: थारू भाषामा छोराछोरी
जन्नी: श्रीमती
डाडु: दाजु
बुरचोखाइ: श्रीमतीको जारी बुझेर फिर्ता लिएर लाउने काम
हिमाल दशैं साहित्यका थप सामग्री: