उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
चीन भ्रमण रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो। प्रधानमन्त्री दाहालले बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा श्रेष्ठको उपचार भइरहेको जानकारी गराएको मन्त्री शर्माले बताइन्। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिइन्।
“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ। उपचारका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ केही दिन बेइजिङमा नै रहने जानकारी आएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भनिन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। बैठकमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकूद सम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालय तथा नेपाल र कतारबीच हुने सञ्चार सम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको छ।
बैठकले नजिकिएको चाडपर्व दशैं, तिहार, नेपाल संवत्, छठ लगायत राष्ट्रिय पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ।