अर्जुनको शतकमा नेपालले बनायो ३४७ रन
अर्जुन कुमालले विस्फोटक शतक प्रहार गरेपछि नेपालले साउदी अरबलाई ३४८ रनको लक्ष्य दिएको छ।
मलेशियामा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कपमा बिहीबार नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो। नेपालका लागि कुमालले १११ बलमा १४२ रन बनाए। उनले १७ चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, नेपालका लागि आकाश त्रिपाठीले ८९, दीपक बोहराले २९, विशालबिक्रम केसीले २४, दीपकप्रसाद डुम्रे र दीपक कँडेलले १४-१४ रन बनाए।
साउदी अरबका लागि मोहम्मद अहम्द राजा, मोहम्मद घायुर अहम्द र अब्दुल्लाह सिरजले दुई-दुई तथा जुहैर मुहम्मद र मुजीबुर रहमानले एक-एक विकेट लिए।
नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा साउदी अरबले पाँच ओभरमा तीन विकेट गुमाएर ११ रन बनाएको छ। नेपालका लागि दीपेश कँडेलले दुई र सुवास भण्डारीले एक विकेट लिएका छन्।