शिकार (कथा)
आमा झुन्डिएको घरमा निदाउन सकेन। उसलाई पनि नदी भएर बग्न मन लाग्यो। कहाँ जान्छस् भनेर सोध्नेहरू थिएनन्। नजा है भनेर रोक्ने, छेक्नेहरू पनि थिएनन्। तर सँगै जान्छु भन्ने इन्द्रकला थिई।
यो रेडियो नेपाल हो। अब गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्।
सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मंगलसेनको सुरक्षार्थ तैनाथ सुरक्षा फौजको टोलीमाथि सशस्त्र माओवादी आतङ्ककारीहरूको ठूलो जत्थाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौजतर्फका ४८ सैनिक जवान तथा प्रहरी सुरक्षाकर्मीतर्फ ४९ जना समेत प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र उहाँकी श्रीमती र एक जना हुलाकको कर्मचारी र एक जना स्थानीय गरी जम्मा १०२ जनाको दुःखद निधन भएको छ ...।
सिरानीमा बजिरहेको रेडियो इन्द्रकलाले बन्द गरी। बाहिर ल्याएर भित्ताको किलामा झुन्ड्याई। पालीमा कोचेर राखिएको नाम्लो निकाली। घरभित्र पसी र हँसिया लिएर निस्किई।
भर्खरै पोतिएको दैलोबाट रातो माटोको हल्का बास्ना फैलिएको छ। माटोको सुवास उसका पखालिएको हातबाट पनि गएको छैन।
शरीर नित्य धन्दामा अभ्यस्त छ। तर मस्तिष्कको उडान दैहिक अस्तित्वबाट मुक्त भएर हजारौं माइल पर विचरण गरिरहेछ। यति वेला इन्द्रकला दुई स्वरूपमा विभाजित छे- विचार र व्यवहारमा। विचारमा अस्वाभाविक छे र व्यवहारमा स्वचालित। अनुहारमा सूर्याेदयको प्रभा छैन। छ त केवल शान्त समुद्रको गाम्भीर्य।
हँसिया र नाम्लो लिएर इन्द्रकला पिंढीमा बसी। खाँबोमा टाउको ढल्काई। हँसियाको चुच्चोले माटो कोट्याउँदै टोलाई। केही बेर स्थिर भई। उसको एकोहोरो मनोदशा बुझ्ने कुनै मानवाकृति घरमा छैन। गाईबाख्राले मानवीय संवेदना बुझ्ने कुरै भएन।
केही बेरको स्थिरता भङ्ग गरेर इन्द्रकलाले निकुञ्ज छिर्ने बाटो पछ्याई। त्यसअघि नै त्यो बाटो कसैले पछ्याइसकेको छनक उसलाई पर्यो। बाघ हिंडेको पैतालाका ताजा छाप देखेर इन्द्रकलाको मनमा डरको छेस्को बिझ्यो।
रेडियोको बिहानको समाचारले आज पनि इन्द्रकलाको मन धुम्मिएको छ। महीना दिन भयो, ऊ सपनामा पनि आएको छैन। ‘१५ दिनपछि फर्किन सक्छु है’ भनेको लोग्ने चार महीनासम्म बेखबर छ। खबर बोक्ने हल्कारा रेडियो मात्रै हो। रेडियो सुन्ने साहस पनि अब क्रमशः कमजोर हुँदै गइरहेछ। किनकि युद्ध नभएको दिनै छैनन्। मानिस नमारिएका समाचारहरू नै बज्दैनन्। कुन दिन समाचारमा आफ्नै लोग्नेको नाम आतङ्ककारीको सूचीमा चढेर आउँछ! त्रस्त छे इन्द्रकला।
उसलाई काम गर्ने जाँगर छैन। आलस्य होइन, अनिश्चयको पहाडले थिचेको छ। जीवनप्रतिको अनिश्चय होइन त्यो। एउटा छापामार लोग्नेसँग पुनर्मिलन होला भन्नेमा उसलाई लगभग विश्वास छैन। तर अविश्वासको खडेरीले प्रतीक्षाको पालुवा खाइसकेको छैन। हृदयको कुनै कुनामा आशाको टुकी धिपधिप भए पनि अझै बलिरहेको छ।
दबेदबेको रूखमा चढेर इन्द्रकला घाँस झार्दै थिई, भुइँको आवाजले ऊ झस्किई। लुला भए हातगोडा। के भइरहेछ, एकछिन त उसले ठम्याउनै सकिन।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको गस्ती पनि होइन। सुकेका पातमाथि कुस्ती खेल्ने मानिसहरू पनि छैनन्। शान्त जङ्गलमा यसरी को दौडिरहेछ? केको आवाज हो यस्तो? इन्द्रकलाको मुख सुक्यो।
दबेदबेको रूखमा चढेर इन्द्रकला घाँस झार्दै थिई, भुइँको आवाजले ऊ झस्किई। लुला भए हातगोडा। के भइरहेछ, एकछिन त उसले ठम्याउनै सकिन।
बुट्यानहरू हल्लिएको ठाउँमा इन्द्रकलाले रूखमाथिबाटै आँखा गाडेर हेरी। उसको नजरमा भयानक दृश्य परे।
भाग्दै, छेलिंदै आएकी गर्भिणी मृगमाथि बाघले दाउ खेलिरहेको थियो। थाहा छैन, कुन ठाउँबाट दौडेर यहाँसम्म आफूलाई बचाएर ल्याई।
थाकेर शक्तिहीन भइसकेकी मृग अन्ततः बाघको बलियो झम्टाइमा परी। तीखा नङ्ग्रा ढाडमा गाडिए। उम्किने अन्तिम प्रयास पनि बेकार भयो। निरुपाय गर्भिणी मृगले एउटा लामो चीत्कार छाडेर शिकार बनेको स्वीकार गरी। गर्धनमा दाह्रा गाडिएपछि उसको आर्तनाद पतझर जङ्गलमाथिको आकाश छोएर विलुप्त भयो। घाँटी समाएर बाघले लछारपछार पारिरह्यो। अन्ततः मृग शिथिल भई। एक मृत शिकारमा परिणत भई।
बाघले केहीबेर रगत चुस्यो। रगतको उन्माद पोखिने गरी डुक्रियो। विजयको सङ्केत गरेको हुनुपर्छ। बाघले पुनः नङ्ग्रा गाडेर मृगको छाती फोड्यो। भित्री अङ्गहरूको स्वाद लिनुअघि जिब्रो लपलपायो।
प्रकृतिमा प्रेम मात्र छैन, धोका पनि छ। यो धोका प्रकृतिको विरूपता होइन, नियम र चक्र हो। प्राणी जगत् यसरी नै चलिरहेको छ।
क्षणभरको त्यो दृश्य यति भयानक थियो, शक्तिको पञ्जामा पर्ने निर्बल प्राणीको के हालत हुन्छ, इन्द्रकलाले पहिलो पटक आफ्नै आँखाले देखेकी थिई। निकुञ्जछेउको बस्तीमा बस्न थालेको ६ वर्षसम्म यस्तो दृश्य कहिल्यै देखेकी थिइन। रूखकै हाँगामा उसका खुट्टा लगलग भए। न भुइँमा ओर्लिने साहस भयो न रूखमै अडिने बल बाँकी रह्यो।
अलिक बेरमा धड्कन थामिएपछि इन्द्रकलाले लामो सास फेरी। हातगोडामा शक्ति सञ्चय भए जस्तो भएपछि रूखबाट झरी र आधा भारी घाँस बोकेर घर फर्किई।
समयको ओरालो नदी बगिरह्यो। नथामिने नदीमा इन्द्रकलाका कैयौं एक्ला दिन बगिरहे। तर उसको मगजबाट गर्भिणी मृगको करुण क्रन्दन हराएन। जङ्गलभित्रको स्वाभाविक नियमितता थियो त्यो। हरेक दिनको प्राकृतिक परम्परा थियो। तर उसको मनले त्यो क्रूरतालाई स्वाभाविक मान्न सकेन।
***
भेरी नदीका माछा बोकेर ऊ पहिलो पटक चौरजहारी पुग्दा मानिसहरू युद्धबारे खासखुस गर्दै थिए। भर्खर शुरू भएको थियो युद्ध।
“नाम के हो तेरो?” शम्भु साहुले चियाको कालो किट्लीमा दूध थपे। अलि पर आँगनमा उभिएको छ एउटा कलिलो केटो। जसले माछाको सिल बोकेको छ।
“किशोर।”
“किशोर के?”
“बादी।”
“कसको छोरो होस्?” शम्भुका हातमुख सँगसँगै चल्छन्।
बेन्चमा लहरै बसेका छन् ग्राहक। साहुले ग्राहकलाई चुरोटको खिल्ली टक्र्याए।
केटो एकछिन रोकियो र बोल्यो, “ताराको।”
बेन्चमा बसेको अधबैंसे देखिने ग्राहक मुसुमुसु गर्दै प्वाक्क बोल्यो, “बाउको नाम सोध न ए शम्भु साउ!”
एकाएक चिया पसलमा हलल्ल हाँसोको लहर चल्यो। त्यो हाँसोमा किशोरले अपमान चाख्यो। हिंड्नु कि बस्नुको दोधारे मानसिकता बोकेर पनि ऊ ठिङ्ग उभिरह्यो।
तरकारी केलाइरहेकी शम्भुकी स्वास्नी बोली, “बादीले मारेको माछा पनि के किन्नु! कसलाई खुवाउनु!”
“माछा पनि बाहुनले मार्छन् त? कस्तो कुरा गर्छे यो आइमाई!” साहुका आँखा र शब्दका तीर एकैसाथ स्वास्नीमाथि खनिए।
छानेको चियाको गिलासबाट एक अँगालो बाफ उडेर आकाशमा लहरायो। ती गिलास भर्खरै हाँसो बिसाएका ग्राहकका हातहरूमा पुगेर बाँडिए।
“ए केटी, गिलास छिटो ले!” साहु चर्कियो।
छेउकै धारामा गिलास धोएर एउटी केटी होटलभित्र पसी। खाँबोको छेको लगाएर बाहिर आँगनमा उभिएको किशोरलाई हेरेर मुस्कुराई। किशोरले अलि आँखा गाडेर हेर्यो, त्यो उही इन्द्रकला थिई। क्षेत्रीकी छोरी। केही वर्षअघिका स्कूले सहपाठी थिए दुवै।
गाउँबाट फर्किएपछि अचेल किशोरले भित्तामा मुक्का हान्छ। भाँडा फाल्छ। मुर्मुरिन्छ र बर्बराउँछ। तर आमासँग दोहोरो बोल्दैन।
बाउआमा नदेखेकी इन्द्रकलालाई बोईले पालेकी थिइन्। स्कूल पठाएकी थिइन्। तर बोईले पनि बीचैमा धोका दिइन्। बितिन्। त्यसपछि शम्भुप्रसादले ल्याएर जुठा गिलास माझ्न लगाए।
४० रुपैयाँमा शम्भु साहुले दुई वटै सिलका माछा आफ्नो बनाए।
“माछा राम्रै रैछन्, फेरि फेरि ल्याउँदै गरेस् है केटा,” शम्भुप्रसाद किशोरको नियमित गाहकी बन्न खोजे।
आज पनि अपमानको आगो बोकेर किशोर घर पुग्यो।
पिंढीमा बसेर तारा कपाल कोर्दै थिई। २० का दुई नोट आमाको काखमा फालेर किशोर घरभित्र छिर्यो र रिसले दाह्रा किटेर स्टीलको भाँडालाई लात्ताले बजायो। घरभित्र जम्दै गरेको शान्त साँझ एकाएक छताछुल्ल पोखियो।
“सबै भाँडा लगेर भेरीमा बगाएर आइज, जा!” ताराको पनि कन्सिरी ताते। तर उसलाई थाहा भइसक्यो, आज पनि छोरोले कसैका कुरा सुनेर आएको छ।
“कि मै मर्छु, कि सबलाई एक एक गरी छप्काएर हिंड्छु, रगत पिउँछु यिनीहरूको,” किशोरले भित्तामा एक मुक्का बजार्यो। गाउँबाट फर्किएपछि अचेल किशोरले भित्तामा मुक्का हान्छ। भाँडा फाल्छ। मुर्मुरिन्छ र बर्बराउँछ। तर आमासँग दोहोरो बोल्दैन।
आठ कक्षा चढेको किशोरले स्कूलमा पाइला अड्याउन सकेन। कहिले शरीरमा, कहिले मनमा र कहिले इमानमा चोट बोकेर सधैं घर फर्किनुभन्दा स्कूलै नजाने निर्णयमा पुगेको थियो ऊ। एक साँझ आमालाई भनेको थियो, “बरु भेरीमा माछा मारेर जीवन गुजार्छु।” त्यसपछि किशोरले सम्भावनाको एउटा दैलोमा ताल्चा झुन्ड्याएको थियो।
उसले थापेको बल्छीमा भेरीका माछा अल्झिएर मरिदिन सक्थे, जालमा परिदिन सक्थे, तर समाजले हियाउन छोडेन। अँध्यारो समाजमा प्रश्नको मुर्कुट्टाले उसलाई लखेटिरह्यो। भेरीको जलप्रवाहमा माछाको शिकार गर्दै किशोर टोलाउँथ्यो। उसले सोच्दो हो, आमाको शिकार गर्ने कुनै अमुक मान्छे हो या यो समाज!
“यो ठाउँका मान्छेले मलाई बसिखान नदिने भए अब...” टुकी निभेपछि कोल्टे फेर्दै किशोर दर्दनाक आवाज निकाल्छ। ताराको आँखामा अन्धकारको अर्को लेपन छाउँछ।
घरभित्र आमाछोराका आआफ्ना मनोदशा छन्। आआफ्नै ओछ्यानमा मध्यरातसम्म जागा छन्। छोराका आँखा सुदूर भविष्य नियाल्छन्, दृश्य झन्झन् कठोर देखिन्छ। आमाका आँखा सुदूर अतीततिर फर्किन्छन्, दृश्य कम कारुणिक छैनन्। तर दुवै मौन छन्।
तारालाई लागेको थिएन- छोरो यति छिटै ठूलो हुन्छ, यति बुझ्झकी हुन्छ, समाजले गरेको अपमानको एक एक हिसाब गर्छ। किनकि ताराको जातभन्दा तल अर्को जात छैन। उसले पाएको अपमान, तिरस्कार र घृणाभन्दा निकृष्ट, तुच्छ र अधम रूप छैन। यद्यपि त्यही समाजमा श्रापित ताराको छोराले कसैको नभएको एक टाउको दिमाग लिएर जन्मियो। छोरोको त्यही दिमाग ताराका लागि हैरानी बन्न थालेको छ।
पुरुषको जीवन संघर्षबाट शुरू हुन्छ र स्त्रीको समर्पणबाट। बालकै उमेरको छोराले पुरुष हुनुको अभ्यास शुरू गर्दा ताराले आज फेरि आत्मसमर्पण गर्नुपर्यो।
अर्को दिन छोराको पछि पछि हिंडेर तारा गाविस भवन पुग्नुपर्यो। केही वर्षअघि आमाको पछि लागेर किशोर चौरजहारी पुग्थ्यो। चर्खे पिङको पिर्का जस्तो मान्छेको जीवन कहिले तल, कहिले माथि।
पुरुषको जीवन संघर्षबाट शुरू हुन्छ र स्त्रीको समर्पणबाट। बालकै उमेरको छोराले पुरुष हुनुको अभ्यास शुरू गर्दा ताराले आज फेरि आत्मसमर्पण गर्नुपर्यो।
मुटु काप्यो ताराको। डरलाई पैतालाले कुल्चिंदै गाविसको दैलो टेकेपछि ताराको फोक्सो फुल्यो। निसास्सिए जस्तो भयो।
कार्यालयमा भीड छैन। तर संसार थामेर फुर्सद नपाए जस्तो सचिवले टाउको उठाएर हेर्ने जाँगर गरेन। तारा ढोकामै किंकर्तव्यविमूढ उभिई, किशोरले दुई पटक हात जोड्यो। कलिलो अनुहारले गाविस सचिवको ध्यान तान्न सकेन।
तारालाई कुनै अनुमान छैन, अब के हुनेछ!
“सर, सानो काम लिएर आएको,” केही बेर उभिएपछि अक्मकाउँदै किशोरले अनुनयको बोली निकाल्यो।
“के काम?” सचिवले टाउको नउठाई रूखो आवाजमा भन्यो।
“नागरिकता बनाउनुपर्ने...” बोल्दाबोल्दै उसका शब्द सकिए।
चल्दै गरेको कलमको निब बल्ल रोकियो। सचिवका आँखा उठे। पालैपालो आमा र छोराको अनुहार नियालेका ती आँखामा चरम उपेक्षा झल्किन्थ्यो।
“कसको? कसको नागरिकता?”
“सर, मेरो,” यति भनेर किशोरले आमाको अनुहारमा रङ नाप्यो।
“नाम के हो?”
‘किशोर बादी। आमाको तारा,” आमातर्फ इशारा गर्यो।
“बाउको नागरिकता ल्या’को छ?”
मानौं किशोरको छाती वारपार भएर भर्खरै बन्दूकको गोली बाहिरिएको छ। ढल्नुअघिको भावशून्य अवस्थामा ठिङ्ग उभिएको छ किशोर। बग्दाबग्दैको रगत अचानक धमनीमै जमेको छ। सर्पदंशपछिको अनुहार जस्तो नीलाम्मे भएकी छे तारा।
ओइलाएर झुकेका दुई जोर आँखामा सचिवले प्रश्नको उत्तर भेट्यो। उसका लागि कुनै नयाँ समस्या थिएन। अभिनयमा विनम्रता मिसाएर बोल्यो, “जाऊ, बाउको नागरिकता खोजेर लिएर आऊ। त्यसपछि मात्रै सिफारिश बनाउन मिल्छ।”
चुँडिएको चङ्गा जस्तो भएर आमाछोरा निस्किए।
सुसाउँदै बगेको भेरी हेरेर किशोरले मन स्थिर राख्न सकेन। आमा झुन्डिएको घरमा निदाउन सकेन। उसलाई पनि नदी भएर बग्न मन लाग्यो।
तारालाई घर जान नपरे हुन्थ्यो भन्ने लागिरहेको थियो। घर पुगेपछि रात नपरे हुन्थ्यो भन्ने सोच्दै थिई। केही महीनाअघि तारालाई समाजसँग डर लाग्थ्यो। त्यसपछि छोरासँग। छोरासँगको डर आजैबाट हरायो। किनकि आफैंसँगको डर मौलाएको छ। आफैंसँगको डरले मान्छेलाई बढी कायर बनाउँदो रहेछ।
रात छिप्पिंदै गयो। एक हजार रातको अन्धकार बोकेर आमाछोरा मौनताको ओछ्यानमा सुस्ताए। छोरासँग प्रश्न छ, सोध्ने हिम्मत छैन। आमासँग उत्तर छ, व्यक्त गर्ने हिम्मत छैन। अधबैंसे ताराको हृदय आज साँघुरो र अँध्यारो आकाशबाट टुटेर झरेको छ।
कसले भन्छ, बिहान सधैं उज्यालो बोकेर आउँछ?
घरकै दलिनमा तारालाई झुन्ड्याएर उदाइदियो त्यो बिहान।
कस्तो अप्रत्याशित! कस्तो आकस्मिकता! किशोरका लागि रात सकिएर पनि अर्को रात शुरू भयो। उसको जीवनमा अब त्यो बिहान कहिल्यै आउनेछैन, जुन बिहान पिंढीमा ताराले कपाल कोरिरहेकी हुन्छे।
ताराको आत्महत्याले एक्लो छोराको अन्तिम प्रश्न पनि घाइते भयो।
चुन्नीको पासोमा झुन्डिनुअघि तारा अनेक प्रश्नको पासोमा अर्धजीवित थिई। समाजको प्रश्न, आफन्त र छोराको प्रश्न। अन्त्यमा आफैंमाथिको प्रश्न। रातभर ताराको मौन आर्तनाद र छटपटीको साक्षी अन्धकार मात्र भयो। अनुमान गर्न सकिन्छ, ताराले त्यो छटपटीका बीच अतीतको भ्रमण गरेको हुनुपर्छ। सम्झेको हुनुपर्छ मानिसकै भीडमा एउटा मानिस। अथवा, त्यो एउटा मानिस ठम्याउन नसकेको पनि हुन सक्छ।
इनामेल जस्तो थिई तारा। पोतिन र पोखिन नपाएपछि जमेर आफ्नो रङ्गीन सम्भावना सिध्याउनुपर्यो।
सुसाउँदै बगेको भेरी हेरेर किशोरले मन स्थिर राख्न सकेन। आमा झुन्डिएको घरमा निदाउन सकेन। उसलाई पनि नदी भएर बग्न मन लाग्यो। कहाँ जान्छस् भनेर सोध्नेहरू थिएनन्। नजा है भनेर रोक्ने, छेक्नेहरू पनि थिएनन्। तर सँगै जान्छु भन्ने इन्द्रकला थिई।
एक बिहान दुवैले गाउँ छोडे। तर उनीहरूबाट छोडिएको केही थिएन। कोही थिएन।
उठेर हिंड्न पो कठिन, बैठानका अनेक फाँट प्रतीक्षा गरिरहेको थाहा पाउन त हिंड्नैपर्छ। किशोरले ओरालो खोज्यो। ओरालो पनि एउटा बिन्दुमा पुगेर रोकिन्छ भन्ने थाहा थियो उसलाई। निकुञ्जसँग छोइएको एक लहरे बस्ती। बस्तीको सबैभन्दा विकट कुनोमा किशोरले तरुण समय विसर्जन गरेर गृहस्थ जीवन शुरू गर्यो। भेरीको बहावसँगै बगेर आएको काठको मुढाले फराकिलो बगर पाएर अडिए जस्तो।
***
एक दिन किशोरको सपनामा हुरी चल्यो। एउटा झोक्काले उसको हात समात्यो र अर्को हात इन्द्रकलाले। तर इन्द्रकला कमजोर देखिनुपर्यो। हात छोडेर किशोरलाई छोडिदिनुपर्यो।
सपनाबाट ब्युँझिदा किशोर छापामारमा परिणत भइसकेको थियो। उसको काँधमा भरुवा बन्दूक चढिसकेको थियो। त्यो हतारको कायाकल्प थिएन। वैचारिक विद्रोहको बाटो पहिल्यै पहिल्याएको उसलाई इन्द्रकलाको आँसुले रोक्न सकेन। त्यसपछि एक लहरे बस्तीको एकान्त घरमा इन्द्रकलाका एक्ला रातहरू गुज्रन थाले।
आश्चर्य त इन्द्रकलालाई यो लागिरहेको थियो, तीन वर्षपछि पनि सपनामा त्यो गर्भिणी मृग आउन छाडेकी थिइन। मृगको त्यो अन्तिम चीत्कार मध्यरातमा कतै सुनिन्थ्यो। दिनका कैयौं प्रहरमा त्यही मृगको झल्कोले झस्काउँथ्यो।
मध्य असोज । मध्यरातमा झरी दर्किरहेको छ। सिरानीको रेडियोमा बजिरहेको छ युद्धग्रस्त खबरहरू। झन्डै साढे तीन वर्षपछि कसैले ढोका ढकढक्यायो- ढक् ढक् ढक् ढक् ...।
विना सङ्कोच इन्द्रकलाले ढोका खोली। झरीमा निथ्रक्क भिजेर उभिएको त्यो किशोर नै थियो। माया नमारेको मानिस थियो। तर छोएर पनि विश्वास नलाग्ने सत्य थियो इन्द्रकलाका लागि।
“इन्द्रा, तिम्रो लागि उपहार छोड्न आएको म,” नमीठो फिस्स हाँसोमा किशोर व्यक्त हुन खोज्यो।
झोला खोल्न थालेपछि थाहा भयो, किशोरको बायाँ हातको पञ्जा छैन। अत्तालिएर इन्द्रकलाले किशोरको हात सुमसुम्याई। आँसु झर्यो, आवाज फुटेन। हृदयभित्र विस्फोट जस्तो केही भएको हुनुपर्छ।
“युद्ध हो नि, जे पनि हुन सक्छ,” किशोर ठीकठाक देखिन खोज्यो, “देशका लागि बलिदान गर्नु त गौरवको कुरा हो इन्द्रा।” एउटा छापामार लोग्नेको स्पष्टीकरण कति सस्तो!
झोलाबाट ग्रिनेड निकालेर किशोरले सिरानीमा राख्यो। रातभर किशोरको पञ्जाविहीन पाखुरामा बेरिएर इन्द्रकलाले आँसु बगाइरही।
अर्को दिनभरजसो घरको ढोका खुलेन। छापामारको गुप्तवासभन्दा प्रणय स्वभावले।
झोलाबाट ग्रिनेड निकालेर किशोरले सिरानीमा राख्यो। रातभर किशोरको पञ्जाविहीन पाखुरामा बेरिएर इन्द्रकलाले आँसु बगाइरही।
साँझ परेपछि किशोरले झोला तयार पार्यो। टाढा हेर्ने उत्कण्ठाका कारण नजिकै भएका अमूल्य चिज गुज्रेर जान्छन्। अन्धकारको अनिश्चय छिचोल्दै किशोरले घर छोड्यो। तर यस पटक किशोरले छिटै फर्केर आउँछु भन्न पाएन।
इन्द्रकलालाई किशोरको उपहार सम्झना भयो। उसले सिरानी उल्टाएर हेरी। ग्रिनेड थिएन। सुतेको ओछ्यान छामछुम गर्दा पनि केही भेटिएन।
एक महीनापछि थाहा भयो, किशोरले छोडेर गएको उपहार। त्यो उपहार इन्द्रकलाको पेटमा अङ्कुराउँदै गरेको भ्रूण थियो। त्यो साँझ दैलो खोलेर अन्धकारमा विलीन भएको लोग्नेमा अडिएको स्मृति बिस्तारै ठाउँ सरेर आफ्नै गर्भमा हुर्कंदै गरेको भ्रूणमा केन्द्रित हुन थालेको थियो।
माघको चिसो रात। सिरकभित्र लुटपुटिएकी इन्द्रकला। उसको सिरानीमा सपनाको चरो आएर बस्यो।
निर्जन जङ्गलमा सिमसिमे झरी पर्दै थियो। इन्द्रकलाको मन फुरुङ्ग भयो। उफ्रिन थाली। फूल खेल्दै गरेको आँपको रूखमुनि दुवै हात फैलाएर पानीका थोपा हत्केलामा अड्याउन खोजी। बिस्तारै दर्किंदै गयो पानी र खस्न थाले असिना। इन्द्रकलाका हातमा आँपका फूलहरू पर्न थाले। क्षणभरमै आँपका रहरलाग्दा फूल झरेर भुइँभरि छरिए, बोट नाङ्गो भयो।
चिसो सिरेटोले इन्द्रकला ब्युँझिई। झ्याल खुलै रहेछ। उठेर बन्द गरी। त्यसपछि उसलाई निद्रा लागेन। बिहान गाईबाख्राको सुसेधन्दा सकेर ओछ्यानमै पल्टिरही।
सपनाका गहिरा अर्थ बटुलेर इन्द्रकला घोरिन थाली। त्यस दिन पनि उसको शरीरमा स्फूर्ति थिएन। टोलाउँदै बाटोतिर पुगेकी ऊ धूलोमा फौजी बुटका छाप देखेर टक्क अडिई। ती छापले किशोरको सम्झनालाई झन् ताजा बनाएको थियो। किशोरले घर छोडेको चार महीना भइसकेको थियो। त्यो साँझ इन्द्रकला झन् एक्लो र उदास थिई।
साँझ भर्खरै रातमा कोल्टे फेर्न खोज्दै थियो। रेडियो सिरानीमै सुसाइरहेको थियो। अचानक कसैले ढोका ढकढक्यायो।
लगत्तै इन्द्रकलाको दिमागमा किशोरको सग्लो शरीर निर्माण भयो र हतार हतार उसले ढोका खोली। तर ढोकाअघि उभिएको मानिस किशोर थिएन।
अँध्यारो छिचोलेर इन्द्रकलाका आँखाले ठम्याए, आँगनको छेउमा बर्दीधारी एउटा जत्था थियो, लस्करै उभिएको। इन्द्रकलाको मुख सुक्यो। हातगोडा अस्थिर भए। एउटा अजङ्गको शरीर निहुरिएर जबर्जस्ती ढोकाभित्र प्रवेश गर्यो। ड्याम्म ढोका बन्द गर्यो।
“को हो तपाईं?” भयातुर भावमा इन्द्रकला बोल्न खोजी, तर जिब्रो गाँठो अलल्लिइसकेको थियो।
सानो घरभित्र बर्दीधारीले आँखा घुमायो, “तेरो लोग्ने खोइ?”
ढुङ्गा पिसिए जस्तो उसको आवाज सुनेपछि इन्द्रकलाको आँखामा आँसु देखिए। ऊ गरुडको छायामा लट्ठिएको सर्प जस्तो भई।
“बोल्दैनस् साला रन्..!’’ रिसले तात्तिएर उसले कपाल च्याप्प समात्यो र ओछ्यानमा फाल्यो। कुनामा पछारिएकी इन्द्रकलाले पेट छामी। हात जोडी।
“तेरो पोइको बारेमा बता, के के थाहा छ भन्?”
“मलाई थाहा छैन सर, चार महीनाअघि आउनु भाको थ्यो, त्यसपछि खबर छैन।” इन्द्रकलाका हात अनुनयमा जोडिइरहे। आँखा त्रासमा डुबे।
धिपधिप बल्दै गरेको टुकीलाई बूटधारीले एक लात हान्यो। झ्याप्प अन्धकार पोखिएपछि पर कुनामा पुगेर शीशाको टुकी बजारियो। इन्द्रकलाको चीत्कार पनि सँगसँगै फुट्यो। केही बेरमा मट्टीतेलको गन्ध कोठाभरि छरियो।
अन्धकारमा बर्दीधारीले बेल्ट खोलेको आवाज सुनियो।
एकैछिनमा इन्द्रकलाले तिखो आवाजमा चिच्याई। छटपटाएका हातखुट्टाको आवाज सुनिए। तत्काल मुख थुनिएको हुनुपर्छ, याचनामिश्रित क्रन्दन घाँटीमा आएर रोकियो। त्यो अन्धकारको साम्राज्यमा बाख्राको खोरमा चितुवा पसे झैं थियो अवस्था। मूर्छित इन्द्रकलाको ताकतविहीन शरीरमा बर्दी बिसाएको बर्दीधारी सुसाइरह्यो।
केही बेरमा त्यो फौजी ढोका खोलेर बाहिरियो। बूटको गरप् गरप् आवाजसहित जत्थाले बाटो काट्यो। खुला ढोकाबाट भित्र पसेको मधुरो प्रकाश इन्द्रकलाको आँखामा परे। तर बिस्तारै उसले आँखा बन्द गरी। एक कोठा अन्धकारभित्र बन्द भएका उसका दृष्टि एक ब्रह्माण्ड अन्धकारमा पुगेर समाप्त भए।
महाशून्यताको समय। ओछ्यानमा लम्पसार इन्द्रकलाको शरीर। च्यातिएको सिरानी छेउमा मसिनो आवाजमा बजिरहेछ रेडियो-
...राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७ को मर्म र भावना अनुरूप संविधानको धारा २७ को उपधारा ३ लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ ...।
हिमाल दशैं साहित्यका थप सामग्री: