मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
प्रदेश सभाको बुधबारको बैठकमा सभाध्यक्ष सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेकी छन्। विश्वासको मतको पक्षमा ८६ मत पर्यो भने विपक्षमा पाँच मत पर्यो। मतदानमा ९१ जना सहभागी थिए। ९३ सदस्यीय प्रदेश सभामा विश्वासकाे मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले विश्वासको मत दिए। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विपक्षमा मतदान गरे।
नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री बनाउन एमालेका सांसदले समर्थन गरेका थिए।
यस उपधारामा प्रदेश सभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार पेश गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ।
मुख्यमन्त्री कार्कीले असोज २८ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। साेही दिन उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए। एमालेबाट रामबहादुर राना मगर र कांग्रेसबाट शमशेर राई मन्त्री बनेका छन्।
विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने बताए।