हामी सनातनी कि हिन्दू?
भाजपाले हिन्दूसापेक्ष देश बनाएपछि राजसंस्था ल्याउँछ ठानेर दङ्ग राजावादीहरू र त्यो कपोलकल्पनाबाट तर्सने साम्प्रदायिक, विखण्डनवादी एवं धर्म परिवर्तन गरेकाहरू दुवै भयानक अन्धकारमा छन्।
चारखुट्टे पिङ हाल्छन् धान बाली सप्रियोस् भनेर लाओसका आखा जाति। बाली भित्र्याएपछि एक पटक जमीन छोड्नुपर्छ भन्ने मान्यताले लिङ्गे पिङ हाल्छौं हामी।
आखाहरू धान लगाएको १२०औं दिन अर्थात् अगस्ट (भदौ) महीनाको आखिरीतिर पिङ हाल्छन्, हामी दशैंमा पिङ हाल्छौं प्रायः असोज-कात्तिकतिर। तिनको पिङ उत्सव महीनौं चल्छ। हाम्रो पिङ महीनौं रहन्छ।
यसैले दशैंमा हालिने पिङ बालीनालीसँग सम्बन्धित छ, दशैं चाडसँग होइन।
फसल भित्र्याउने काम सकेपछि नयाँ वर्ष मनाउँछन् लाओसकै भोङ (लेख्दा हमोङ, चीनमा मियाओ भनेर चिनिने र हानपछिको सबैभन्दा बढी जनसंख्या भएको) जाति पनि नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसीर)मा। त्यति वेला गोरु जुधाउँछन्, यहाँ पनि गोरु जुधाइन्छ। प्रसिद्ध गोरु जुधाई चाहिं नुवाकोटको तारुका गाउँको हो।
यसैले दशैंमा गोरु जुधाउने काम बालीनालीसँग सम्बन्धित छ, दशैं चाडसँग होइन। जोत्नुपर्ने दायित्व सकिएपछि उसको प्रिय खेलमा ऊ पनि रमाओस् भनेर यसो गरिएको होला।
भोङहरूले त्यो नयाँ वर्षलाई ‘न्यूज दाव’ भन्छन्। यो न्यूज दाव मध्यएशियादेखि इरान, टर्कीसम्म १२ वटा देशमा नवरोज (नयाँ वर्ष)का नामले मनाइन्छ- गहुँको जमरा उमारेर। हामी ठ्याक्कै जौ उमार्छौं र त्यसलाई जमरा भन्छौं। तिनीहरू मुख्य चाड चार दिनसम्म मनाउँछन्, त्यसपछि जति दिन मनाए पनि हुन्छ। हाम्रो दशैं ठ्याक्कै सप्तमीदेखि दशमी चार दिन मुख्य रूपमा र त्यसपछि पाँच दिनसम्म सामान्यतया मनाइन्छ, जमरा सिउरिएर।
यसैले यो चाड फेरि पनि उब्जनी, कृषि उत्पादनसँग सम्बन्धित छ, देवी र महिषासुर युद्धसँग होइन।
भोङहरूमा त्यो वेला नयाँ लुगा लगाउनुपर्छ- पुरानो लुगाले पुरानै क्लेश, दुःख आदि लिएर आउँछ भनेर र नयाँ लुगाले महिलाहरूलाई कुशल गृहिणी (राम्रो कपडा उत्पादक)हुन् भन्ने सावित पनि गर्छ भनेर। हामी दशैंमा नयाँ लुगा नै लगाउँछौं। नयाँ लुगालाई रेशा दिने बालीनाली (भाङ, अल्लो आदि)कै आवश्यकता हुन्छ, यसैले पनि यो पर्व उब्जनी, उत्पादनसँग सम्बन्धित छ, देवी र संग्रामसँग होइन।
दशैंको ठीक अघि पुर्खाहरूका नाममा सोह्र श्राद्ध शुरू हुन्छ। त्यसको सम्बन्ध पनि उब्जनीसँग छ, देवी संग्रामसँग होइन।
आखाहरूमा पनि विशेषगरी महिलाहरू राम्रा लुगा र गहना लगाउँछन्। त्यसमा सजिएर गाउँछन्, नाच्छन् र उनीहरू बस्ने घरको जुन पाटो हुन्छ, त्यही पाटोमा परिवारका बितेका पुर्खाहरूलाई प्रसाद चढाइन्छ।
यसले दुई कुरा बुझाउँछ- यो खासगरी महिलाहरूलाई विशेष सम्मान दिने चाड हो। यसैले हामी देवी पूजामा लागेका छौं। दोस्रो कुरा, दशैंको ठीक अघि पुर्खाहरूका नाममा सोह्र श्राद्ध शुरू हुन्छ। त्यसको सम्बन्ध पनि उब्जनीसँग छ, देवी संग्रामसँग होइन।
लाओ जातिमा यही अगस्ट (भदौ)मा ‘बोनहोर खाओ पडापदिन’ मनाइन्छ। बितेकाहरूलाई पाकेको चामलको डल्लो चढाउने काम हुन्छ। अब बुझिहालियो सोह्र श्राद्धको जरो।
भन्नाले दशैंको काली संग्रामपूर्व पितृ पन्छाउने कार्य गरिएको होइन, खेतीपाती भित्र्याएपछि अदृश्य रहेर पनि त्यसमा सघाएकोमा पुर्खाहरूलाई धन्यवाद दिने कार्य हो।
भोङ जातिकाहरूका चाहिं त्यही वेला ‘न्यूज दाव’ अन्तर्गत बितेका पुर्खाहरूलाई सम्मानस्वरूप जनावरहरूको बलि दिन्छन्।
यसबाट अझै थप थाहा हुन्छ, दशैंको वेलामा जे हामी बलि दिन्छौं, त्यो वास्तवमा देवीलाई चढाइएकै होइन। पितापुर्खालाई मासु पनि चढाउने कार्यको रूपान्तरण मात्रै हो।
अबुझहरूका निम्ति यहाँ ज्ञानमणि नेपालको नेपाल निरूपणको पेज नं. २५९ बाट एक पंक्ति उद्धृत गरौं- ‘एउटा कुरा चाहिं स्मरणीय छ, प्राचीन पद्धतिको अवशेषका रूपमा निरामिष श्राद्धमा पनि मांस (मासु)को प्रतीकका रूपमा मास अनिवार्य रूपले प्रयोगमा ल्याइँदै छ।’
रातो टीका- रगतको विकल्प नै होइन। कन्फ्यूसियसवादी चीन अक्षराम्भमा रातो टीका लगाउँछन्। त्यसको व्याख्या गर्दा एउटा बेग्लै लेख लेख्नुपर्ने हुन्छ। बुद्धचरितमा अश्वघोषले माराको रङ भनेर गरेको टिप्पणी महाभारतको एक प्रसङ्गको अपव्याख्या हो।
दशैंमा उडाइने चङ्गा आकाशलोकमा रहेका पितृलाई सन्देश पुर्याउन चलाइएको संस्कृति हो र चीनबाट आएको हो भनेर अगाडि नै ‘असहमति-१’ मा लेखिसकियो।
प्रसङ्ग बदलौं
दुर्गा र महिषासुर मर्दिनी, शुम्भ-निशुम्भ र कालरात्रिका यावत् कथा इस्वीको तेस्रो शताब्दीमा लेखिएको मानिने, इन्डियाको गंगाको मैदानको उपज मार्कण्डेय पुराणबाट आएको हो। यो दन्त्यकथा भएको अध्याय देवी महात्म्यलाई पाँचौं शताब्दीमा थपिएको क्षेपक मानिन्छ, त्यस पुराणको।
अर्थात्, युगानुयुगदेखि आएको कृषि उत्पादन, नयाँ वर्ष र पितृपूजालाई देवी महात्म्यले यसरी ढाकिदियो, हामीले हाम्रो प्राचीन संस्कृतिलाई पूरै बिर्सेर गंगाको मैदानको कपोलकल्पनालाई भित्र्यायौं।
खास असुर भनेको अहिलेको सिरियाई इलाकाको शासक असुर वाणपाल हो, जो इसापूर्व सातौं शताब्दीमा त्यस इलाकाको ख्यातिप्राप्त सम्राट् थियो।
हुँदाहुँदा नेपालका जातजातिको एक वर्ग, हाम्रो संहारको खुशीयालीमा मनाइएको चाड भएकाले दशैं हामी मान्दैनौं भन्नेसम्ममा उत्रिन पुगे। गंगाको मैदानले हाम्रो पहाड उक्लेर हामीबीच अनर्थसँग राजनीतिक द्वन्द्व र कलहसम्म थोपरिदियो।
खास असुर भनेको अहिलेको सिरियाई इलाकाको शासक असुर वाणपाल हो, जो इसापूर्व सातौं शताब्दीमा त्यस इलाकाको ख्यातिप्राप्त सम्राट् थियो। ऊपछि असुर नासृपाल र अन्य धेरै असुरहरू त्यहाँ सम्राट् भए (सन्दर्भका लागि इन्टरनेट चहारे हुन्छ)। मार्कण्डेय पुराणले लगभग हजार वर्षपछि त्यही असुर शब्द टिपेको हो। थाहा नपाएपछि के लाग्छ?
यसबीचमा किरात मात्र होइन, खसलाई पनि हियाएर कैयन् पंक्तिहरू गंगाका मैदानमा लेखिए, त्यसको यहाँ फेहरिस्त लेख्न सम्भव छैन।
माथि नयाँ वर्ष, नवरोज शब्दहरू परेका छन्। यसले तीन करोडको मनमा प्रश्न हाल्दिन्छ - दशैं ताका हाम्रो नयाँ वर्ष कसरी पर्छ?
पहिला त सूर्य संवत् (सोलर क्यालेन्डर/इयर) र चन्द्र संवत् (लुनर क्यालेन्डर/इयर) फरक कुरा हुन्, हाम्रा चाडबाड चन्द्र संवत् आधारित हुन्छन् भन्ने बुझ्नुपर्यो।
दोस्रो कुरा, त्यही चन्द्र संवत् भन्ने कुरा पनि कतिपय कात्तिक १५ गते, कतिपय माघ १ गते, कतिपय चैत्र १५ गते आदि आदिबाट शुरू हुन्छन्। र, तीमध्ये कतिपयको नामै छैन भन्ने पनि बुझ्नुपर्यो। दिन, घडी, पलामा आइरहने अन्तर अनुसार कैयन् संवत् एकअर्कासँग विभाजित हुँदै गएर लुनर र लुनिसोलर संवत्सम्म हुन पुगेका छन् भन्ने कुराको ख्याल गर्नुपर्यो।
भन्न खोजिएको, बाली भित्र्याएपछि शुरू हुन्थ्यो एउटा संवत् भन्ने नै बिर्सिइसकियो। मध्यएशियादेखि टर्कीसम्म मनाइने नवरोज चाहिं हाम्रो वैशाखकै एक महीनाको अन्तरमा पर्छ।
फेरि प्रसङ्ग बदलौं
पितृ/पुर्खालाई मासु/रगत चढाउने जाति हौं त हामी? फेरि पनि प्रश्न उठ्न सक्छ।
ठाडो उत्तर छ- निशङ्क रूपमा।
राजेन्द्रविक्रम शाहका वेलामा हनुमानढोकामा दुई गैंडा पालिएका थिए भन्ने पढ्न पाइन्छ - सुन्दरानन्द बाडाको त्रिरत्न सौन्दर्यगाथामा पढिएको हो कि जस्तो पनि लाग्छ।
सम्भव छ, उनी बितेपछि त्यसको रगतले तर्पण दिनलाई राखिएको थियो। मृत गैंडाको भित्र्याँस झिकेपछि खोक्रो भागमा, करङहरूबीच बसेर त्यसको रगतले पुर्खालाई तर्पण दिने चलन रहेछ हाम्रो परम्परामा। सम्भवतः २०३८ सालमा वीरेन्द्रले चितवनमा गैंडा मारेको महेन्द्रलाई तर्पण दिन थियो।
लिम्बूहरूमा डाँफेलाई बलि दिने चलन छ भने याख्खाहरूमा हात्ती र गैंडालाई पनि बलि दिनुपर्ने प्रावधान छ।
बृहत् नेपाली शब्दकोशले दिएको खगौतो शब्दको परिभाषा पढौं- गैंडाको खागको तर्पण दिने पात्र, खागको अर्घौतो। यतिपछि स्पष्टै छ, खगौतो किन बनाइयो भने सधैं गैंडा मार्न सम्भव हुँदैन।
लिम्बूहरूमा डाँफेलाई बलि दिने चलन छ भने याख्खाहरूमा हात्ती र गैंडालाई पनि बलि दिनुपर्ने प्रावधान छ।
पूर्वी नेपालका सतारहरू काग र सारौंलाई बलि दिन्छन्। बोटेहरू फट्याङ्ग्रालाई र थारूहरू परेवालाई बलि दिन्छन्। लाओसका आखा र याख्खामा नाम साम्यता छ। चीनका पुमी र यताका पुमा राईहरूमा नाम मात्रै होइन, केही सांस्कृतिक साम्यता पनि छ। धेरै नै पाको उमेरका थारूहरू आफ्नो छोराले घरमा थुपार्दै गएका खसीबोका देखेर आफू बितेपछि ठूलो भोज दिनेछ भन्दै दङ्ग परेको पंक्तिकार स्वयंले देखेको हो।
यसैले बलिको प्रावधान मैदानी पुराणले ल्याएको हो भन्ने कुरा पनि आफैंमा एक असत्य बुझाइ हो। समाजशास्त्रीहरूलाई इनिमिज्म भन्न पाएपछि पुगिहाल्यो, त्यसमा खोजिपस्नुपर्ने टनटन नै परेन।
इन्डियनहरूले आजभोलि राजपूत र ठकुरी फरक हुन् भनेर विभाजन गर्न थालेका छन्। आफूलाई ठूलो देखाउन त्यहाँका राजपूतहरूले गरेको यो सरासर मूर्खता हो किनभने राजपूत भनेको राजपुत्र हो, शासकको छोरा मात्र। विशेष अर्थ राख्दैन। तर ठाकुर भनेको ठहर (ठाउँ)को प्रमुख अर्थात् शासक हो। यही ठहरबाट थर शब्द बन्ने हो। त्यसैले एशिया र यूरोपियन थरहरू अधिकांश स्थाननामले बनेका हुन्। यो बेप्रसङ्गको लाग्ने हरफ कोरेको किनभने इन्डियन राजपूतभन्दा ठूलो नेपालका ठकुरीहरू पुर्खालाई चढाउने भातको डल्लोमा बँदेलको मासु टाँस्छन् भन्ने सुनेकाले।
नेपालका ठकुरी बँदेलप्रेमी र राई-लिम्बू सुँगुरप्रेमी हुन् भन्ने उति वेलै बुझेर होला, गंगाको मैदानमा बनेको गौतमस्मृतिले लेख्यो- ‘बँदेल खान हुन्छ, सुँगुर खान हुँदैन।’ भन्न खोजेको, त्यही सुँगुरको जङ्गली प्रजातिलाई खाने छूट दिएको चाहिं किन, ठकुरीहरूसँग गौतम ऋषि स्वयं डराएकाले?
कम्बोडियाको काम्पोङथोङ प्रान्तमा पितृपूजा गर्दा चामलमा भिजेको मुङ र सुँगुरको मासु राखेर चढाउँछन्। मास इन्डियाको भएकाले टाढाको भयो, मुङ इन्डोनेशियाको भएकाले सजिलै उपलब्ध भएको हुँदा त्यसलाई अपनाएका होलान्।
फेरि प्रसङ्ग बदलौं
बितेका पुर्खालाई त्यत्रो महत्त्व दिन्छौं हामी? फेरि प्रश्न उठ्छ।
पुराना नेवारहरूले बुँइगलको एक भागमा पर्दाले छेक्ने र त्यहाँ मूली मात्र जाने जुन परम्परा थियो, त्यो ख्याक (पुर्खाको कुनै अदृश्य स्थिति)लाई पाल्ने कार्य हो। त्यसैलाई पहाडिया आर्य-खसहरूले वायु राख्ने भन्छन्।
गुठीका कागजमा आउने वायु देवता भनेको त्यही हो। गोर्खा दरबार र सिलखानाका आजपर्यन्त बन्द कोठाहरू त्यसैका निम्ति हुन्।
नेपालकै याज्ञवल्क्यले लेखेको याज्ञवल्क्यस्मृतिलाई उद्धृत गर्दै शिवराज आचार्य कौण्डिन्यायनले किन लेखे- बोकाको मासु नखाए ब्राह्मण नै रहिंदैन।
खली खाने परम्परा पनि त्यसै वायु देवता अर्थात् देवतामा परिणत भइसकेको पुर्खाको आत्मा बोलाउने कार्यको निरन्तरता हो।
नेपाली, बंगाली र मैथली ब्राह्मणहरू मासु खान्छन् भनेर इन्डियनहरू मासु खाने पनि ब्राह्मण हुन्छन्? भन्छन्। यहीबाट ब्राह्मणवाद भनेकै इन्डियन अवधारणा हो, नेपाली होइन भन्ने थाहा हुन्छ। अन्यथा पी.वी. काणेले धर्मशास्त्रका इतिहासमा किन लेखे- मैथिलहरू पितृपूजामा पनि माछा खान्छन्? त्यसको अर्थ हो, आजको गण्डकी नदी पटनाको कर्सेलामा इन्डियन गंगासँग जुन ठाउँमा मिल्छ, त्यो ठाउँसम्मका मानिसहरूले पितृलाई रगत दिन्थे।
नेपालकै याज्ञवल्क्यले लेखेको याज्ञवल्क्यस्मृतिलाई उद्धृत गर्दै शिवराज आचार्य कौण्डिन्यायनले किन लेखे- बोकाको मासु नखाए ब्राह्मण नै रहिंदैन।
भन्न खोजेको, जसरी इन्डियन बुझाइको राजपूत र ठाकुरमा विशाल भिन्नता छ, इन्डियनले बुझेको ब्राह्मण, नेपालीले बुझेको ब्राह्मण नै फरक कुरा हो। यताकाले खालि मनुस्मृतिको नाम सुनेको भरमा बारम्बार त्यसलाई पछारेर भएन किनभने त्यो हाम्रो होइन।
सनातन चरित्र
सनातन मतका दुई वटा अनुहार छन्- एउटा शास्त्रीय र अर्को अशास्त्रीय। शास्त्रीय भनेको तन्त्र हो। अर्को शब्दमा भन्दा वेद, पुराण लेखिनुअघिका जति पनि धामी, झाँक्री, झारफुक, टुनामुनाका (एनिमिस्ट/सामानिस्ट) परम्परा र संस्कृति थियो, तिनलाई बटुलेर वा त्यसमा आधारित रहेर तन्त्रको रूप दिइयो जो आठौं शताब्दीपछि अरू विकसित हुँदै गयो। खासगरी यी उड्डियान (पाकिस्तानमा पर्ने स्वात), दक्षिण इन्डिया, उडिसा आदिमा धेरै लेखिए। नेपालमा लेखिएको भनिने एक मात्र उल्लेखनीय मन्थानभैरवतन्त्र हो। तर तिनले ‘बहुदेववाद’ कै वकालत गर्छन्। अनेक कुराको वैयक्तीकरण गरिएको छ। संक्रमण ग्रन्थ चाहिं अथर्ववेद हो।
दोस्रो अशास्त्रीय रूप भनेको अहिलेका धामीझाँक्रीहरूको अभ्यास, परम्परा र संस्कृति हो जो साउन महीनामा पानीको कञ्चन स्रोतसम्म पुगेर ढ्याङ्ग्रो बजाउँदै आफ्नो साधनाको नवीकरण गर्छन्।
सनातन मतका विशेषताहरू
यसले देवतालाई भन्दा पुर्खाहरू र पुर्खाहरूको आत्मालाई ठूलो मान्दछ। बितेको बराजु पुस्तालाई देवता मानेर तर्पण दिने पुराणको चलन यही सनातन मतबाट आएको हो। त्यस पुस्ता र त्यस अगाडिका सबै पुस्ता देवता मानिन्छन्। भन्नाले, तस्वीर, मूर्ति, थान केहीको आवश्यकता पर्दैन। मनले आफ्ना पुर्खाको अनुहार सम्झनु नै देवताको आराधना मानिन्छ।
यसमा स्वर्ग र नर्कको परिकल्पना गरिंदैन। पितृलोक भन्ने मात्रै हुन्छ र त्यो सामान्यतया आकाशलाई मानिन्छ।
शेर्पा भाषामा मासुलाई स्याब भनिन्छ, त्यही संस्कृतमा शव हुन्छ। त्यसैले जागृत देवता बनाउन ईश्वरीको इ थपेर शिव बनाइन्छ।
बितेका पुर्खाहरूलाई देवता मानिने हुँदा बहुदेवतावाद (पलिथेइज्म) माने जस्तो लाग्छ। तर बितेका सबैलाई ‘शिवसायुज्य’ भनिन्छ अर्थात् शिवस्वरूपमा मिलिसकेका। भन्नाले, मूल मान्यता एक देवतावाद (मोनोथेइज्म) नै हो।
शेर्पा भाषामा मासुलाई स्याब भनिन्छ, त्यही संस्कृतमा शव हुन्छ। त्यसैले जागृत देवता बनाउन ईश्वरीको इ थपेर शिव बनाइन्छ।
यसमा अनेक चार हात, बाह्र हात, सोह्र हात भएका, चार वटा टाउको भएका देवताको परिकल्पना गरिंदैन। त्यसैले शिवका अनेक हात र टाउका हुँदैनन्। एउटै अपवाद बोन मत हो, त्यसमा चाहिं नौ टाउका भएका, बाह्र टाउका भएका सर्पको प्रसङ्ग आउँछ।
यो चन्द्रपात्रो (लुनर क्यालेन्डर) अनुसार चल्ने हुनाले तिथिआश्रित हुन्छ, मितिआश्रित होइन, विसं वा ग्रेगरियन क्यालेन्डर जस्तो। तर यसमा घडी र पलालाई कुनै महत्त्व दिइँदैन। आइन्स्टाइनले भनेकै छन्- समयको धारणा काल्पनिक कुरा हो।
सनातन मतले पुराण, गृहसूत्रबाट आएका कर्मकाण्डलाई मान्दैन। ती हाम्रा होइनन् पनि।
सनातन मतले अवतारवादमा पनि विश्वास गर्दैन। अर्थात्, कृष्ण, रामलाई मान्दैन। यसैले शिवले अवतार लिएको भन्ने धारणा नै छैन।
निश्चय नै इन्डियनहरूले लगाएका र इन्टरनेटमा हालेका सनातनको अर्थसँग पंक्तिकारको आशय मिल्दैन। सनातनको अर्थ हिन्दू पयार्यवाची कसै गरी पनि होइन। तिनले सनातनको मूल अर्थ अज्ञातकालदेखिको भन्ने कुरा बुझेकै लाग्दैन।
हिन्दूका कुरा
यथार्थ १- शब्द नै छैन हिन्दू भन्ने वेद, पुराण, स्मृति, संहिता, गृहसूत्र कहीं पनि। ती मान्नेलाई समेत हिन्दू धर्मावलम्बी भन्नलाई।
हिन्दू संज्ञा अरबीहरूले दिएका हुन् सिन्धु पश्चिमको परम्परालाई। र, हिन्दूस्तान शब्द इन्डियाका तेस्रो मुगल बादशाह अकबरले दिएका हुन्। सिन्धुवारि आएपछि स बदलिएर ह हुन्छ भन्ने दाबी पनि अर्धसत्य हो, मेचीपारिको अहोमलाई अहिले आसाम भनिन्छ।
यथार्थ २- हिन्दूपति भन्ने उपाधि सेनहरूले लिएकाले तिनका राज्यहरू उत्तराधिकारमा पाएका पृथ्वीनारायण शाह पनि आफ्नो भूभागलाई असली हिन्दूस्ताना भन्न बाध्य भए।
हामी हिन्दू होइनौं- नेपालका सुदूरपश्चिम पहाडी क्षेत्रका मतवाली खसदेखि कचनाकेवलका धिमाल र ताप्लेजुङका लेप्चादेखि चाँदनी-दोधाराका थारूसम्म चिच्याउँछन्। उनीहरू सही छन्।
अर्को कारण पनि थियो। अफगानिस्तानको छेउदेखि करीब करीब आसाम र द्रविण इलाका छोडेर दक्षिण इन्डियासम्म मुसलमानहरूको साम्राज्य थियो। यसैले मुगल आधिपत्य नभएको पहाडी भूभाग पो गैरमुस्लिम वा परम्परागत धर्म नमासिएको ठाउँ हो भन्ने अर्थमा उनले असली हिन्दूस्ताना हो भने। आखिर उनले त्यो शब्द प्रयोग गर्दासम्म त्यसको उमेरले १०० वर्षभन्दा बढी नाघिसकेको र व्यापक भइसकेको थियो।
तर हामी हिन्दू होइनौं भन्ने एउटा वर्गविशेषको जायज गुनासोभन्दा बढी उनले असली हिन्दूस्ताना भनेर देशलाई इसाई राज्य बन्न दिएनन् भन्ने छेडपेच र आक्रोशको ध्वनि घन्किएको सुनिन्छ जुन नितान्त गलत हो।
यथार्थ ३- हामी हिन्दू होइनौं- नेपालका सुदूरपश्चिम पहाडी क्षेत्रका मतवाली खसदेखि कचनाकेवलका धिमाल र ताप्लेजुङका लेप्चादेखि चाँदनी-दोधाराका थारूसम्म चिच्याउँछन्। उनीहरू सही छन्।
किनभने नेपालका सबैले (इसाई र इस्लाम बाहेक) शिवलाई मान्दछन्। तर दक्षिण इन्डियाले हुर्काएका विष्णु र बंगालले उब्जाएको ब्रह्मालाई शिवसँग मिसाइदिएर त्रिदेवका नाममा जब शिव मान्ने जति सबैलाई हिन्दू भन्न खोजिन्छ त्यसमा उनीहरूको आपत्ति स्वाभाविक छ।
यथार्थ ४- त्रिदेव भनेर आठौं शताब्दीको कुर्म पुराणले ब्रह्मा, विष्णु, महेश्वर खडा गरिदिएपछि अंग्रेजहरूले त्यसलाई हिन्दू ट्रिनिटी भन्न थालेका हुन्। आफूले पनि क्रिश्चियन ट्रिनिटी (हलिफादर, मेरी र क्राइस्ट) भन्न शुरू गरेका हुन्। दुई हजार वर्षभन्दा अघिको मैत्रायणी उपनिषद्ले त्रिदेवको परिकल्पना गरेको थियो भन्ने चलन भए पनि तलका पंक्तिहरूले कसरी भनेर उल्टै सोध्नेछन्।
ऋग्वेदमा ब्रह्म (युनिभर्स) भन्ने शब्द मात्रै छ, ब्रह्मा नै छैन। ब्रह्मालाई बढीमा चौथो शताब्दीको पद्मपुराणले जन्माइदिएको हो। रुद्र (शिव)सँगै विष्णु नाम वेदमा पाँच ठाउँमा अवश्य आउँछ तर मित्र र वरुण जस्ता सामान्य देवताका रूपमा। विष्णु नामलाई छैटौं शताब्दीपछिका निम्बार्काचार्य (सातौं शताब्दी), माधवाचार्य (चौधौं शताब्दी), वल्लभाचार्य (सोह्रौं शताब्दी) जस्ता दक्षिण इन्डियनहरूले ठूला देवतामा परिणत गरेका हुन् यद्यपि रुद्रको काँधको विषधार (गोमन)लाई विष्णु भन्ने नाममा वैयक्तीकरण गरिएको लाग्छ। छुट्टै अस्तित्वको देवता भन्ने नै बुझिंदैन। अर्थात्, रुद्र वा शिव एउटै देवता छन् यो परम्परामा। नारायण भनेका विष्णु होइनन्, विष्णु भनेका इन्द्र होइनन्, पर्जन्य भनेका इन्द्र होइनन्। बुझाइको समस्या छ। त्यसका लागि अर्कै प्रसङ्ग चाहिन्छ।
आदि-अनादिकालदेखि चल्दै आएको आध्यात्मिक मत अर्थात् वैदिक सनातन, मुन्धुम सनातन, त्रिपिटक सनातन, बोन सनातनको साझा शब्द सनातन भनियो भने त्यो वैज्ञानिक संज्ञा हुन्छ
यथार्थ ५- हिन्दू धर्म मात्रै छ, सनातन भन्ने नै छैन- यस्तो घोषणा इन्डियाका राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत लगायत संघ परिवार (आरएसएस, बजरंग दल, शिव सेना, भाजपा आदि)को नेतृत्व बारम्बार घन्काउँछन्। एक ठूलै अपवाद छन्, गोरखपुर मठका महन्त आदित्यनाथ। उनी चाहिं सनातनको वकालत किन गर्छन् भने उनी शैव धारको गोरखनाथ सम्प्रदायका योगी हुन् र शैव धार सनातन हो। आज ती जानाजान निदाऊन् अर्कै कुरा, इन्दिरा गान्धीका प्रिय मन्त्री वसन्त साठेले जीवनभर सनातनकै वकालत गरे।
सनातन भनेको वेद, पुराण जन्मिनुभन्दा पनि अघिको हो। आदि-अनादिकालदेखि चल्दै आएको आध्यात्मिक मत अर्थात् वैदिक सनातन, मुन्धुम सनातन, त्रिपिटक सनातन, बोन सनातनको साझा शब्द सनातन भनियो भने त्यो वैज्ञानिक संज्ञा हुन्छ। बृहत् नेपाली शब्दकोशले सनातनको परिभाषा यसरी दिएको छ पनि- ‘धेरै अघिदेखि चलिआएको परापूर्वदेखिको, प्राचीन।’
रुद्रको वन्दनाबाट ऋग्वेद शुरू हुने हुँदा वैदिक सनातन भनिएको हो। ‘यस धम्मो सनन्तनो’ (यो धर्म सनातन हो) बुद्धले भनेका हुँदा यहाँ त्रिपिटक सनातन भनिएको हो।
यथार्थ ६- भारतीय जनता पार्टीले इन्डियाको आमनिर्वाचनमा बहुमत ल्याउनका निम्ति त्यहाँका हिन्दूहरूको मत जित्न नेपाललाई हिन्दू राष्ट्र गराएरै छाड्ने छ भन्ने बलियो आत्मविश्वास नेपालमा बढिरहेको छ। तर यो सही लाग्दैन।
पहिलो कुरा, इन्डियाको संघ परिवार विशेषगरी आरएसएस इसाई धर्म विरोधी होइन, जुन धर्म विस्तारका निम्ति नेपाललाई धर्मनिरपेक्ष बनाइएको छ, बरु इस्लाम धर्म विरोधी मात्र हो। त्यसको कारण हो, इन्दिरा गान्धीले दक्षिणपन्थी पार्टीहरू र त्यसका घटकहरूलाई लखेटेको समयमा संघ परिवार पश्चिमकै आडभरोसा लाग्न पुगेको थियो। र, उनीहरूले नै हुर्काएका हुन्। अहिले चाहे नै पनि तिनको इच्छा विपरीत जान सक्ने सामर्थ्य छैन। नेपालीहरूलाई झुक्याइराख्ने मात्रै हो।
दोस्रो कुरा, उसले नेपाललाई हिन्दू राष्ट्र बनाइदिनेछ भन्ने अपार विश्वासले हो वा राष्ट्रभन्दा धर्म ठूलो भन्ने मान्यता भएर हो एक लाखभन्दा बढी नेपालीहरू आरएसएसका सक्रिय सदस्य छन्। त्यसैको हिन्दू स्वयंसेवक संघमा ५० हजारभन्दा बढी सक्रिय छन्। प्राज्ञिक विद्यार्थी परिषद् त्यसैको अङ्ग हो। विवेकानन्दको फाउन्डेशनका नाममा हुने कार्यक्रमहरू उसैका हुन्।
तर यी लगभग दुई लाखले देखेर पनि उपेक्षा गरेको कुरा के भने सन् १९२३ मा नेपाल देश इन्डियाबाट छुट्टिएर गएको हो भनेर इन्टरनेटमा संघ परिवारले नेपाल सहितको बृहत इन्डियाको गेरुरङ्गे नक्शा राख्ने र प्रसार गर्ने गर्दै आएको छ। सो वर्ष नेपालले प्राप्त गरेको अखण्ड सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय मान्यतालाई अस्वीकार गर्ने संघ परिवारको सदस्य हुँदा देशद्रोह ठहर्छ कि ठहर्दैन?
यथार्थ ७- मुस्ताङको दामोदर कुण्डछेउ भरत जन्मिएको प्रसङ्ग आउँछ। २५ सय वर्षअघि लेखिएको भनिने भागवतको पाँचौं स्कन्धमा यसैबाट उसको नाउँ भारत रहेको छ। तिनै भरतको नामबाट नेपालको मध्यपहाडी शृङ्खला महाभारत भएको हुन सक्छ- यद्यपि यो अनुमान हो। यसो लेख्दा एकथरीले महाभारत काव्य २६ सय वर्ष पुरानो हो भन्न सक्नेछन्। तर शुरूमा जय काव्य, त्यसपछि विजय काव्य हुँदै कालान्तरमा महाभारत काव्य हुन पुगेको हो त्यसको नाम भन्ने तिनले ख्याल गर्नुपर्छ।
स्वयंले हिन्दू ट्याग लगाइदिएकाहरूलाई नै स्वयं घोषित हिन्दूले घृणा र निन्दा गर्ने यो चलन दक्षिणबाट मनुस्मृति हुँदै नेपाल भित्रिएको हो। यो हाम्रो सनातन धारको हुँदै होइन।
भन्न खोजेको, हिजोको उसको नाम समेत नेपालले दिएको हो। नेपालको आफ्नै वैकल्पिक संस्कृत नामहरू भने बरु हिमवतखण्ड, जम्बुद्वीप हो। यसर्थ हिन्दू धर्मका नाममा ‘अखण्डे भारत वर्षे’ भन्ने पण्डितहरू र हराउन खोज्ने यी दुई लाख या त चीर निद्रामा छन् या ती निदाएको बहाना गरिरहेका छन्।
यथार्थ ८- अर्को कुरा पनि थपौं।
अटल बिहारी वाजपेयीले महेन्द्रलाई विष्णु अवतार मानेर गोडैमा ढोगेका थिए भन्ने पुराना मानिसहरूको भनाइ छ। तर वीरेन्द्रको परिवारको हत्या हुँदा वाजपेयी नै इन्डियाका प्रधानमन्त्री थिए- बिर्सन मिल्दैन।
सन् १९७० को दशकमा जनता पार्टीको सरकार बन्यो मोरारजी देसाईंको नेतृत्वमा। त्यो मन्त्रिमण्डलको कार्यकालभरि एउटै मन्त्रीले मात्र क्याबिनेट मिटिङमा नेपाल विरोधी प्रस्ताव पेश गरे। ती थिए, अटल बिहारी वाजपेयी- यो लेखोट समय साप्ताहिकमा त्यसका सम्पादक युवराज घिमिरेको हो।
बलरामपुर, उत्तर प्रदेशमा चन्द्रशमशेर राणाकी एक छोरी विवाहित भएकाले पनि बलरामपुर नै निर्वाचन क्षेत्र बनाएका अटल बिहारी वाजपेयीको पार्टी जनसंघ (वर्तमान भाजपा)लाई प्रत्येक आमनिर्वाचनमा महेन्द्रले ठूलै चन्दा दिने गरेको कुरा सर्वज्ञात हो।
तर २०१८ सालमा चितवनमा भएको आजसम्मको सबैभन्दा ठूलो मानिने आखेट- जसमा ४०० हात्तीहरू सामेल थिए- को मौका पारेर तत्कालीन जनसंघीहरूले महेन्द्रलाई प्रस्तावित ‘एशियन कमनवेल्थ’ को पदेन अध्यक्ष हुन आग्रह गरे। महेन्द्रले दुई-दुई पटक आग्रह गर्दा पनि प्रत्युत्तर दिएनन्। अर्थात्, ‘कमनवेल्थ’ को अर्थ के हुन्छ बुझेर नै अस्वीकार गरे।
त्यति वेला जनसंघको कुनै खास शक्ति निश्चय नै थिएन। तर अभीष्ट बुझ्न सकिन्छ। भाजपाको सम्बन्धित विवरण २०३२-३४ बीचको साप्ताहिक हिन्दूस्तान हो या धर्म युग हो- मा उनीहरूकै लेखाइबाट प्रसारित भएको हो।
प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपाल भ्रमणमा आउँदा देवपाटनमा लागेको नारा ‘हर हर मोदी’ उनी अस्ट्रेलिया जाँदा ब्रिस्वेन शहरमा पनि लागेकाले भाजपाको राजनीतिमा ‘प्रोपगान्डा मशिनरी’ प्रबल छ र त्यसले झुक्याउने काम मात्रै गर्छ भन्ने बुझ्नुपर्छ।
यसैले भाजपाले हिन्दूसापेक्ष देश बनाएपछि राजसंस्था ल्याउँछ ठानेर दङ्ग राजावादीहरू र त्यो कपोलकल्पनाबाट तर्सने साम्प्रदायिक, विखण्डनवादी एवं धर्म परिवर्तन गरेकाहरू दुवै भयानक अन्धकारमा छन्।
पंक्तिकारले सुनेको वाक्य यहाँ उद्धृत गरौं। पुरी शंकराचार्य निश्चलानन्दले फोन गरे, ‘क्यों भागवत हमारे धरममे वही एक महाराजा था, तुम ने उस्को भी हटा दिया?’
भागवतले अर्कोतिरबाट भने, ‘स्वामीजी, ये तो लड्डु बाँट्नेका वक्त है। बाँटिए लड्डु। फोन रख दुँ?’
यथार्थ ९- ‘पेगन’ भन्छन् इसाईहरू उनीहरूको मत नमान्नेलाई र आफूलाई क्याथोलिक भन्छन्। पेगनको अर्थ ग्रामीण, टुनामुना गर्ने, पछौटे, असभ्य (बार्बेरियन) हो। र, क्याथोलिकको अर्थ विश्व धर्म मान्ने, सभ्य र सुसंस्कृत हो। उनीहरूको मत लिए मात्र सभ्य र सुसंस्कृत भइन्छ भन्ने चलाखी गरिएको हो यस्तो- धर्म प्रचार गर्नलाई। तर पेगन शब्द बोनको रूपान्तरण हो। जसरी लिम्बूहरू बोन भन्नका निम्ति ब्राह्मण, क्षत्रीलाई पेनेवा भन्छन्।
काफिर भन्छन् इस्लामहरू उनीहरूको मत नमान्नेलाई। अर्थ हो- नास्तिक। र, नास्तिकलाई सफाया गर्नुपर्छ भन्ने उनीहरूको लिखित मान्यता नै छ। उनीहरूको निम्ति एक मात्र ईश्वर अल्लाह हुन्। र, तिनको छातामा नआउने सबै काफिर हुन्।
छुवाछूत इन्डियाबाट भित्रिएको हो र जातव्यवस्था पनि। त्यसलाई सनातन धर्मले आलोचना गर्छ जुन गलत होइन। शिव जनै लगाउँदैनन् नै।
सनातन मतको मान्यता चाहिं के हो भने जसले जे र जस्तोसुकै मत, देवता, पन्थ मानोस् त्यो उसको खुशीको कुरा हो। निन्दा गर्नु असभ्यता र असंस्कृति हो। तर यसको यही उदारता अहिले सबैभन्दा बढी इसाई, इस्लाम र हिन्दू धर्मवादीहरूको पनि प्रकोप र प्रहारमा परेको छ।
किनभने सनातनलाई विकृत पारेर हिन्दू बनेको वैष्णव मत सक्कली सनातन शैव धारको सबैभन्दा ठूलो निन्दक हो। धर्मसापेक्ष पन्थ निरपेक्ष हुनुपर्छ भन्ने मान्यता विपरीत वैष्णव धारमा एकअर्काको पन्थप्रति घृणा व्यक्त गर्ने, छोइछिटो गर्ने घना संस्कृति छ तर भ्यागुता, मुसा र अझ सकेदेखि ठूला ठूला जनावर समेत खाने विषधर स्वयंबाट रूपान्तरित विष्णु भन्ने नाम स्वयं अहिंसात्मक कसरी हुन सक्छ?
स्वयंले हिन्दू ट्याग लगाइदिएकाहरूलाई नै स्वयं घोषित हिन्दूले घृणा र निन्दा गर्ने यो चलन दक्षिणबाट मनुस्मृति हुँदै नेपाल भित्रिएको हो। यो हाम्रो सनातन धारको हुँदै होइन।
यथार्थ १०- छुवाछूतको प्रथा ल्याएकाले हिन्दू धर्म नराम्रो हो र त्यसको विरोध गर्नुपर्छ भन्ने मत गलत हुँदै होइन।
तर पंक्तिकार स्वयंले दुई महीनाअघि मात्रै सामना गरेको दोलखाको घटना- इसाई बाहेक अरूले नछोएको नखाने अभियान त्यहाँ तीव्र रूपमा चलाइएको छ। अर्थात्, आफू इसाईलाई उच्च स्थानमा राखेर त्यस स्थानमा उक्लिनलाई धर्म परिवर्तन गरेर आऊ भन्ने मनसायले छुवाछूतकै सहारा पनि इसाईहरूले लिइरहेका छन्। उनीहरूलाई छुवाछूत संस्कृतिमा आपत्ति भएको होइन। त्यसलाई जसरी हुन्छ आफ्नो प्रचारको औजार बनाउनुपरेको हो।
यद्यपि छुवाछूत इन्डियाबाट भित्रिएको हो र जातव्यवस्था पनि। त्यसलाई सनातन धर्मले आलोचना गर्छ जुन गलत होइन। शिव जनै लगाउँदैनन् नै।
पुछारमा
राजनीतिमा धर्म मिसिनुु हुँदैन भन्ने कुरा यथार्थ हो। तर नेपालको नयाँ संविधान निर्माण नै कसैको अभीष्ट पूरा गर्न भएको छ, नेपाललाई प्रजातान्त्रिक र समुन्नत बनाउन होइन। प्रताप मल्ल, जयप्रकाश मल्ल हुँदै वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहको धर्म परिवर्तन गराएर आफ्नो धर्मलाई राजधर्म बनाउन नसकिएको रिसमा भएका छन् राजनीतिक परिवर्तनहरू। त्यसको भोरजुवामा आफूलाई कट्टर हिन्दू भन्ने पारि देशले च्याँखे थाप्न पनि कहिल्यै छोडेन, समस्या छ।