पृथ्वीनारायण शाहबारे पुस्तक लेख्दा
पृथ्वीनारायण शाहलाई दानवीकरण गर्नु ठूलो मूर्खता हो, तर पृथ्वीनारायणको देवत्वकरणले उनकै मूल्यलाई विघटन गरिरहेको छ।
इतिहास सम्बन्धी छलफल गर्न बनेको एउटा फेसबूक समूह छ। त्यो समूहमा वेलावेला हामी इतिहास सम्बन्धी आफ्ना लेखहरू पनि राख्छौं।
केही साताअघि मैले त्यहाँ पृथ्वीनारायण शाह सम्बन्धी एउटा लेख राखेको थिएँ। कान्तिपुर अधीनस्थ नुवाकोटको उमराव भई बसेका जयन्त रानालाई युद्धका क्रममा राजा पृथ्वीनारायण शाहको आदेशमा गोरखालीहरूले जिउँदै छाला काढेर मारेको इतिहास सम्बन्धी लेख थियो त्यो।
लेखप्रति त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका एक जना प्राध्यापकले प्रतिक्रिया जनाए। उनले लमजुङका भक्ति थापाले जस्तै जयन्त रानाले पनि गोरखाली समक्ष आत्मसमर्पण गरेको भए ज्यान जोगिने थियो भन्ने प्रतिक्रिया व्यक्त गरे। जवाफमा मैले पनि लेखिदिएँ, ‘आत्मसमर्पण गर्ने भक्ति थापा क्षेत्री राष्ट्रिय विभूति भए, नूनको सोझो गर्ने जयन्त राना चाहिं छाला काढिएर मारिए!’
वास्तवमा पृथ्वीनारायण शाहले जुन किसिमले जयन्त रानाको हत्या गराए, त्यो मानवीय मूल्यको थिएन। इतिहासशिरोमणि बाबुराम आचार्यले पनि पृथ्वीनारायण शाहको यस कार्यलाई अमानवीय भनेका छन्।
यति लेखिसक्दा ती प्राध्यापकले मेरो लेखाइमा ‘डलरको खेती’ को गन्ध आएको उल्लेख गरिहाले। स्कूले जीवनमा मलाई कक्षा ८ मा पढाएका र हामी दुवै एउटै नगरवासी भएकाले पनि तिनलाई ‘गुरुदेव’ सम्बोधनका साथ विनम्र भई बिन्ती बिसाएँ- ‘विदेशमा दुःखजिलो गरिरहेको छु। जीविकाका लागि १२ घण्टा काम गर्छु। बचेखुचेको समय इतिहास अध्ययनमा लगाएर प्रमाणप्रमेय केही लेख्ने प्रयास गरिरहेको छु। यदि यस्तो लेख्दा कहींकतैबाट डलर आउँछ भने म लिन तयार छु। बरु गुरुदेवबाट यस सम्बन्धी मार्गदर्शन पाऊँ!’
उसै पनि नेपालको इतिहास ‘राजा-महाराजाहरूको गाथा गाउने’ माध्यम भएको भन्दै यस विषयको बदनाम गर्नेहरूको संख्या कम छैन नेपालमा। त्यसलाई चिरेर लैजानु उत्तिकै जरुरी छ।
मैले यति लेख्नासाथ उनले फेसबूक समूह छाडे। यसअघि पनि मेरो एक लेखमा उनले ‘डलरको खेती’ भएको प्रतिक्रिया दिएका थिए।
आफ्नो मान्यता विपरीत अलिकति पनि फरक तथ्य प्रस्तुत हुनासाथ पढेलेखकाहरू नै यसरी असहिष्णु भएर प्रस्तुत हुन्छन् भने समाजले उनीहरूबाट कस्तो मार्गदर्शनको अपेक्षा गर्ने?
महेशराज पन्तको प्रश्न
घटनालाई इमानदारीपूर्वक जस्ताको तस्तै लेख्नु नै इतिहास हो। संस्कृतको इति-ह-आस शब्दको संश्लेषणबाट इतिहास शब्द बनेको हो। इति भनेको ‘यस्तो’, ह भनेको ‘पक्का’ र आस भनेको ‘थियो’ भन्ने लाग्छ। ‘यस्तो पक्का थियो’ भन्ने प्रमाणको आधारमा गरिएको लेखन नै इतिहास हो।
तर इतिहासका कतिपय प्राध्यापक डाक्टरहरूलाई नेपालको संस्थापन पक्षको गल्ती कमीकमजोरी केलाएर लेखिएको इतिहास सह्य हुँदैन। नेपालका सीमान्तीकृत र आदिवासी जनजातिहरूको अवधारणाबाट नेपालको इतिहास निफन्दा सीधै ‘डलरको खेती’ गरेको देख्छन् उनीहरू।
निरपेक्ष रूपमा सीमान्तीकृतको पक्षबाट इतिहास अध्ययन गर्न सम्भव छैन। राज्य वा शासक पक्षको ऐतिहासिक तथ्यलाई निफन्नै पर्छ। यसो गर्दा शासकहरूले गरेको ज्यादतीका घटनाहरू पन्छाउनै मिल्दैन।
अहिले त्रिभुवन विश्वविद्यालयमा मानविकी संकाय चिन्ताग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। इतिहास विभागको त कुरा गरिसाध्य छैन, विद्यार्थीको ठूलो अभाव छ। यस्तो अवस्था किन आयो भन्नेबारे गम्भीरतापूर्वक सोच्न आवश्यक छ।
एउटा टेलिभिजन कार्यक्रममा डा. महेशराज पन्तले इतिहास विभागका प्राध्यापकहरूको क्षमतामाथि प्रश्न उठाइरहेका थिए। उनले भनेका थिए, “विश्वविद्यालयमा पढाउनेहरू विगतमा यस्तो भयो उस्तो भयो भनेर इतिहासको पाठ त ठीकै पढाउँछन्। तर जंगबहादुर सम्बन्धी ऐतिहासिक सामग्रीहरू भेला गरेर उनीहरूले पढाएका विद्यार्थीहरूलाई दिइए के उनीहरूले जंगबहादुर सम्बन्धी तथ्य इतिहास लेखेर बुझाउन सक्लान्?”
पन्तको यो प्रश्नको जवाफ खोज्नै पर्छ। अन्यथा इतिहास ‘पढेर गरी खान नसकिने विषय’ भई नै रहनेछ, इतिहास विभागका कक्षाहरू विद्यार्थीविहीन भई नै रहनेछन्। इतिहास जस्तो विषय बेवारिसे बन्नेछ।
उसै पनि नेपालको इतिहास ‘राजा-महाराजाहरूको गाथा गाउने’ माध्यम भएको भन्दै यस विषयको बदनाम गर्नेहरूको संख्या कम छैन नेपालमा। त्यसलाई चिरेर लैजानु उत्तिकै जरुरी छ।
‘इतिहासलाई गम्भीरतापूर्वक लिने हो भने संशोधन-मण्डलकहाँ जानू’
इमानसिंह चेम्जोङका पुस्तकहरूलाई गम्भीरतापूर्वक अध्ययन गर्नुअघि ऐतिहासिक शिवकुमार श्रेष्ठ (विसं १९९२-२०७४)सँग कुनै समय मेरो बाक्लो सानिध्य थियो। उनैले ममा इमानसिंह चेम्जोङले लेखेको इतिहासका पुस्तकहरू अध्ययनका लागि जोश भरिदिएका थिए।
इतिहासको जिज्ञासा मेटाउन र समस्या समाधान गर्न उनै संशोधन-मण्डललाई अहिले भ्याईनभ्याई छ। त्रिविका प्रा.डा.हरू इतिहास पढ्ने विद्यार्थी नपाएर फुर्सदिलो हैरानी खेपिरहेका छन्।
तर दुःखको कुरा, नेपालका मूलधारका भनिने ऐतिहासिकहरू भरसक चेम्जोङको नाम लिन चाहँदैनन्। उदाहरणका लागि डा. राजेश गौतमको ४१८ पृष्ठ मोटो इतिहास लेखनको इतिहास (२०५१) मा ऐतिहासिकका रूपमा इमानसिंह चेम्जोङको नाम कहींकतै उल्लेख छैन। अन्य ऐतिहासिकहरूले पनि चेम्जोङको नाम खासै उच्चारण गरेको पाइँदैन।
विसं २०५९ मा चेम्जोङको शतवार्षिकी समारोहमा प्रा.डा. नोबलकिशोर राईले मन्तव्यका क्रममा भनेका थिए, “नेपाली साहित्यमा जसरी भानुभक्त आचार्यले पहिलो हुने भूमिका निर्वाह गरे, लिम्बू समुदायमा इमानसिंह चेम्जोङले भानुभक्तले जस्तै भूमिका खेलेको देखियो भने वैरागी काइँलाले मोतीरामको भूमिका खेल्नुभयो। बाँकी रहेको भूमिका कसले खेल्ने हो, तपाईंहरू आफैं विचार गर्नुहोस्।”
प्रा.डा. राईको यो भनाइलाई मार्गदर्शन मान्दै मैले स्वाध्ययनसँगै इतिहासका स्रोतहरूको जोहो गर्न शुरू गरेको थिएँ। आफ्नै घरको पुरानो बाकसमा पुर्खाको निशानीका रूपमा रहेका ६ पुस्तायताका महत्त्वपूर्ण कागजपत्रको पोको जोहो गर्दै, ऐतिहासिक पृष्ठभूमिहरूका लागि सन्दर्भग्रन्थ सूची तयार पार्दै गएँ।
कुनै समय पत्रकारका रूपमा म धुम्बाराहीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाको घर पुग्ने गरेको थिएँ। काइँलाबाट एक दिन मार्गदर्शन भयो, “इतिहास विषयलाई गम्भीरतापूर्वक लिने हो भने संशोधन-मण्डलकहाँ जानू। उनीहरूबाट इतिहास विषयको ज्ञान मात्र प्राप्त हुँदैन, इतिहासको खोजी र लेखन पद्धति पनि सिक्न सकिन्छ।”
त्यसपछि म कहिले पत्रकार त कहिले इतिहास विषयको जिज्ञासुका रूपमा संशोधन-मण्डल धाउन थालें। बढीजसो दिनेशराज पन्त र कहिलेकाहीं महेशराज पन्तकहाँ।
आफूलाई थाहा भएका तथ्य प्रस्ट पारिदिने र थाहा नभएका पक्षमा ‘यसबारे हामीलाई थाहा भएन’ भनेर प्रस्तुत हुने संशोधन-मण्डलको विशेषता हो। इतिहास अध्ययनमा संशोधन-मण्डलबाटै मैले आफूमा आलोचनात्मक चेतनाको विकास गर्ने अवसर पनि पाएँ।
तर त्रिविका इतिहास विभागका कतिपय प्रा.डा.हरू संशोधन-मण्डलको प्रसङ्ग झिक्दा भन्थे, “ती संशोधन-मण्डलका बूढाहरूको काम छैन।”
जबकि इतिहासको जिज्ञासा मेटाउन र समस्या समाधान गर्न उनै संशोधन-मण्डललाई अहिले भ्याईनभ्याई छ। त्रिविका प्रा.डा.हरू इतिहास पढ्ने विद्यार्थी नपाएर फुर्सदिलो हैरानी खेपिरहेका छन्।
सीमान्तीकृतका धेरै विषय लेख्न बाँकी छन्
सीमान्तीकृत वा कुनै जातिविशेषको इतिहास भनेर संशोधन-मण्डलका सदस्यहरूले इतिहास लेखिदिएका छैनन्। तर संशोधन-मण्डलका प्रकाशन र त्यसमा पनि पूर्णिमा पत्रिकाको अध्ययन गर्दा सीमान्तीकृतको इतिहास लेख्न मिल्ने प्रशस्तै ऐतिहासिक सामग्री प्राप्त गर्न सफल भएँ म।
पृथ्वीनारायण शाहलाई दानवीकरण गर्नु ठूलो मूर्खता हो। तर पृथ्वीनारायणको देवत्वकरणले उनकै मूल्यलाई विघटन गरिरहेको छ।
पूर्णिमाको पूर्णाङ्क ६४ (पृ. १-३)मा दिनेशराज पन्तको ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई विसं १८५० मा लेखेको अप्रकाशित पत्र’ पढेपछि नुवाकोट क्षेत्रमा तामाङहरूले ठूलो विद्रोह गरेको र त्यस वेला एक हजार विद्रोही मारिएको तथ्यले सीमान्तीकृतहरूको इतिहास खोजिरहेको मेरो ध्यानलाई आकर्षित गर्यो।
पूर्णिमाकै पूर्णाङ्क ७५ (पृ. १८)मा महेशराज पन्तको ‘विद्रोहपछि विसं १८५० मा लच्याङका मुर्मीलाई थामिदिई गरिदिइएको, अहिलेसम्म प्रकाशमा नआएको पत्र’ पढ्न पाएपछि मैले ढुक्कले तामाङ विद्रोह-१८५० लेखें।
तामाङ विद्रोहसँगै नेपालमा अन्य सीमान्तीकृतहरूले गरेको विद्रोहलाई समेटेर मैले आदिवासी विद्रोहको इतिहास (२०७६) प्रकाशन गरें। यसबाट किरात एकेडेमी पुरस्कार समेत प्राप्त भयो भने तीन वर्षपछि यसको दोस्रो संस्करण पनि निस्कियो।
त्यसपछि जंगबहादुरको युग र मनोज घर्ती मगरसँग मिलेर मगर इतिहास लेखिसक्दा सीमान्तीकृतहरूको क्षेत्रमा लेख्नुपर्ने त अझै धेरै विषय बाँकी रहेछन् भन्ने महसूस भयो।
एक दिन पत्रकारका रूपमा इतिहास शिरोमणि बाबुराम आचार्यका छोरा प्रा. श्रीकृष्ण आचार्यलाई भेट्न गएको थिएँ। त्यो भेटवार्ता इतिहास शिरोमणिकै जीवनीमाथि केन्द्रित थियो। राणाकालमा बाबुराम आचार्यले भोग्नुपरेको पीडाबारे प्रकाश पार्दै श्रीकृष्ण आचार्यले भनेका थिए, “त्यो वेला जंगबहादुरको जति जय जयकार गर्दा पनि हुने, पृथ्वीनारायण शाहको नाम उच्चारण नै गर्न नहुने!”
त्यो राणाकालको कुरा भयो, जति वेला पृथ्वीनारायण शाहको नाम लिनु अपराध मानिन्थ्यो। यो अतिवाद थियो।
तर अहिले पृथ्वीनारायण शाहका आलोचनात्मक पक्षहरूका बारेमा प्रमाणप्रमेय केही लेखियो भने इतिहासका कतिपय प्राध्यापक यस्तो लेख्नेको कलम भाचुँला झैं सत्तोसरापमा उत्रने गरेका छन्। यस्ता अतिवादी मान्यता भएपछि नेपाली इतिहासले सम्यक् मार्ग लिन सक्छ?
अतिवादी र पूर्वाग्रहपूर्ण मान्यताबाट नेपाली इतिहासको अध्ययनलाई मुक्त गर्न नसक्दा पनि नेपालमा इतिहास विषय भनेकै राजा-महाराजाको गाथा गाउने माध्यम भएको त होइन? जनताको इतिहास अध्ययन गर्ने, लेख्ने र अध्यापन गर्ने परिपाटी किन विकास हुन सकेन?
अनेकौं सत्तोसराप र चुनौतीहरूको सामना गर्दै मैले हालै पृथ्वीनारायण शाह:आलोचनात्मक इतिहास (२०८०) प्रकाशित गरेको छु। पुस्तक प्रकाशनमा ल्याउँदा जति आलोचना बेहोरेको छु, उत्तिकै प्रेम पनि पाएको छु।
जनता र त्यसमा पनि सीमान्तीकृतहरूको इतिहास लेख्दा शासकहरूले गरेको अन्याय र अत्याचार नलेखी हुँदैन। तर लेखन प्रमाणप्रमेय हुनुपर्छ। इतिहास कथ्यले होइन, तथ्यले लेखिने विषय हो। तथ्यले पृथ्वीनारायण शाहका आलोचनात्मक पक्षहरू उद्घाटित हुन्छन् भने तिनलाई सत्तोसराप गर्नुको औचित्य छैन।
पृथ्वीनारायण शाहलाई दानवीकरण गर्नु ठूलो मूर्खता हो। तर पृथ्वीनारायणको देवत्वकरणले उनकै मूल्यलाई विघटन गरिरहेको छ। उनलाई मूलधारका भनिने ऐतिहासिकहरूले देवता बनाइरहे। यस्तो गल्तीहरूको संशोधन गर्नै पर्छ। अन्यथा इतिहासको धर्म र मर्म सकिन्छ।