ऐनाको खेल (कविता)
ऐनामा हाम्रो अनुहार छैन
दुःखको कुवा
श्रमको नदी
पसिनाको दहमा,
सन्तानको खुशी
प्रेमीको मुस्कान
बा-आमाको गहमा
सग्लै देखिन्छ हाम्रो अनुहार,
ऐना भन्छ-
तिमीहरूसँग अनुहार नै छैन।
इतिहासदेखि-
हाम्रै सपनाको सूर्यको किरण
चर्को टल्काएर ऐनामा
हाम्रो आँखाको ज्योति खाइरहने को हो?
ऐनाको झिलिक र मिलिकमा
तिरिमिरी बनाई हामीलाई
अँध्यारोमा नचाइरहने को हो?
आफू मात्र ऐना हेरेर
आफू जो हो त्यो सत्यलाई ढाँटेर
गलतलाई सदर गरिरहने
को छ ऐनाभित्र?
ऐनामा हाम्रो अनुहार छैन
फेदाङ्माको थाल र
छनुवा जाँडमा,
डम्फुको छाला र
मन्द्राको तालमा,
हिटीको प्वाल र
माछी मार्ने जालमा
प्रस्टै देखिन्छ हाम्रो अनुहार,
ऐना भन्छ-
तिमीहरूको अनुहार अनुहार नै हैन।
दुरुस्त ऐनाको खोजीमा छौं हामी
संसद्, अदालत, सिंहदरबार
हाम्रो अनुहार कतै देखिंदैन।
हामीमाथिको हत्या र बलात्कारको खुनले पखालेर
हाम्रै हड्डी र मासुको फ्रेम हालेर
ऐना बनाएर मात्र नहुने रैछ।
ऐनामा हाम्रो अनुहार छैन
फुटाइदिऊँ अब
हाम्रो अनुहार नदेखिने ऐना।
हिमाल दशैं साहित्यका थप सामग्री: