विश्वकपको दक्षिण अमेरिकी छनोटमा मेस्सीको कीर्तिमान
अर्जेन्टिनी विश्वप्रसिद्ध फूटबलर लियोनल मेस्सी विश्वकपको दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
विश्वकपको दक्षिण अमेरिकी छनोटमा मेस्सीले कुल ६३ खेलमा ३१ गोल गर्दै यो कीर्तिमान रचेका हुन्। आज बिहान सम्पन्न पेरु विरुद्धको खेलमा अर्जेन्टिना २-० गोलअन्तरले विजयी भएको थियो। अर्जेन्टिनाको जितमा दुवै गोल मेस्सीले गरेका थिए।
मेस्सीले खेलको ३२औं र ४२औं मिनेटमा गोल गरेका थिए। खेलको ५९औं मिनेटमा उनले पुनः तेस्रो गोल गरेको भए पनि भीएआरले त्यसलाई मान्यता दिएन।
यसअघि दक्षिण अमेरिकी छनोटमा उरुग्वेका लुइस सुआरेज २९ गोल सहित सर्वाधिक गोलकर्ता थिए।
यस्तै, राष्ट्रिय टीमका लागि मेस्सीको गोल संख्या अब १०६ पुगेको छ।
छनोट खेल अन्तर्गत अर्जेन्टिनाले अब १६ नोभेम्बरमा उरुग्वे र २१ नोभेम्बरमा ब्राजिल विरुद्ध खेल्नेछ।
आजै भएको उरुग्वे र ब्राजिलबीचको छनोट खेलमा उरुग्वे विजयी भएको छ। ब्राजिल २-० गोलअन्तरले पराजित हुन पुग्यो।
अहिले दक्षिण अमेरिकी छनोटको अंकतालिकामा अर्जेन्टिना शीर्षस्थानमा छ। चार खेलमा चार जित हासिल गर्दै १२ अंक सहित अर्जेन्टिनी टोली शीर्षस्थानमा रहेको हो।