दार्जीलिङको ‘दशैं राजनीति’
सन् १९८६ यता दार्जीलिङमा संस्कृतिलाई हतियार बनाएर राजनीति शुरू भयो। चाडपर्व धूमधामसित मनाए गोर्खाल्यान्ड पाइहालिन्छ भन्ने भान आममानिसमा पारियो। अर्थात्, राजनीतिले संस्कृतिलाई डोर्याउने कोशिश गर्यो।
‘दशैं भयो नि यो पालि त!’
रुचिको कुरा सित्तैमा, अझ धीत मरुन्जेल उपभोग गर्न पाउँदा हामी यसो भन्छौं। अंग्रेजी स्कूल पढ्नेहरूले त्यसैलाई ‘लन्डन डे’ भन्दै आफूलाई पढालेखा देखाउन खोज्छन्। नयाँ लुगा किन्दा वा केटाकेटीलाई अलिक बेसी ‘पकेट’ खर्च दिंदा पनि घरका ठूलाहरू त्यसै भन्छन्। मेरो बाल्यकालको स्थिति चाहिं अलिक बेग्लै थियो। हाम्रा लागि दशैं भनेको मासु-भात खाने अनि नयाँ लुगा लगाउने दिन। गाउँका प्रायः घरमा ‘दशैंका लागि’ भनेरै खसी पालिन्थ्यो।
चार भाइमा म कान्छो। घाँस काट्ने जिम्मा काँल्दाइ र मेरो हुन्थ्यो। हामी खसीलाई विशेष ध्यान दिन्थ्यौं। खसी काटिने भएकाले फूलपाती हाम्रा निम्ति औधी खुशीको दिन हुन्थ्यो। काट्ने वेला खसीका पछिल्ला एक-एक खुट्टा समात्ने जिम्मा काँल्दाइ र मेरै थियो। यस बापत इनाम पनि निर्दिष्ट थियो- एउटा-एउटा कान। त्यसपछि दुई भाइ गोठमा गाईलाई दाना पकाउँदै त्यही कान पोलेर खान्थ्यौं। बाल्यकालको त्यो स्वाद जिब्रोमा अझै झुन्डिएको छ। सप्तमीको एक दिनअघि नै दशमीसम्मलाई घाँस जोहो गरिसक्थ्यौं।
आजको कालेबुङ जिल्ला त्यस समय महकुमा थियो। कालेबुङ थानाअघि, जहाँ आज पाँचतले ‘शपिङ कम्प्लेक्स’ देखिन्छ, एउटा भत्केको पुरानो भवन थियो जसलाई मानिसहरू ‘सिग्रेट कम्पनी’ भनेर चिन्थे। सिग्रेट बन्थ्यो/बन्दैनथ्यो, थाहा छैन।
छेवैमा एउटा बंगालीको मिठाई दोकान थियो- मासीमार होटल। दुर्गापूजाको हप्ता दिनअघि नै त्यहाँ पन्डाल बनाउन शुरू हुन्थ्यो। दुर्गाको अहिल्यै बोलिहाल्ला जस्तो मूर्ति हेर्न मानिसको भीड लाग्थ्यो। कालेबुङमा अन्त कसैले यसरी मूर्ति राखेर पूजा गर्दैनथे। म सधैं दुर्गामूर्ति हेर्न पुग्थें तर महिषासुर देखेर डर लाग्थ्यो। त्यहाँको अर्को आकर्षण हुन्थ्यो, खिचडी। जतिखेरै भोक लागिरहने उमेरमा सित्तैमा खिचडी, अब के चाहियो? स्कूलका एक-दुई बंगाली साथीलाई हामी खिचडी भनेर जिस्क्याउँथ्यौं पनि।
पहाडमा मूर्ति बनाउने कला कसैले सिकेका थिएनन्, अझै पनि छैनन्। अब त सिग्रेट कम्पनीको डाँडाबाट देखिने हिमाललाई कंक्रिट हिमालले छेलेको पनि आधा शताब्दीभन्दा धेरै भइसक्यो।
उत्पादक हुन नसके पनि उपभोक्ता हुन के गाह्रो छ र! पहाडेहरू सिक्नमा सिपालु छन् तर मेहनत गर्न नपर्ने कुरा छिटो सिक्छन्। मूर्तिपूजा पनि सिके। त्यसपछि त लक्ष्मीपूजा र विश्वकर्मापूजामा पनि कालेबुङबाट ट्रकको लस्कर झर्न शुरू भयो, सिलगडीतिर। आआफ्नो आर्थिक अवस्था अनुरूप विभिन्न आकारप्रकारका मूर्ति भित्र्याइन थाले। पूजाको बजार भयो, सिलगडी।
सुवास घिसिङले शुरू गरेको गोर्खाल्यान्ड आन्दोलनअघिसम्म सिलगडीका मूर्तिकारहरूको बजार कालेबुङ-दार्जीलिङले नै जिउँदो राखेको हो। पन्डाल पनि सिलगडीकै ठेकेदारले बनाउन थाले। पन्डाल र मूर्ति कसको राम्रो भन्नेमा स्पर्धा नै चल्न थाल्यो। श्रद्धा घट्दै जाँदा विज्ञापन बढ्दै गयो। मनोरञ्जन नै दुर्गापूजाको मूल उद्देश्य भयो। त्यही समयतिरको एउटा प्रसङ्ग म सम्झिरहन्छु।
लिम्बू अनि तामाङले जनजातिको दर्जा पाएपछि ‘हामी नेपाली होइनौं, हाम्रो अलग भाषा-संस्कृति छ’ भनी दशैंतिहारसँग टाढिंदै गए। जनजाति हुँदा पाइने सुविधाले संस्कृतिको आकर्षणलाई जित्यो।
एक दिन लेखक पारसमणि प्रधानको घर गएको थिएँ। कलेज पढ्दै थिएँ। मैले पुस्तकालयबाट आफ्नो नाममा निकालेको किताब उनी खोज्दै रहेछन्। तिनताक उनी भारतको साहित्य अकादमीको अनुबन्धमा ‘नेपाली लेखक’हरूको संक्षिप्त जीवनी लेख्दै थिए। देवकोटा र लेखनाथबारे सिध्याएर बालकृष्ण समबारे काम गरिरहेका उनी नियमित आकस्मिकता पुस्तकको खोजीमा रहेछन् जुन मैले ल्याएको थिएँ।
आफैंलाई साहित्यिक ठान्ने अनि विशेषगरी स्कूल-कलेजमा नेपाली भाषा पढाउने गुरुबाबुहरू पारसमणिलाई मन पराउँदैनथे। उनी स्कूले नानीहरूलाई उनीहरूले पढ्ने नेपाली किताब माग्थे अनि त्यसमा रहेका त्रुटि औंल्याउँदै भन्थे, “यो लगेर तिम्रो सर-गुरामालाई दिनू। गल्तीहरू मैले सुधारिदिएको छु। त्यही अनुसार नयाँ पुस्तक छपाउन लगाउनू अनि मात्र पढाउनू भन्नू- मैले भनेको भन्नू नि !”
पारसबाबुको सुझाव सुनेर नेपालीका शिक्षकहरू भन्थे, “ऊ चैं फेरि कताबाट हेडमास्टर हुन आइपुगेछ। छाप्ने पैसा दिन्छ उसले नयाँ किताबको?”
अनि अझ कति चाहिं भन्थे, “व्यापार हो व्यापार! छापाखाना छ नि त उसको। भाषा सुधार्ने होइन, व्यापार बढाउने कोशिश हो बूढोको।’
कुनै वेला पारसबाबु विद्यार्थीको पुस्तक लिएर स्कूल नै पुग्थे। नेपाली पढाउने शिक्षकलाई प्रधानाध्यापकको कक्षमा झिकाइन्थ्यो। पारसबाबु पुस्तकमा रहेका त्रुटि औंल्याउँदै भन्थे- “तिमी आफैं त नजान्दा रहेछौ, के सिकाउँछौ विद्यार्थीलाई?”
म पुस्तक लिएर पुग्दा पारसबाबु बरन्डाको आरामकुर्सीमा बसेर अघिल्तिरबाट हाटबजारतिर झर्ने मानिसको रमिता हेर्दै थिए। मलाई देखेपछि उही खरो स्वरमा सोधे, “क्या हो?”
मैले पुस्तक हातमा थमाइदिएँ। त्यसपछि बरन्डामा उभिएरै लामो तर्कातर्की भयो। विज्ञानको विद्यार्थीले यस्तो पुस्तक किन पढेको भन्ने उनको जिज्ञासा रहेछ। प्रश्नबाटै बुझिसकेको थिएँ, मैले त्यो पुस्तक देखाउन मात्र ल्याएको हुँ कि साँच्चै पढ्नलाई भन्ने तिनी जान्न चाहन्थे।
इटालीका विद्वान् भाषाविद् अम्बेर्टो इकोले दार्शनिक कान्टबारेको निबन्धमा लेखेका छन्, ‘इट ह्याड मोर कमेन्टेटर देन रीडर।’ जसको आशय हो- मानिसहरू नामी पुस्तकको नाम लिन्छन् तर पढ्दैनन्।
मलाई पनि, विशेषगरी उमेरका हिसाबले, पारसबाबुले नाम मात्र लिने वर्गमा राखेका रहेछन्। केही बेर बात मारेपछि मात्र बैठक कोठामा प्रवेश गर्न दिए। त्यसपछिको गफ भने खूब रमाइलो भयो।
तिनको घरतिर चढ्ने गल्लीको एउटा कुनामा मोची बस्थ्यो।
पारसबाबुले भने, “त्यो मोचीको एउटै छोरा छ जो कलेज पढ्छ। अस्ति त्यो केटा मेरोमा दुर्गापूजाको चन्दा माग्नु आयो। पूजा गर्नु पनि चन्दा चाहिन्छ र भनेर सोधेको त सिलगडीबाट मूर्ति ल्याउन पर्छ अरे, पन्डाल बनाउने अनि पण्डित पनि उतैबाट ल्याउने अरे! अझ ठूलो खर्च त साउन्ड सिस्टमको लाग्छ अरे! दुर्गाको फ्रेम राखे भइगो, मूर्ति किन चाहियो भनेर सोधेको त सबैतिर ल्याउँछ, हामीले नल्याए त लाज हुन्छ नि सर पो भन्छ। लु तँ आफैं भन् त छेत्री नानी, हेमा मालिनी जस्तो दुर्गा ल्याएर त्यो बंगाली पारामा धुपौरो डान्स गर्छ अनि त्यो पनि हिन्दी सिनेमाको गीतमा, बुझिस्? प्यार हो गया...प्यार हो गया!”
रिसले तिनको अनुहार रातो भयो। म चूपचाप सुनिरहें। उनले चश्मा खोलेर कोटको खल्तीबाट रुमाल झिके। पहिले आँखा पुछे, त्यसपछि चश्मा। अनि मतिर फर्केर भने, “मैले त्यो मोची केटालाई सोधें नि छेत्री नानी, त्यो दुर्गाको मूर्ति अगाडि मातेर प्यार हो गया भन्दै पोहोर साल पनि तँ नाँचेको मलाई थाहा छ। लु भन् त किसके साथ प्यार हुवा? दुर्गा माँ के साथ?”
यति भनिसकेर पारसबाबु मुसुक्क हाँसे।
“अनि के भन्यो त सर त्यो केटाले?” उत्सुकतावश मैले सोधें।
“रिसायो नि। चन्दा नलिई गयो। अब दशैंको सांस्कृतिक पक्ष त सकियो नि। सस्तो मनोरञ्जनले निल्यो सबै। सिलगडीमा मूर्ति बनाउनेहरूको चैं चाँदी कटाइ छ। यो पहाडेहरूको सप्पै उत्सव आफैंलाई कमारो बनाउने प्रकारको छ।”
दशैंतिहार अरू भारतीयले पनि मनाउँछन् तर हामी दशैंको टीका लगाउने, देउसी खेल्ने अलग जाति हौं भन्ने प्रमाणित गर्न चाहन्छौं।
ओखर झैं देखिए पनि फुटाउन सक्नेका निम्ति मीठा र स्वादिला थिए, पारसबाबु।
मलाई भने तिनको कुरा सुन्दा प्राथमिक पाठशालामा पढेको तीज सम्बन्धी एउटा कविता याद आयो। कविको नाम बिर्सें।
आइपुग्यो तीज, लौ ल्याऊ चीज, खाने र लाउने
नभए धन, काढ्न ऋण, मरेर के लाने
चाहिन्छ दर, घिउ चिनी तर रेशमी फरिया
यसैले सारो, हामीलाई पार्यो, कैयाँको करिया।
सन् १९८६ मा अलग गोर्खाल्यान्ड राज्य माग्दै आन्दोलन चर्किरहँदा सिलगडीका सामान केही हदसम्म बहिष्कार गरिए। पार्टीले गाउँ गाउँमा मूर्तिपूजा बन्द गर्न निर्देशन दियो। त्यति वेला दुर्गाको फोटो राखेर पूजा सम्पन्न गरियो। सिलगडीको मूर्ति-बजारमा खडेरी पर्यो। घिसिङ अनि तिनको दल गोरामुमोलाई फासिस्ट, जातिवादी साथै विच्छिन्नतावादी भएको दोष लगाइयो। उति वेला नेपाली पत्रिका खासै थिएनन् न त पत्रकार थिए। भएका हिमालचुली र सगरमाथाहरूको सम्पादकीय नीति आन्दोलनको समर्थक हुने कुरै थिएन। सगरमाथा त क्षेत्रीय आवाज दबाउने उद्देश्यले बंगाल सरकारले नै प्रकाशन गरेको थियो। सरकारको मुखपत्र- भाषा मात्र हाम्रो, कुरा चाहिं सरकारको।
नेतृत्व फितलो भए निर्णय दिगो हुन सक्दैन अनि सानो दबाबमा पनि घुँडा टेकिहाल्छ। गोरामुमोका हकमा पनि त्यस्तै भयो। केही वर्षपछि तिनै घिसिङले सिलगडीको कुनै मूर्तिकारको कारखानामा तयार दुर्गा-प्रतिमामा ‘ब्रस’ चलाउँदै गरेको तस्वीर अखबारको पहिलो पृष्ठमा छापियो। शीर्षक थियो- ‘गिभिङ द फिनिसिङ टच’- द टेलिग्राफ।
घिसिङकै निर्देशनमा बनेको उक्त १८ हाते प्रतिमाको पहाडभरि चर्चा भयो। कालेबुङ गोरामुमो अध्यक्ष सीके प्रधानले भने मूर्तिलाई गरिएको प्रतिबन्ध जारी राखे। गोरामुमोको कालेबुङ अनि दार्जीलिङको नेतृत्वबीच फाटो आउन थालेको त्यही समयदेखि हो।
ब्रिटिश मार्क्सवादी चिन्तक रेमन्ड विलियम्सले मार्क्सिज्म एन्ड लिटरेचरमा लेखेका छन्, ‘नो वान बिकम्स अ मार्क्सिस्ट फर कल्चरल रिजन्स (कोही पनि सांस्कृतिक कारणले मार्क्सवादी हुँदैन)।’
मैले जान्दा कालेबुङमा १२ वटा वार्डको नगरपालिका थियो जुन आज बढेर २३ भएको छ। ‘ब्लटिनपेपर’ ले मसी चुसे झैं वरिपरिका गाउँ चुस्दै अघि बढ्यो, शहर। त्यो क्रम अझै जारी छ।
वर्तमान परिप्रेक्ष्यमा भने यो उक्तिमा सामान्य संशोधन गरेर यस्तो लेखे ठीक होला, ‘नो वान शूड इन्टर पोलिटिक्स फर कल्चरल रिजन्स (कोही पनि सांस्कृतिक कारणले राजनीतिमा प्रवेश गर्नु हुन्न)।’ तर सन् १९८६ यता दार्जीलिङमा संस्कृतिलाई हतियार बनाएर राजनीति शुरू भयो। तब मुद्दा फत्ते गर्ने सशक्त रणनीतिबारे न जनताले सोधे न त नेताले सोचे। चाडपर्व धूमधामसित मनाए गोर्खाल्यान्ड पाइहालिन्छ भन्ने विश्वास आममानिसमा पनि फैलियो। अर्थात् राजनीतिले संस्कृतिलाई डोर्याउने कोशिश गर्यो।
यद्यपि बाल्यकालको दशैंतिहार अझै मनमा गढिरहेकै छ। जनसंख्या कम भएकाले गाउँ पातलो थियो। मैले जान्दा कालेबुङमा १२ वटा वार्डको नगरपालिका थियो जुन आज बढेर २३ भएको छ। ‘ब्लटिनपेपर’ ले मसी चुसे झैं वरिपरिका गाउँ चुस्दै अघि बढ्यो, शहर। त्यो क्रम अझै जारी छ। तिनताक गाउँमा मादल बज्न थालेपछि हामी दशैं आउन लागेको थाहा पाउँथ्यौं। कुन चाहिं ताल सम्हल र कुन मालसिरी हो, छुट्याउने ज्ञान थिएन।
अलि पछि मादलको ठाउँ माइकले लियो। माइकमा ‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ न’, ‘हेर न हेर न कान्छा’ अनि ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटैमा’ बज्न थालेपछि मन त्यसै रमाउने। प्रायः बस्तीवालाहरू मकै र कोदोकै खेती जसरी सयपत्री र गोदावरी रोप्थे, तिहारमा ठिक्क फुल्ने गरी। सयपत्री अब त गीतका शब्दहरूमै सीमित छन्। पर्यावरणीय प्रभाव या के हो, पहाडमा फुल्नै छाड्यो। यही मौका छोपेर मधेशकाहरूले सयपत्रीको खेती थाले। मखमलीको थुँगाभन्दा अलिकति मात्र ठूलो मधेशी सयपत्रीको भरमा मनाइन्छ अचेल तिहार।
हामीलाई दशैंको भन्दा बढी वास्ता तिहारको हुन्थ्यो। कहिले देउसी खेल्न पाइएला भन्ने छटपटीमा हुन्थ्यौं सबै जना। ठूलाहरू हामीलाई ‘फुच्चे’ भन्थे अनि सँगै हिंडाउँदैनथे। केटाकेटीकै टोली बनाएर देउसी खेल्थ्यौं। १०-१२ जना नै जम्मा हुँदा पनि भट्याउनेले ‘केराको थम्बा...चार भाइ जम्मा’ नै भन्थ्यो। ठूलाहरूले चलाएको रीति बदल्ने हामी सानाको के साहस ?
१०-१२ वर्षको भएपछि तिहारमा बाबालाई पछ्याउन थालें। रामायण र स्वस्थानीको कथा यसरी सुनेरै जानियो। बाबाले ‘यशोदाको छोरो कृष्ण काले जन्मिए गोकुलमा’ भन्दै गाएपछि अरू खैंजडी बजाउँदै ‘हो..हो...हो जन्मिए गोकुलमा’ भनी फनक्क घुम्दै नाच्थे। मलाई साक्षात् गोकुलमै पुगेको अनुभव हुन्थ्यो। कालेबुङको प्राथमिक शिक्षक प्रशिक्षण संस्थानका प्राचार्य थिए टेकबहादुर ठकुरी। बाबा देउसी खेल्न आएको देखेपछि उनी बरन्डामा कुर्सी लिएर निस्किन्थे अनि घण्टौं सुनिरहन्थे। चियापानीसित दान पनि दिल खोलेर दिन्थे।
भन्थे, “खेल्नुहोस्-खेल्नुहोस्, पूरा समय लिएर खेल्नुहोस्। दुई-तीन घरमा दिने दान मै दिन्छु। अचेलका केटा त सुनिनसक्नु भट्याउँछन्। त्यस्तो हुर्मत फाल्ने गरी भट्याएको कसले सुन्ने?”
ठूलाहरूको टोलीले दिउँसो खेल्दैनथ्यो। अनि म दिउँसै साथीहरू जम्मा गरी बाबाबाट सिकेका कुरा भट्याउँथें। पछि पछि त निकै राम्रो भट्याउने भइसकेको थिएँ। देउसी खेलेर पाएको पैसा केही भाइटीकामा दक्षिणा दिंदा खर्च हुन्थ्यो, उब्रेकोले स्कूलको खाता-किताब किनिन्थ्यो। भाइटीका सकिएपछि खोप्पी खेल्ने ठाउँ पुग्थ्यौं। ठूलाहरू तास र डायस खेल्थे। तिहार सकिएको दिन मन खिन्न हुन्थ्यो।
धेरै वर्षपछि जब म सक्रिय राजनीतिमा संलग्न भएँ, विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चाले दशैं छेका पारेर महीनाव्यापी सांस्कृतिक कार्यक्रम गर्यो। त्यसमा सबैले जातीय वेशभूषा लगाउन पर्ने। नेपालबाट आस्था राउत लगायत कलाकार झिकाइए। सधैं जिन्स-पेन्ट र कुर्ता-सलवार बेच्ने मारवाडीका दोकानमा रङ्गी-विरङ्गी दौरासुरुवाल र चौबन्दीहरू झुन्डिए। दौरा-सुरुवाल पनि चेनवालादेखि भेलक्रोवालासम्म। कविको नाम याद भएन तर ठ्याक्कै त्यही कवितासित मिल्ने ठिटाहरू बजारमा छ्यापछ्याप्ती देखिन्थे,
‘छरितो छिटो नयपाली ठिटो
कविता-कविता भनी उफ्री उठ्यो’
कतै कतै दौरा-सुरुवाल नपाउने वा भर्खरै सिलाउन दिएकाहरूलाई जरिवाना गराउने र अनुहारमा मोसो पोत्ने काम भयो। त्यसपछि दौरा-सुरुवाल लगाउन मन पराउनेहरू पनि रिसाए। सांस्कृतिक कार्यक्रमको आकर्षण घट्दै गयो।
सन् २००३ मा लिम्बू अनि तामाङले जनजातिको दर्जा पाएपछि ‘हामी नेपाली होइनौं, हाम्रो अलग भाषा-संस्कृति छ’ भनी दशैंतिहारसँग टाढिंदै गए। जनजाति हुँदा पाइने सुविधाले संस्कृतिको आकर्षणलाई जित्यो। त्यसपछि अन्य जातिले पनि आआफ्नो वेशभूषा खोज्न थाले। नहुनेहरूले पनि आविष्कार गरे।
त्यही समयतिर हो, गोपाल गाउँलेको पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाइ पहिले सिक्किम अनि त्यसपछि दार्जीलिङ तर्यो। भाषाले जोडिएकाहरू जातीय सहुलियतले जात जातमा बाँडिए। इन्द्रबहादुर राईले जाति तोडिंदै गएको दृश्यले आहत भई ‘पहाड अनि खोलाहरू’ निबन्ध लेखेको त्यही समय हो। प्रकाशन गर्नुअघि राईले आफ्नै निवासमा म अनि कवि राजेन्द्र भण्डारीलाई पढेर सुनाएका थिए। तिनको भिजेको आँखा स्मृतिमा ताजै छ।
बढ्दै अनि पढ्दै जाँदा बाल्यकालका विश्वास धराशायी हुँदै जाँदा रहेछन्। ‘मिन्स जस्टिफाइज त एन्ड’ जस्ता तर्क काम नलाग्दा रहेछन् बरु ‘अल इज वेल द्याट एन्ड वेल’ पो गुरुमन्त्र हुँदो रहेछ। त्यसैबीच न्यायाधीश रामकृष्ण शर्माले ‘रावण’ को पक्षमा कानूनी वक्तव्य प्रकाशन गरिसकेका थिए।
भारतका नेपालीका निम्ति भानुभक्त पनि राजनीतिकै झन्डा हुन्। ‘जहाँ हामी छौं, त्यहाँ छौं र रहिरहनेछौं’ भन्ने प्रमाणित गर्न भानु जयन्ती मनाइन्छ। दशैंतिहार अरू भारतीयले पनि मनाउँछन् तर हामी दशैंको टीका लगाउने, देउसी खेल्ने अलग जाति हौं भन्ने प्रमाणित गर्न चाहन्छौं। सामाजिक सञ्जालले एक्लो बनाउँदै लगेको यो समाज दशैंतिहारमा जोडिए जस्तो लाग्छ।
अब त कुनै परिचितको मृत्यु हुँदा समेत हामी मलामी जानु साटो वाट्सएपमा ‘रिप’ लेखेर सामाजिक दायित्व टार्छौं। बिहे र जन्मदिनमा पनि त्यस्तै सन्देश पठाउँछौं। सामाजिक सञ्जालले असामाजिक हुँदै गएको यो परिवेशमा बाल्यकालको स्मृतिलाई यही दशैं र तिहारले जोगाइराखेका छन्।
(छेत्री गोर्खाल्यान्ड आन्दोलनका अगुवा एवं वनस्पतिविद् हुन्।)
हिमाल दशैं साहित्यका थप सामग्री: