मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ।
ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने १६८ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ। प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका ४५९, बाढीका १४२, भारी वर्षाका १६८ र चट्याङका १२३ घटना भएको जानकारी दिए।
यस पटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो। मनसुन भित्रिंदा पनि एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो भने नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो।
यस वर्ष मनसुन १२४ दिन रह्यो। यस पटक मनसुनमा पूर्वानुमान गरे अनुसार नै कम वर्षा भए पनि ठाउँ ठाउँमा ठूलो क्षति हुने गरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो।