एक प्रतिशतले तलब बढ्यो, ८.१९ प्रतिशतले मूल्यवृद्धि
भदौमा मूल्यवृद्धि दर ८.२ प्रतिशत छेउछाउ पुगेपछि उपभोग्य वस्तुको उच्च मूल्यवृद्धि फेरि फर्किन लागेको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत देखिएको हो। साउनमा मूल्यवृद्धि दर ७.५२ प्रतिशत मात्रै थियो।
गत वर्षको भदौमा मूल्यवृद्धि दर ८.६४ प्रतिशतसम्म पुगेको थियो। यस्तो उच्च मूल्यवृद्धि त्यसपछिका महीनाहरूमा क्रमशः केही मत्थर भएको थियो।
राष्ट्र ब्यांकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य ६.९९ प्रतिशतले बढेको छ। खाद्य तथा पेय पदार्थ समूहको मूल्य बढ्दा न्यून आम्दानी हुने घरपरिवार प्रभावित हुन्छन्।
खाद्य समूह अन्तर्गत पनि मरमसला, चिनी, तरकारी दूध र अण्डा जस्ता वस्तुको मूल्य अचाक्ली बढेको छ। राष्ट्र ब्यांकका अनुसार मरमसलाको मूल्य ४५.४६ प्रतिशतले बढेको छ। चिनीको मूल्य १७.८६ प्रतिशत, तरकारीको मूल्य १४.५१ प्रतिशत, खाद्य पदार्थको मूल्य १३.३८ प्रतिशत, दूध र अण्डाको मूल्य १२.६० प्रतिशतले बढेको छ।
चाडबाडको मुखमा भएको यस्तो मूल्यवृद्धि आमसर्वसाधारणका लागि सकस बनेको छ। तर यो अवधिमा घ्यूतेलको मूल्य भने १३.०८ प्रतिशतले घटेको छ।
यसैगरी, मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्य १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.११ प्रतिशत र फर्निशिङ तथा घरायसी उपकरणहरूको मूल्य ६.५९ प्रतिशतले बढेको छ।
मूल्यवृद्धि दर उच्च रहे पनि तलब तथा ज्याला भने सुस्त गतिमा बढेको देखिएको छ। केन्द्रीय ब्यांकका अनुसार भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ प्रतिशतले बढेको छ। यस अवधिमा तलब १.०५ प्रतिशतले मात्रै बढेको छ भने ज्याला दर ६.५३ प्रतिशतले बढेको छ।